बाँच्नभन्दा यहाँ मर्न गाह्रो

बाँच्नभन्दा यहाँ मर्न गाह्रो

यस धर्तीमा जन्म भइसकेपछि धेरै संघर्ष गर्नुपर्छ बाँच्नलाई । तर जीवनमा जतिसुकै संघर्ष गरे पनि अन्ततः पुग्ने त्यही मसानघाट हो । तैपनि हामी मृत्युबाट सधैं भागिरहेका छौं । जस्तै : अहिले कोरोना भाइरसबाट बचेर बाँच्ने ध्याउन्नमा मानिसको दैनिकी नै बदलिएको छ । लकडाउन वा निषेधाज्ञामा खुम्चिँदै मानिसले मास्क, स्यानिटाइजर, हात धुने, सामाजिक दूरीलगायत अनेक उपाय अवलम्बन गरिरहेका छन् । जुनसुकै बिरामी पर्दा औषधोपचार गरिहाल्छौं । मृत्युको जोखिमबाट बच्न तथा मृत्युलाई छल्न जेसुकै गर्न तयार छौं, कठिनभन्दा कठिन कदम उठाउन अघि सर्छाैं । किनकि सबैभन्दा गाह्रो छ हामीलाई मर्न । यदि, मृत्यु सजिलो भइदिएको भए बाँच्न कसैले पनि यति धेरै कष्ट झेल्ने नै थिएनन् ।

मरेपछि त जीवन नै रहँदैन, सबथोक सकिन्छ भन्ने लाग्छ । तर, गहिरिएर सोच्दा बाँचेरचाहिँ आजसम्म कसले के नै पाएको छ र ? पद, पैसा, प्रतिष्ठा, माया, खुशी ? यी त सब क्षणिक भूलभुलैया हुन् । तैपनि यसको पछि मानिस पागलझैं लागिपरेको छ ।
हो, जीवन सोचेजस्तो चलेको छ । अलिअलि दुःख त आइहाल्छ, यदि सुख र खुशी पनि साथमा छ भने बाँच्नुपर्छ, जिन्दगीको मज्जा लुट्नुपर्छ । तर, सबैको जीवन एकनासको कहाँ छ र ? कसैको भागमा सुखैसुख बढी छ त कोही दुःखैदुःखले भरिएको जीवन मुस्किलले बाँच्दै छन् । रोग, भोक र शोकमा डुबेर निस्सासिँदै जो बाँचेका छन्, तिनको जीवन कति कष्टकर होला ? तैपनि मर्न चाहँदैनन् मान्छेहरू वा चाहेर पनि मर्न सक्दैनन् । किनकि मृत्युवरण गर्न त्यति सहज छैन । मर्न सजिलो हुन्थ्यो भने अहिलेसम्म यस संसारबाट धेरै मानिस बिदा भइसक्ने थिए । कालगतिले मर्नेभन्दा निकै धेरै जीवन समाप्त भइसक्ने थियो ।

मनमा चिन्तैचिन्ता, शरीरमा रोग अनि घावैघाउ लिएर पनि मानिसहरू बाँचिरहेका छन् । अर्काको निम्ति बोझ भएर बाँच्नु परेकाहरू पनि मर्न सकिरहेका छैनन् । शारीरिक, मानसिक रूपमा कुँजिएर आफूले केही गर्न नसक्दा परिवार र आफन्तको बोझ बनेर पनि मानिसहरू बाँचिरहेका छन् । किनकि मर्न धेरै गाह्रो छ । यदि कसैले हिम्मत गरेर आत्महत्या ग¥यो भने उल्टै उसलाई डरपोक, कायर भन्छौं हामी । दिनदिनैको चोट, पीडा खपेर बाँच्नुभन्दा एकैदिन, एकैछिनको असह्य पीडा सहन गरेर मर्नसक्ने बहादुर होइनन् र ? आखिर एकदिन त मर्नु नै छ । अहिलेसम्म जो जसले आत्महत्या गरेर ज्यान फाले, कतिपयले त ठीकै पनि गरे होलान् भन्ने लाग्छ । चोटैचोटले जीवन दुःखिरहँदा पनि काल कुरेर बस्नु किन ?

