सुरक्षामा कडा, जेलमा पीडा

सुरक्षामा कडा, जेलमा पीडा

कोरोना महामारीको प्रकोप सर्वसाधारण नागरिकसँगै राज्यको सुरक्षा फौज र कारागारमा समेत छिरेको छ । चाहेर पनि सामाजिक दूरी बढाउन नसकिने ती स्थानमा कोरोनाले तहल्का मच्चाउन थालेको छ ।

नेपाल प्रहरीतर्फ तीन हजार तीस,सशस्त्र प्रहरीतर्फ नौ सय बत्तिस र नेपाली सेनामा १४ सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित भएका छन् ।

उता,काठमाडौं केन्द्रीय कारागारमा कैदिबन्दीको क्षमता चार सयको हाराहारी छ । तर त्यहाँ १२ सयभन्दा बढीलाई राखिएको छ । तीमध्ये दीर्घरोगी दुई सयको हाराहारीमा रहेको बताइन्छ । हालसम्म केन्द्रीय कारागारमा चार सय जना कैदिबन्दी कोरोना सङ्क्रमित भइसकेका छन् ।

तीन वटै सुरक्षा निकाय र कारागारमा सल्किएको कोरोना सङ्क्रमणले कतिजनालाई क्वारेण्टिनमा र कतिलाई आइसोलेसनमा राख्ने भन्ने अन्यौल बढेको छ । दिन दुई गुणा,रात चौगुणाले सङ्क्रमित बढेपछि सुरक्षा निकाय र कारागारमा थेगि नसक्नुको अवस्था देखिएको हो ।

सुरक्षाकर्मीलाई आवश्यकताअनुसार फिल्डमा खटाउनै पर्छ । परिस्थितिअनुसार उनीहरूले पनि अन्य व्यक्तिसँग सम्पर्क राख्नैपर्ने अवस्था हुन्छ । केही दिन पहिले रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा समातिएका १८ जनामध्ये झण्डै एक तिहाईलाई कोरोना पुष्टि भएको पाइयो । यस्तो अवस्थामा अब जनताको सुरक्षा गर्न बसेका सुरक्षाकर्मी नै बच्छन् कसरी ?

टिप्पणीहरू