योगेश भट्टराईलाई सोध्न मन छ

योगेश भट्टराईलाई सोध्न मन छ

०५४ सालतिर शंकरदेव क्याम्पसमा भलिबल प्रतियोगिता हुँदै गर्दा तपाईंंहरू आउनुभयो रत्नराज्य क्याम्पसबाट । केही केटा तपाईंहरूमाथि जाइलाग्न थाले । रूपनारायण श्रेष्ठ पहिल्यै निक्लिहाले । तपाईं बाँकी रहनुभयो ।त्यस समय शंकरदेवमा नेविसंघबाट युनियनका सभापति सुरेश केसी र उपाध्यक्ष (पछि अध्यक्ष) नारायण आचार्य दाइहरूले योगेश भनेको भविष्यको हाम्रो पुस्ताको नेता हो उसलाई जसरी जोगाउनुपर्छ भनेर एस्कर्टिङ गर्दै बाहिर निकाले र आरआरसम्म पु¥याए । त्यही मेसोमा हामी सानै भए पनि छिरिदियौं । रत्नराज्यका अनेकौं गतिविधिमा तपाईंहरूलाई युवाहरूले साथ दिए । युनियनका हरेक चुनावमा तपाईंसँग हातेमालो गरेका हजारौं युवा आज बिदेसिएका छन् ।

युरोप, अमेरिका तथा खाडी क्षेत्रमा तपाईंले स्नातकोत्तर गरेका युवाको पसिना पाउनुहुनेछ । तर, अयोग्यहरूले नेताको टीका लगाएर देशभित्र राज गरेका छन् । यतिबेला विश्व कोरोना महामारीको चपेटामा पर्दै गर्दा विदेश बस्ने १० हजार नेपाली संक्रमित भएको यहाँलाई थाहै होला । गैरआवासीय नेपाली संघको पछिल्लो तथ्यांकअनुसार १ सय ३८ जना नेपालीले कोरोना भाइरसबाट ज्यान गुमाइसके । जो जति बाँचेका छन् उनीहरू नेपाल फर्कने आशामा छन् ।

यस महामारीमा विभिन्न देशले आफ्ना नागरिकलाई जहाज चार्टर गरेर भिœयाएको छ । तर, नेपालले यही मौकामा कोरिया र जापान आफ्ना नागरिक पठाइदियो । हामीलाई यस घटनाले छुँदैन किनभने हामी मानिस बेचेर देश धनी बनाउने अभियानमा छौं जसको पछिल्लो उदाहरण अर्थमन्त्री युवराज खतिवडाले महामारीकै बीच युवालाई कामका लागि विदेशमा नयाँ–नयाँ गन्तव्य खोज्ने र पठाउने भनेबाट प्रस्ट छ ।

एक महिनाका लागि नेपाल गएका पोर्चुगल निवासी विराटनगरका अधिराज बस्नेत लकडाउनमा नेपालमै फसे । सरकारले जुनमा खुलाएको चार्टर हवाई यात्रामा उनले एजेन्सीलाई १८०० युरो तिरेका थिए । यसैगरी, फ्रान्सका रबिनले पनि १८०० तिरे । युरोप बसेर राससलाई रिपोर्ट गर्ने भरत प्रधान र प्रेस युनियन काठमाडौंका पूर्वसचिव नारायण अर्याल ६ महिनादेखि नेपालमै छन्, दुवै जना पोर्चुगल निवासी हुन् ।

