सहअध्यक्ष मागेका मिश्र राप्रपाको पाँचौँ वरीयतामा

सहअध्यक्ष मागेका मिश्र राप्रपाको पाँचौँ वरीयतामा

विवेकशील साझा परित्याग गरि पूर्वपञ्चहरुको पार्टी राप्रपा प्रवेश गर्न लागेका पूर्वपत्रकार रवीन्द्र मिश्रले बरिष्ठ उपाध्यक्ष पाउने भएका छन् । भोलि काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत राप्रपामा मिसिएपछि उनलाई औपचारिक रुपमा उक्त पद प्राप्त हुनेछ ।

पछिल्लो समय मिश्र वैकल्पिक राजनीतिको ट्रयाक छोडी राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा उभिएका थिए । त्यसका लागि उनले विवेकशीलमा ‘विचार माथि देश‘ दस्तावेज पारित गराएपछि विवाद चर्किएको थियो । विवादकै कारण पार्टी विभाजित हुँदा गत स्थानीय निर्वाचनमा पार्टीको कन्तबिजोग अवस्था भएपछि मिश्रले अध्यक्ष छोडेका थिए ।

त्यसयता सामाजिक सञ्जालबाट राजतन्त्रको पक्षमा निरन्तर वकालत गर्दै आएका उनी मंसिरको चुनावमा काठमाडौँ-१ बाट हलो चिन्हमा लड्ने तयारीका साथ राप्रपामा मिसिन लागेका हुन् । राप्रपामा सहअध्यक्ष मागेका उनले अन्तत: बरिष्ठ उपाध्यक्षमा चित्त बुझाएपछि पार्टी प्रवेश सम्भव भएको बताइन्छ ।

तर, राप्रपाका पुराना नेताहरु भने मिश्रलाई बरिष्ठ उपाध्यक्ष दिने कुरामा त्यति सन्तुष्ट देखिंदैनन् । राप्रपा स्रोतका अनुसार त्यहि असन्तुष्टी सम्बोधन गर्न मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिए पनि वरियतामा भने तल राखिने छ । उनी राप्रपामा पाँचौँ वरीयतामा रहने स्रोतले जानकारी दिएको छ ।

‘वरिष्ठ उपाध्यक्ष पदमा मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्,’ स्रोतले भन्यो, ‘उनी हाम्रो पार्टीमा पाँचौँ वरीयतामा रहनेछन् ।’

टिप्पणीहरू