“ज्यानमारा’ मुद्दामा धरौटी,अब फेरि माननीय ?

“ज्यानमारा’ मुद्दामा धरौटी,अब फेरि माननीय ?

१८ वर्षअघि ज्यान मार्ने कसुरमा पाँच वर्ष कैद सजाय पाएका दीपक मनाङ्गे अर्थात् राजीव गुरुङले आगामी निर्वाचनमा उम्मेदवार हुन पाउने वा नपाउने भन्ने बहस शुरु भएको छ । १८ वर्षअघि राजधानीकै अर्का प्रतिस्पर्धी ‘डन’ चक्रे मिलन (मिलन श्रेष्ठ) लाई खुकुरी हानेर हात चुँडाएको काण्डमा उनलाई पाँच वर्षको कैद सजाय सुनाइएको थियो ।

गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री रहेका गुरुङले उक्त कैद सजाय भुक्तान नगरेका कारण आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने वा नपाउने भन्नेबारे चर्चा चुलिएको हो । यसअघि निर्वाचनको समयमा उजुरी नपरेका कारण उनी स्वतन्त्र उम्मेदवारको रुपमा मनाङको प्रदेश ‘ख’ बाट बालक चुनाव चिन्ह लिई विजयी भएका थिए ।

चुनाव जितेलगत्तै तत्कालीन पुनरावेदन अदालतले पाँच वर्ष कैद फैसला गरेको विषय सार्वजनिक भएको थियो । त्यसपछि गुरुङ ‘फरार’ रहे र सर्वोच्च अदालतको आदेशानुसार धरौटीमा उक्त मुद्दा लड्न पाउने गरी रिहा भए । ज्यान मार्ने उद्योग गरेको सम्बन्धमा परेको मुद्दा सर्वोच्च अदालतमा अहिले पनि विचाराधीन छ ।

उनीविरुद्ध चक्रेकी श्रीमती इन्दिरा गुरुङले ज्यान मार्ने कसुर मुद्दा दर्ता गरेकी थिइन् । मुद्दामा दीपकका तत्कालीन सहयोगीहरु रेवत कार्की,रमेश सुनुवार,गणेश लामा र उमेश लामालाईसमेत विपक्षी बनाइएको छ । सर्वोच्चबाट मनाङ्गेबाहेक चारै जनाले सफाई पाइसकेका छन् ।

पहिले जिल्ला अदालतले ज्यान मार्ने कसुर प्रमाणित हुन नसकेको भन्दै उक्त मुद्दालाई कुटपिटमा परिणत गरिदिएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको थियो । पुनरावेदन अदालतले २०६९ मा मनाङ्गेलाई ज्यान मार्ने कसुर गरेको भन्दै पाँच वर्ष र अन्यलाई दुई वर्ष कैद फैसला गरेपछि सरकारी वकिलको कार्यालय मनाङ्गे बाहेकका हकमा पुनरावेदन गर्न सर्वोच्च अदालत गएको हो ।

तर मनाङ्गेका लागि त्यही आदेश अन्तिम बन्न पुगेको बताइन्छ । उनले आफूले उक्त आदेशबारे जानकारी नपाएको भन्दै सर्वोच्चमा जाँदा पुनरावेदन अदालतकै फैसला अन्तिम हुने आदेश भएपछि मनाङ्गे हदम्यादकै विषयलाई लिएर मुद्दा लडिरहेको अवस्थामा पुगेका छन् । धरौटीमा रिहा भएका मनाङ्गेको मुद्दा छिनोफानोको अन्तिम तयारीमा पुगेको बताइन्छ । तर काँग्रेस नेतृत्वको प्रदेशमा गठबन्धन सरकार जोगाइदिएको उपहारस्वरुप उनको मुद्दा निवेदनका आधारमा पछाडि धकेल्दै लगिएको छ ।