यत्रो महँगो टिकट तिरेर कसरी फर्कने ? जबसम्म नर्मल कन्डिसन हुन्न तबसम्म नेपालमै बस्ने उनीहरूको सोच छ । तर, पोर्चुगलले दिएको अस्थायी बसोबास अनुमतिअनुसार उनीहरू अन्य मुलुकमा ६ महिनाभन्दा बढी बस्न पाउँदैनन् । बस्नुपरे त्यसको यथेष्ट प्रमाण र कारण खुलाउनुपर्ने हुन्छ । युरोपबाट मात्रै एकतर्फी १२ सय डलर लिइएको छ । त्यो पनि दूतावासमार्फत । तर, नेपालबाट युरोप आउन १८ सयदेखि २ हजार २ सयसम्म लिइएको तथ्यांक छ । जबकि एकतर्फी भाडा ३०० बाट शुरु हुन्छ । दोहोरो भाडा लगभग ५ सय युरोबाट शुरु हुन्छ साधारण हवाई यात्रामा युरोपका लागि ।

यसरी तीन जना बराबर एकै जनासँग उठाउन पाएपछि नर्मल फ्लाइ किन गर्ने ? पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारीलाई फोन गरेर कहिलेदेखि नर्मल फ्लाइट शुरु हुन्छ भनी सोध्ने हो भने थाहा छैन भन्ने जवाफ दिन्छन् । तपाईंहरूले दैनिक तीन दर्जन फ्लाइट चार्टर गर्नुहुन्छ र नर्मल किन गर्नुहुन्न भन्दा हाँस्दै मन्त्रीज्यूलाई सोध्नुपर्छ भन्ने जवाफ आउँछ । दैनिक ११ देखि २० सम्म चार्टर फ्लाइट नेपालको एयरपोर्टबाट भइरहेको छ । यति धेरै फ्लाइट भइरहने हो भने तीन जनाको ठाउँमा एक जनाको पैसा किन लिने ?

सरकारले ठूला भनिएका होटल र एयरलाइन्सको निर्देशनमा जहाज चार्टर गरेको तथ्यलाई अब लुकाउनु परेन । क्वारेन्टाइनका नाउँमा महँगा होटल अनि महँगो भाडा, मर्का पर्दैन र ? यति धेरै स्कुल, कलेज छन् जहाँ क्वारेन्टाइन बनाउन सकिन्छ, ठूला होटल आवश्यक छैनन् ।

पशुपतिको आर्यघाटमा बसेर हेर्नुभयो भने जीवन के हो बुझ्नुहोला । त्यहाँ प्रत्येक दिन विदेशबाट बाकसमा सजिएर आएका युवाको लास हेरेर नजिकै बसेकी श्रीमती र छोराहरूको आँसुको सपनामा कुठाराघात भएको देख्दा सोच्नुहोला । महँगो भाडाका कारण नेपाल आउन नसकेर विदेशका गल्ली–गल्लीमा भौंतारिएका नेपालीको दर्दनाक कथा लेख्ने सामथ्र्य नभएको यस घडीलाई बुझ्ने चेष्टा गर्नुहोला । बिरामीको उपचार नपाएर, धेरैजसोको बिमा नभएर, बस्ने अवधि सकिएका कारण उपचार नपाएर रोग पाल्न बाध्य भएका नेपालीको आर्तनाद बुझ्न खोज्नुहोस् ।

विदेश बस्ने ८० लाख नेपालीको चाहना, नर्मल फ्लाइट खुलाइदिनुस् भन्ने हो । एक/एक गरी सबैको भावना बुझ्न नसके पनि आफ्नै सतर्कतामा साधारण फ्लाइट खुलाइदिनुभयो भने होटल व्यवसायी र ट्राभल्स तथा एयरलाइन्स व्यवसायीको माफिया चंगुलबाट पाउने दामासाही रकम घट्ला तर लाखौं नेपालीको भावनाको आशीर्वाद लाग्नेछ भन्ने हेक्का रहोस् । भविष्यमा हाम्रा लागि यिनै सहयोग होला भनेर शंकरदेवबाट जोगाउँदै रत्नराज्यसम्म हामीले पु¥याएको हो, हाम्रै पुस्ताको नेता ठानेर यस कुरालाई मनन गरिदिनुहोला ।

– महेन्द्र पौडेल, पोर्चुगल

टिप्पणीहरू