सम्झनाले त शीतलता छर्न सकोस् न !

प्रेमको चाहना कसलाई नहोला ? सबैलाई हुन्छ प्रेमको रहर । तर प्रेम गर्नु वा पाउनु मात्रै ठूलो कुरा होइन । यसको इज्जत, भरोसा र पवित्रतालाई जीवित राख्न सक्यौं भनेमात्र यसको अमरता रहन्छ । नत्र प्रेमको सुन्दर पक्ष नै यसरी मर्छ कि आजीवन कुरुपताले सताइरन्छ । प्रेमको महत्वपूर्ण हिस्सा हो याद । सम्झनाले त शितलता छर्न सकोस् । खुशीको तरङ्ग भर्न सकोस् । मनको पीडाको समेत मलहम बनोस् न ! विषको घुट्को पिए झैं जलन मात्रै दिन्छ भने के गर्नु त्यो याद ? के बसाउनु त्यस्तो कष्टलाई मनमा ? नचाहँदा नचाहँदै आयो भनेपनि घृणा, क्रोध र पश्चाताप मात्रै छल्की जान्छ ।

प्रेम गर्नेहरु सधैं एकसाथ नहुन सकिन्छ । मृत्यु त अघिपछि हुन्छ भने शरीर नजिक वा टाढा हुनु पनि समयकै खेल हो । मिलन जस्तै बिछोड पनि प्रेमको एउटा पाटो हो । किनकि शरीरले होइन मनले गरिन्छ प्रेम । जुनसुकै अवस्थामा पनि प्रेमभाव फुलिरहोस् न ! त्यसैले माया त यस्तो होस् कि भोलि एकअर्काबाट छुट्टिनु परेपनि जीवनभर मुटुभित्र सम्झनामा सजाउन सकियोस् । आँखामा राख्दा पनि नबिझाउने होस् । तर कहिलेकाहीँ आउने यादको झल्को पनि कसिङ्गर बनेर बिझाउँछ, तीखो खन्जर बनेर मुटुमा गढ्छ भने त्यो कहिल्यै प्रेम वा सम्झनाको लायक हुँदैन ।

जस्तो म । सानै उमेरमा लभ परेको थियो । एउटै स्कूल पढ्दा लाएको माया अलग–अलग कलेज पढ्दा पनि छुटेको थिएन । एउटै केटीसित ९–१० वर्ष लभ प¥यो । एक–अर्कालाई निकै चाहन्थ्यौं हामी । एकअर्कालाई प्रेमको अनुभूति दिलाउन हातै काटेर पनि पत्र लेख्थ्यौं । बाबुआमाले छेक्दा पनि भेट्थ्यौं । सानोमा त पवित्र नै थियो प्रेम । जब अलि ठूलो हुँदै गएँ, मैले हाम्रो प्रेमको प्रगाढतालाई प्रबल बनाइराख्नै सकिनँ । आफैंले यति कमजोर बनाएँ कि भत्किएर चकनाचुर भइसकेको छ ।

लभ परेको केही वर्ष नबित्दै १५/१६ वर्षको उमेरदेखि नै मैले लागु तथा मादक पदार्थ पिउन थालें । त्यो उमेर नै त्यस्तो हो कि ! पिएपछि झन् यौनको चाहना हुन्थ्यो । आफ्नी गर्लफ्रेन्डलाई त्यस्तो सोच राखिएन । साथीहरु सबै त्यस्तै, यौनमा रमाउन अरु केटीको पछि हिँडिन्थ्यो । हामी केटाहरु त्यस्ता केटीलाई ‘माल’ भन्थ्यौं । पछि गर्लफ्रेन्डसित पनि शारीरिक सम्बन्ध त भयो तर बाहिर चहार्ने बानी गएन । एक रात विदेशबाट फर्किएकी एउटी महिलासित रक्सीको मातमा सम्भोग गरें । त्यो कुरा मेरी गर्लफ्रेन्डले थाहा पाएर निकै रोएकी थिई । त्यसको केही वर्षपछि उनको बिहे अर्कै केटासँग भयो । सायद बिर्सिसकी होला मलाई । किनकि म उनको सम्झनाको लायक नै रहिनँ । कहिलेकाहीँ सम्झनामा पुगिहालेछु भनेपनि उनमा मसँग प्रेम गरेकोमा आफैंप्रति पछुतो र मप्रतिको तिरस्कार नै त होला । किनकि मैले हाम्रो प्रेमको इज्जत, भरोसा र पवित्रतालाई बचाएर राख्न सकिनँ ।

त्यो कुरा सम्झेर अहिले पश्चात्तापमा जल्नुबाहेक म अरु केही गर्न सक्दिनँ, कहिल्यै नमेटिने दाग जो लागिसकेको छ । त्यत्रो ९–१० वर्षको प्रेममा हामीबीच थुप्रै सुखानुभूतिहरु छन् । तर ती सबैलाई खल्लो, नमीठो बनाइदियो मेरा क्षणिक भूलहरुले । म त उनलाई अहिले पनि सम्झिन्छु । घरीघरी सम्झिइरहन्छु । जीवनमा उनले दिएको जस्तो माया कसैबाट पाउन पनि सकेको छैन । सोच्दा मेरो भूलले मलाई नै अहिले ऐंठन गर्छ भने उनलाई कस्तो हुँदो हो ? मेरा ती गल्तीहरुको निकै प्रायश्चित्त मलाई भइरहेको छ । माफी माग्न चाहन्छु उनीसित । तर त्यो त्यति सानो भूल कहाँ हो र ¤ जुन माफी मागेर सजिलै मैले मुक्ति पाउन सकुँ ? सम्झनामै कलङ्क बनेर उनको नजरबाट खसिसकेको छु फोहोरै फोहोरको थुप्रोमा । उनले बिहे गरेको ७÷८ वर्षमा एकपटक पनि भेटिएका छैनौं ।

