इन्भेष्टमेण्ट र हिमालयन बैंकको मर्जर कथा

इन्भेष्टमेण्ट र हिमालयन बैंकको मर्जर कथा

बैंकहरूको ‘बीग मर्जर’ को विषय यतिखेर कसै कसैका लागि मनगढन्ते र दन्त्य कथाको विषय बनेको छ । नेपाल राष्ट्र बैंकको पुँजी बृद्धिसम्बन्धी विभिन्न निर्देशन र मौद्रिक नीतिका कारण हिमालयन र इन्भेष्टमेण्ट बैंकले पनि मर्जरको लागि अग्रसरता देखाएका हुन् । तर, यी दुबै बैंक मर्ज हुने विषय कति वास्तविक र कति काल्पनिक होला ?

अशोक राणाको हैसियत के हुने भन्ने चिन्ता पिता हिमालयदेखि स्वयम् अशोकलाई परेपछि कुरो अलपत्र परेको एकथरीको बुझाई छ । श्रेष्ठलाई हटाएपछि अहिले राणाको हैसियत पुरानै लयमा फर्केको छ ।

केही समयअघि इन्भेष्टमेण्ट र हिमालयनबीच मर्जरको लागि सामान्य कुराकानी भएको स्रोतले बताएको छ । हिमालयनका मुख्य लगानीकर्ता तथा प्रमुख संस्थापक हिमालय समशेर जङ्गबहादुर राणा, कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतम र राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच एउटा चरणमा कुराकानी भएको थियो । त्यसबखत केन्द्रीय बैंकले ‘मन मिल्छ भने राम्रोसँग मर्जर गर्नुस्’ मात्र भनेका थिए । तर, त्यसपछि दुबै बैंकको तर्फबाट कुनै प्रक्रिया अघि नबढेको स्रोतले बताएको छ ।

पहिलो चरणमा दुईवटै बैंकका अधिकारीहरूबीच मर्ज गर्ने र बैंकलाई पोर्टफोलियोको आधारमा ठूलो बनाउने विषयमा मात्र कुराकानी भएको थियो । दुबै पक्षले मर्जरको मोडालिटीबारे हालसम्म चर्चासमेत गरेका छैनन् । इन्भेष्टमेण्टसँग मर्ज गर्दा सबैभन्दा पहिले हिमालयन बैंकका सिईओ अशोक राणाको हैसियत के हुने भन्ने चिन्ता पिता हिमालयदेखि स्वयम् अशोकलाई परेपछि कुरो अलपत्र परेको एकथरीको बुझाई छ ।

यसअघि हिमालयनका मुख्य लगानीकर्ता मनोज श्रेष्ठसँग ठाकठुक परेपछि राणाको हैसियत चुमुरकिएको थियो । तर, श्रेष्ठलाई हटाएपछि अहिले राणाको हैसियत पुरानै लयमा फर्केको छ । पुरानै लयको आफ्नो रवाफसहितको सिईओ हुनुपर्ने राणाको चाहना इन्भेष्टमेण्ट बैंकसँगको मर्जरमा लुकेको देखिन्छ ।

शुरुदेखि नै हिमालयन बैंकमा हिमालय, मनोज, पृथ्वीबहादुर पाण्डे र राजेन्द्र खेतान प्रत्येक समूहको १२ दशमलब ७५ प्रतिशत, पाकिस्तानी हबिब बैंकको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १५ प्रतिशत लगानी रहेको छ । यसबीचमा पाण्डेले आफ्नो स्वामित्व बिक्री गरिसकेका छन् भने मनोजले त्यसमध्येको केही शेयर खरिद गरेर थपेको देखिन्छ ।

टिप्पणीहरू