सरकारले आत्महत्या दुरुत्साहनका घटनामा सजायँको व्यवस्था गरेको छ । त्यो एकदम ठीक छ । किनकि कसैको कारणबाट कसैको ज्यान जानु हुँदैन । कसैले कसैलाई आत्महत्या गर्न बाध्य पार्छ भने त्यस्तालाई कडाभन्दा कडा सजाय हुनैपर्छ । तर आफ्नै पीडाहरूबाट आजित भएर कसैले आफूलाई मार्छ भने त्यसलाई गलतै नजरले हेर्नु पनि ठीक होइन कि ? आफू मरेर अरुको बिचल्ली हुन्छ भने त्यो आत्महत्या जायज नहोला ! तर मान्छेको कालगतिले हुने मृत्यु जतिबेला पनि हुनसक्छ । एउटाको कालगतिले मृत्यु हुँदा परिवारका अरुलाई गाह्रो भएकै हुन्छ । परेपछि सबै टर्ने रहेछ । हुन त रोग, दुर्घटना, हत्या, आत्महत्याबाट हुने सबै मृत्यु दिन आएपछि नै त हुने हो ।

यस संसारमा ईश्वर नै छैनन् । छन् भनेपनि पक्षपाती छन्, विभेदकारी छन् । नत्र किन कसैलाई सुखैसुख, कसैलाई दुःखैदुःखको भारी छ ! दुःख पनि कसैलाई हल्का, कसैलाई सहनै नसकिने बोझ । बोझ पनि यस्तो कि आफैंलाई अनि आफ्नालाई समेत पिरलो । व्यक्तिको आफ्नै दुष्कर्म वा पापअनुसार जीवनमा व्यथाहरू बढ्ने हो भने भर्खर जन्मिने बच्चाचाहिँ किन लुलोलङ्गडो ? जबकि उसले त यो धर्तीमा राम्रो–नराम्रो केही गरेकै छैन । बच्चामै अशक्त, रोगी भएर जीवनभर पीडामा बाँच्नुपर्दा कस्तो होला ? पूर्वजन्मको कर्मको फल हो भने जुन जुनी हो, त्यही जन्ममा पो हुनुपर्छ त ! नयाँ जन्ममा त नौलो जीवन र नयाँ कर्मअनुसार नयाँ फल भोग्न पाइयोस् न ! तर यही जन्ममा कति धेरै पाप गर्नेहरू, अरुलाई मारेर बाँच्नेहरू पनि सुखीसम्पन्न अनि जीवनमा कहिल्यै कसैको कुभलो नचिताउनेहरू पनि दुःखी, सर्वहारा किन त ?

जीवनको कुन मोडमा कसलाई के हुन्छ भन्ने पनि थाहा छैन । यस्तो अनिश्चित विचित्रको संसारमा दुःखैदुःखले घेरिएर को बाँच्न चाहन्छ ? तर मर्न सकिरहेका छैनन् धेरै । किनकि चलिरहेको सास रोक्न केहीबेर भएपनि जुन पीडा हुन्छ, त्यो सहन कति गाह्रो, गाह्रो ! सोच्दा पनि धेरैको आङ जिरिङ्ग होला ! विष पिऊँ भने जलन, छटपटी हुन्छ । नदीमा हामफाले प्याक्प्याक्ती । झुण्डिँदा पनि उत्तिकै गाह्रो । आगोमा जलेर मरौं भनेपनि त्यो भत्भती पोल्दाको पीडा कस्तो होला ? केही पलको भए पनि त्यस्तो भयङ्कर पीडासँग जुध्न नसकेर मानिसहरू बाँचिरहेका छन्, दुःखैदुःखको भारी बोकेर ।

हुन त सहन गर्न सक्नेले त्यति हिम्मत पनि नगरौं कि अकालमा आफैंलाई सिध्याइहालौं । पाएको जीवन मरेर खेर फाल्नुभन्दा बाँचे भोलि राम्रो पो हुन्छ कि ! यही आशा बोकेर कैयौं व्यथितहरू बाँचिरहेका छन् । सास छउञ्जेल आश सबैलाई हुने रहेछ । तर भोलिको आशैआशमा आज हरेक दिन तड्पिएर बाँच्नुभन्दा एक पाइला अघि सरेर मृत्युलाई अँगाली हाल्ने मानिसलाई काँतर, डरपोक भन्ने जुन प्रवृत्ति छ समाजमा, त्योचाहिँ बिल्कुल गलत छ । जसले भोग्छ, उसैलाई थाहा हुन्छ पीडा ।

अचानोको व्यथा पिर्कालाई के थाहा ? फेरि भोलिको एक दिन त अवश्य मर्नु नै छ । त्यो भन्दाअघि आफ्नै बुताले मृत्युलाई अँगाल्न सक्नु त वास्तवमा ठूलो आँट हो, जुन साहस धेरै मानिसमा छँदैछैन । किनकि हामी त कहिल्यै मर्नै नपरे हुन्थ्यो भन्नेमा छौं । हाम्रालागि मृत्यु असाध्यै सकस छ । त्यसैले जतिसुकै गाह्रो भएपनि जीवनलाई मृत्युभन्दा सजिलो ठानेर बाँचिरहेका छौं । नाशवान जीवनप्रतिको मोहमा डुब्दा मृत्युसँग तर्सिएका छौं हामी ।

– अजय गोर्खाली

टिप्पणीहरू