‘अब पनि हाम्रो भेट त कहिल्यै नहोला ! यही आलेख मार्फत् भन्दछु, मलाई माफ गरिदेऊ सानु ¤ यदि तिमी मेरो साथमा भइदिएको भए अब त्यस्तो गल्ती म फेरि कहिल्यै नगरी रहने थिएँ । साँच्चै आज ती विदेशबाट फर्किएकी महिलालाई देख्दा आफैंप्रति घृणा लाग्छ, तिमीलाई दिएको धोका सम्झेर आँसु खस्छ । तिमीले माफ नगरेसम्म मेरो जीवन सधैं बिटुलो, कुरुप र असफल भइरहनेछ । तड्पिरहनेछ । जलिरहनेछ । त्यसैले प्लिज सानु प्लिज ¤ मलाई कहिल्यै नसम्झिएपनि मात्र एकपटक नसाको बेहोसीको भूल ठानेर क्षमा दिन सक्छौ कि !’

आफूले पाएको प्रेमलाई चोखोगरी सम्हालेर राख्न नसकेकै प्रतिफल म हिजो प्रेममा थिएँ भन्न पनि आज सरम लाग्छ । उनलाई आफ्नो प्रेमिका भन्ने हैसियत नै गुमाइसकें । त्यत्रो वर्ष लभ परेर के भो ? जब प्रेममा आफ्नो पहिचान आफैंले बिगारेपछि । प्रेममा बरु दुई–चार दिनकै मेल किन नहोस्, जीवनभर मनमा फुलेर बस्न सकियोस् मगमग सुवास छर्दै । तर वर्षाैंदेखिको भएर पनि के काम त्यस्तो प्रेम, जुन सोच्दा पनि घिन लाग्छ, काँडा बनेर बिझाउँछ भने ?

त्यसैले यस कुरामा सबैजना सचेत, सतर्क हुनैपर्छ । मायामा कसैले पनि हेलचक्र्याइँ नगरौं । कामान्ध बनेर एक–अर्कामाथि विश्वासघात त झन् कसैले पनि नगरौं । एकपटक रोपिइसकेपछि एकसाथ नभएपनि फक्रिने फूल हो प्रेम । याद हमेसा मलजल बनोस् न कि प्रेमको फूलै काटिदिने बैगुनी कीरा । जीवनमा एकपटक प्रेम गरेको मान्छे विपनामा पराइकै भएपनि सपना र कल्पनामा आफ्नै भएको महसुस हुन सकोस्, त्यो पो प्रेम त ¤ सायद मैले जानी–नजानी त्यस किसिमको गल्ती नगरेको भए उनको मुटुको कुनै न कुनै कुनामा बास पाउन सक्ने थिएँ अहिले । मायालु याद बनेर धड्किइरहन पाउने थिएँ उनको जीवनभर । विगतको आफ्नै भूलको कारण आज आफैंलाई धिक्कार्दै बाँच्नुपरेको छ मलाई । लाग्छ, उनको हृदयको ढोका मेरो निम्ति सधैं सधैंका लागि बन्द भइसकेको छ ।

त्यसैले प्रेममा पर्ने हरेक केटाकेटी तथा महिलापुरुषले आफ्नो बानी व्यवहारलाई सदा स्वच्छ, सफा राखौं । प्रेमको पवित्रतामा कहिल्यै पनि नलागोस् कुनै दाग । त्यस हिसाबले आफ्नो प्रेम सम्बन्धलाई हरेकले जिउँदो राख्न सकौं । अरुसित लागेर आफ्नो प्रेमी वा प्रेमिकाको मन दुखाउने काम कहिल्यै नगरौं । एउटा प्रेमी वा प्रेमिकालाई आफ्नो प्रेमसाथीको अरुसित अनुचित लसपस तथा संसर्गले कति चोट पुग्ला ? तर हामी क्षणिक यौन आवेगमा भड्किन्छौं, एकैछिनको मजाको लागि कतिपयले वर्षाैंदेखिको दाम्पत्य समेत तोडेका छन् । तर यौनलाई प्रेम भन्दा ठूलो ठान्नु भ्रममात्र हो । यौन त वैंश छउञ्जेल हो, प्रेम जीवनभरिलाई हुन्छ ।

हाम्रो इमानदारिता र पवित्रताले नै हाम्रो प्रेम सम्बन्धलाई सफल–असफल बनाउनेमा कुनै शंका छैन । एकअर्काको मन जित्न सके जीवनभर सँगै हुन पनि सक्छौं । घर–परिवार, जात–धर्म, समाज लगायत विविध कारणले छुट्टिनु परेपनि एकअर्काको भावनामा सधैं प्रेम बनेर बाँच्न सक्नेछौं । गलत गर्दिनँ भनेर वाचाकसम त हामी खूब खान्छौं प्रेममा । कसम अनेक खाने तर साँचो मनले त्यसलाई पूरा गर्न नसक्नेहरु कहिल्यै सच्चा प्रेमी हुन सक्दैनन् । जस्तो म । जब सम्झनामै बिलाइन्छ वा बिझाइन्छ भने प्रेममा कहाँ जीवित भइन्छ र ?

– अजय गोर्खाली

टिप्पणीहरू