ज्यान मार्ने उद्योग फौजदारी अभियोग भएकाले मनाङ्गेले सफाइ नपाएसम्म निर्वाचनमा उम्मेदवार हुन पाउने हालसम्म कुनै कानूनी व्यवस्था नभएको बताइन्छ । उसले कैद सजाय भोगेको अवस्थामा पनि छ वर्षपछि मात्र चुनाव लड्न पाउने कानूनी व्यवस्था छ । अभियोग मात्र लागेकाको हकमा चुनाव लड्न पाए पनि अभियोगको सुरुवाती छिनोफानो नभएसम्म सपथ ग्रहण गर्न पाउने कानूनी व्यवस्था छैन ।

तत्कालीन एमाले सरकारले गण्डकी प्रदेशमा आफ्नो सरकार गठन गर्न मनाङ्गेको सहयोग आवश्यक देखिएपछि पृथ्वी सुब्बा गुरुङको सरकार टिकाइदिन सपथ खुवाएर मन्त्री पद दिइएको थियो । त्यसपछि काँग्रेस नेतृत्वको गठबन्धन सरकारले सोही शैली अपनाएपछि उक्त मुद्दा ओझेलमा पार्दै आएको हो ।

नेपालको संविधानको धारा १ सय ७८ मा प्रदेश सभा सदस्यको योग्यतासम्बन्धी व्यवस्था उल्लेख छ । जसको ‘घ’ मा भनिएको छ ‘नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको ।’ यसको अर्थ, यस पटकको प्रदेश सभा निर्वाचनमा उजुरी परेको खण्डमा मनाङ्गेलाई चुनावी प्रतिस्पर्धा गर्न कानूनले छेकबार लगाउने निश्चित देखिन्छ ।

कानुनको पालना भएको अवस्थामा जेलको चीसो छिँडीमा हुनुपर्ने व्यक्ति प्रदेश मन्त्रीका रुपमा सवारी साधनमा झण्डा फहराएर हिँडेका छन् । त्यस्ता अभियुक्तलाई बारम्बार स्यालुट हान्न र उसको सुरक्षामा स्वयम् प्रहरी समेत खटाउनु परेको छ ।

यता, नेपाली काँग्रेस मनाङले जिल्लाको प्रदेश ‘ख’ मा स्वतन्त्र उमेदवारका रुपमा गुरुङलाई सहयोग गर्ने निर्णय गरेको छ । एमालेसँग पनि उनले बार्गेनिङ गरिरहेको बताइन्छ । काँग्रेस र एमाले दुबै तर्फबाट निर्वाचनमा अरु कसैको उमेदवार नदिलाउन लबिड्ग गरिरहेका मनाङ्गे सकेसम्म निर्विरोध हुने प्रयासमा हिँडेका हुन् ।

काँग्रेसले आफूलाई समर्थन गरिसकेकाले एमालेले कोही कसैलाई उठाउन खोजेमा उसलाई डर, धम्की वा प्रलोभनमा जसरी पनि बाहिर राखेर निर्विरोध हुने योजना रहेको मनाङ्े निकटस्थहरुको दाबी छ ।

तर, मनाङ प्रहरीले भने मतदाता र उमेदवारको पूर्ण सुरक्षाको ग्यारेन्टी लिन आफ्नो चुनावी सुरक्षा योजना बनाइरहेको छ । उनी यसअघि पटक पटक गुण्डागर्दीकोे आरोपमा प्रहरी हिरासतमा परेका थिए ।

प्रहरीले केही समयअघि तयार पारेको प्रतिवेदनमा सर्वोच्च अदालतमा बहसका क्रममा दीपक मनाङ्गेका कानूनी प्रतिनिधिको जिकिर उल्लेख छ । जसमा भनिएको छ, ‘श्रीमान् मेरो पक्ष दीपक मनाङ्गे होइन । उ त राजीब गुरुड्ग हो ।’ सोही जिकिरका आधारमा गुण्डागर्दीकोे अभियोगमा अदालत पुर्याइएका उनै गुरुङ छाति खोलेर अदातलबाट बाहिरिएका थिए ।

टिप्पणीहरू