७४ वर्षीय वृद्ध बलात्कारी अदालतमा, मान्छे मारेर भागेका गैरे हिरासतमा

७४ वर्षीय वृद्ध बलात्कारी अदालतमा, मान्छे मारेर भागेका गैरे हिरासतमा 

जबरजस्ती करणीको मुद्दामा अदालतले दोषी ठहर गरेका ७४ वर्षका चेतनाथ डल्लाकोटीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । राप्ती नगरपालिका – ७ भन्डाराबाट उनलाई हिजो पक्राउ गरिएको हो ।

डल्लाकोटीले अदालतको फैसलाअनुसार बलात्कारको मुद्दामा ९ वर्ष कैद र एक लाख क्षतिपूर्ति सजाय भुक्तान गर्न बाँकी छ । चितवन जिल्ला अदालतको ०७६ माघ ९ गते र उच्च अदालत पाटन हेटौडाको ०७७ चैत १२ गतेको फैसलाले उनलाई उक्त सजाय तोकेको हो । डल्लाकोटीलाई अदालतको उक्त फैसलाअनुसारको कैद तथा क्षतिपूर्ति भुक्तानको लागि प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

त्यसैगरी चितवन प्रहरीले मान्छे मारेर भागेका अर्का एक व्यक्तिलाई चार महिनापछि समातेको छ । भरतपुर महानगरपालिका -७ का अनिल परियारलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेका स्थानीय ३२ वर्षीय तिलक गैरेलाई प्रहरीले भदौ २३ गते पक्रेको हो ।

गत वैशाख २५ गते परियारको हत्या गरेको आरोप लागेका गैरे त्यसयता फरार थिए । उनलाई लुकिछिपी बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा पक्राउ परेका गैरेलाई थप अनुसन्धानको लागि चितवन अदालतको आदेशअनुसार हिजो कारागार पठाइएको छ ।

टिप्पणीहरू