कैलाली हत्याकाण्डको के रहेछ खास कुरा ?

कैलाली हत्याकाण्डको के रहेछ खास कुरा ?

प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान रामबहादुर साउदलाई मारेर फालेको स्थान कैलालीस्थित नेपाल–भारत सिमानाको मोहना नदी नजिकै सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोष्ट (बीओपी) मुश्किलले एक किलोमिटर टाढा छ । तर,नजिकै नेपाल प्रहरीका दुईजना मारिएको बीओपीले भोलिपल्ट बिहानसम्म पत्तो पाएन ।

हत्या आरोपमा संलग्न १० जनासँगको सोधपुछपछि वास्तविकता उदाङ्गिएको छ । दुई जना महिला प्रहरीसहित दश जना कार्यरत जगेडा अस्थायी प्रहरी चौकीका असई बिक र जवान साउद हत्या भएको राती स्लिपिङ ब्याग बोकेर मोटरसाइकल चढी तस्करी हुने गरेको सीमा नाकामा परि आए सुत्ने नै भएर गएका थिए । तीन बर्षदेखि त्यही चौकीमा कार्यरत जवानलाई नै लिएर असइ बिक त्यहाँ पुगेको केही समयपछि पारी लान बयलगाडामा हालेर तस्करीको मटर (हरियो केराउ) आइपुग्यो । आधा घण्टाभन्दा बढी समयसम्म तस्करहरूको बिक र साउदसँग निकै गलफत्ती भयो । त्यसक्रममा लेनदेनको बार्गेनिङ पनि शुरु भएको पक्राउ परेकाहरूले बयान दिएका छन् । कुरा तन्किएपछि बिकले समातिएको सामान र तस्करहरूलाई प्रहरी चौकीमा लैजान्छु भन्न थाले । त्यसपछि सिङ्गै राना थारुको गाउँ लामो समयदेखि तस्करीमा सम्लग्न रहेको अवस्थामा उनीहरू र प्रहरीवीच हात हालाहाल भयो र अन्तमा नजिकैको उखु बारीमा रहेका साबेल र फरुवा हानेर दुबैको हत्या गरियो ।
गाउँ नै तस्करीमा रहेकोले उनीहरुलाई भोलिपल्टै समात्न र लाश गाडेको ठाउँ देखाउन लगाउन सहज भयो ।

सशस्त्र प्रहरी स्रोतका अनुसार र तस्करहरू पहिलेदेखि नै बिक र साउदसँग रुष्ट थिए । बिक र साउद दुबै सुदूर पश्चिमका । भर्खर लक्का जवानीको जोश र एउटै भेगीय भएकाले पनि उनीहरूले सीमा नाकाबाट हुने तस्करीमा निकै कडाई गरेका थिए । तर,त्यहाँ तीस जनाको डफ्फामा रहेको सशस्त्रले ‘लाइन क्लियर’ गरिदिएको हाइसञ्चो मार्गमा अवरोध पुर्याउन थालेपछि अवैध सामान ओसारपसार गर्नेहरू सबै नेपाल प्रहरीसँग रुष्ट बनेका थिए । हुन तः सीमा व्यवस्थापन र तस्करी रोकथामको प्रमुख जिम्मेवारी सशस्त्रको हो । नेपाल प्रहरीको भने मूलतः समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्ने हो ।

बिक र साउदको हत्याबाट स्थानीय सशस्त्रको बीओपीले तस्करहरूलाई फुक्कमफुक्का तरिकाले सामान ओसार्न दिइरहेको पुष्टि हुन्छ । भारतले सीमा व्यवस्थापनको लागि राखेको एसएसबी बीओपी निकै व्यवस्थित छ । त्यसको तुलनामा हाम्रो बीओपीको भौतिक अवस्था भने नाजुक देखिन्छ । त्यसैका कारण पनि सशस्त्रसँगको मिलेमतोमा तस्करहरूको व्यवसाय मौलाइरहेको अवस्थामा दुईजना प्रहरीको बेफ्वाँकमा ज्यान गएको हो ।

प्रहरी स्रोतका अनुसार कैलालीको उक्त सीमा क्षेत्र तस्करहरूको लागि उर्वर भूमिको रूपमा परिचित छ । यसअघि पनि सो क्षेत्रमा धेरैपटक सशस्त्र प्रहरीका घुमुवाहरूलाई एक्लै पारेर स्थानीय तस्करले पाता फर्काइसकेका थिए । हाल सो क्षेत्रको बीओपी प्रमुखमा सशस्त्रका निरीक्षक खेमराज जैसी छन् । बिक र साउदको हत्यापछि सेटिङ्मा बीओपी सञ्चालन गर्दै आएका जैसीसमेत शंकाको घेरामा परेका छन् ।

यता,कैलालीस्थित नेपाल प्रहरीका एसपीले उल्टै जैसीलाई खाना खानको लागि आफ्नो सरकारी आवासमा आउन निम्तो दिएको बताइन्छ । जैसीले साउदको लाश खोज्ने क्रममा स्थानीयलाई परिचालन गरेर सहयोग गरेको भन्दै एसपीले धन्यवादसहित खानपिनको निम्तो दिएका हुन् ।

टिप्पणीहरू