जसको सरकार आए पनि चीनलाई फरक नपर्ने

जसको सरकार आए पनि चीनलाई फरक नपर्ने

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष लि चान्सुले नेपालमा हुने सरकार परिवर्तनले दुई देशबीचको सम्बन्धमा कुनै फरक नपर्ने बताउनुभएको छ । आज नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष लिले नेपालमा हुन गइरहेको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिँदै निर्वाचनपछि बन्ने सरकारलाई चीनको पूर्ण समर्थन रहने बताउनुभएको भेटमा सहभागी एमाले नेता बिष्णु रिजालले जानकारी दिए ।

त्यसअघि ओलीले आफ्नो पालामा नेपाल–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमा विकास गर्न महत्वपूर्ण काम भएकाले त्यसको अपेक्षित लाभ हासिल हुने आशा गरेको बताउनुभएको थियो । चिनियाँ नेता लिले भने जसको सरकार आए पनि चीनको समर्थन यथावत रहने कूटनीतिक जवाफ दिनुभएको बताइएको छ ।

आजै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुभएका लिले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग पनि भेट्ने कार्यक्रम छ ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा हिजो अपरान्ह काठमाडौँ उत्रिनुभएका लि हिजैदेखि उच्चस्तरीय भेटघाटमा व्यस्त हुनुहुन्छ । हिजो उहाँले सभामुख सापकोटासँग संसद भवनमा शिष्टाचार भेट गर्नुभएको थियो । सो क्रममा ६ बुँदे सम्झौतामा हस्ताक्षरसमेत गरिएको थियो ।

भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर अध्यक्ष लि पर्सि बिहान ९ बजे कोरियातर्फ लाग्नुहुने छ ।

टिप्पणीहरू