कमरेड उदय अस्ताएपछि… « Jana Aastha News Online
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022
Logo
८ माघ २०७८, शनिबार
|  Sat Jan 22 2022

कमरेड उदय अस्ताएपछि…

प्रकाशित मिति :  २३ जेष्ठ २०७७, शुक्रबार ११:४०


नियतिका पानाहरूमा सहयोद्धाहरूका लागि लोकबहादुर चलाउने उर्फ बबर अब कुनै सम्झनलायक नाम रहेन । बबर बिर्सनलायक नाम थिएन तर अब ऊ रहस्यको गर्तबाट सदाका लागि हरायो ।

बबरको त्याग र बलिदानीको बहिखाता राख्ने कोही नभएपछि लोकबहादुर उर्फ बबरहरू विस्मृतिको गर्भबाट सधैंका लागि हराउनु नियति हो । र, जब नियति यथार्थ भएर आउँछ त्यो बेला मान्छेको मूल्यमाथि प्रश्नचिन्ह लाग्छ ।

१९ वर्षअघि अर्थात् २०५८ माघ २ गते सुर्खेतको कारागारको सबै सुरक्षा व्यवस्था तोडेर जेलब्रेक गर्ने विष्मयकारी पात्रमध्ये एक थिए बबर । बबरलाई साथ दिएका परिवर्तनकामी १५ जना मरे कि ज्यूँदै छन् ? त्यसको बहिखाता पनि अहिले कसैसँग छैन । र, आइन्दा खोजिने पनि छैन ।

किनकि, अब बबर हामीबीच छैनन् ।

कसरी छैनन् ?

किनकि, मानसिक उद्वेग र निराशाले आफ्नो सीमा नाघेपछि कमरेड बबर उर्फ लोकबहादुर चलाउनेले गत बुधबार आफ्नो प्राण त्याग्न आत्महत्याको विकल्प रोजे र भेरीमा बिलाए । बबरसँगै भेरीमा त्याग र बलिदानको अर्को एउटा इतिहासले सधैंका लागि प्राणान्त गर्यो ।

परिवर्तनको आधारभूमि मानिएको रुकुम जिल्लामा जातीय मुद्दा प्रधान बनेर जागिरहेको मुद्दाका बीच बबरले जनसमरका सबै यात्रा, अनुभव र अनुभूतिलाई भेरीमा आफूसँगै बगाए । र, बबरसँगै एउटा इतिहास पनि बग्यो ।

नियतिको यो साक्षी हुनपर्दा म किञ्चित विचलित छैन ।

किनभने, मैले यही साता नुवाकोट रसुवाका लागि परिवर्तनको आधार गर्ने अग्रज जसलाई परिवर्तनकामी भन्नेहरूले नै मानसिक रोगीको पगरी गुथाएर किनारामा धकेल्ने यथासक्य प्रयत्न गरेका थिए र उनको मरणोपरान्त गाथा र स्तुती गाउने पाखण्ड र ढोंग सार्वजनिक गरे, म त्यसको साक्षी हूँ ।

साक्षी त म क्रान्तिको बिगुल बजाउने त्यो योद्धाबाट क्षेत्रीय भेगीय राजनीतिको बर्णन सुन्ने पनि हूँ । साक्षी त म तिनको जीवनको आरोह र अवरोहलाई अक्षरशः श्रवण गर्ने व्यक्तिको रुपमा पनि हूँ । साक्षी त म तिनको माक्र्सवादी सौन्दर्यशास्त्रको व्याख्याको पनि हूँ । साक्षी त म तिनले भोगेका यातना र राजनीतिक कहरको बयानको पनि हूँ । यातनाको त्यही प्रताडनाले शरीर कमजोर भए पनि विचारमा इस्पात भएका पात्र थिए अर्जुन भण्डारी ।

ती तिनै अर्जुन बहादुर भण्डारी थिए जसले कमरेड उदय भएर माओवादी आन्दोलन र तात्कालीन परिवर्तनको मुहिम निश्कर्षमा पुर्याउन तन, मन, धन सबै अर्पण गरे । शिक्षकको रुपमा, सामाजिक अभियन्ताको रुपमा, लडाकूको रुपमा, क्रान्तिकारी कमाण्डरको रुपमा सतिसाल झैं आफूलाई उभ्याए र सतिसालझै अडिएर सांसारिक यात्रा सम्पन्न गरे । इस्पात भएर । नझुकेर । नडगेर । नगलेर ।

स्वर्गीय अर्जुन भण्डारी किन सतिसाल थिए भन्न भण्डारीकै समकक्षी शहीद नेत्रमणी दाहाल जो २०४१ सालमा दाङ जिल्लामा पञ्चायती व्यवस्थाको शिकार भएका थिए, को कविता सापटी लिने अनुमति माग्छुः

आँधी र हूरी नचलेको बेला
वातावरण स्तब्ध र शान्त भएको घडीमा
एउटा नर्कट पनि छाती खोलेर ठिंग उभिन सक्छ
एउटा कायरले पनि
बहादुरीका लामा लामा कुरा गर्न सक्छ ।
तर मेरा मित्र
आँधी र हूरी चलिरहेको बेलामा
वातावरण गतिशील र अशान्त भएको घडीमा
पहाडको चुचूरोमाथि
आँधी र हूरीसँग पौंठेजारी खेल्दै
एउटा सतिसाल मात्र ठिंग उभिन सक्छ
(शहीद नेत्रलाल पौडेल ‘अभागी’)

पश्चिम १ नम्बरको भूगोलमा पञ्चायत व्यवस्था विरोधी अभियानका प्रारम्भिक अभियन्ता थिए अर्जुन भण्डारी । निर्दलियता विरुद्धको अभियन्ता । साम्यवादी दर्शनको अभियन्ता । माक्र्सवादी विचारधाराको अभियन्ता । एउटा कम्यूनिष्ट भएर राज्यसत्ताको सबै कहर भोगेर भुईमान्छेको न्याय, समानता र स्वतन्त्रताका लागि होमिएको पात्र । जिन्दगीको सत्यम्, शिवम् र सुन्दरम् नै संघर्ष, परिवर्तन र क्रान्ति भनेर नथाकेको मान्छे । उसले यातनाका सबै पहाडहरूलाई थेग्यो तर कहीं विचलित भएन । कहीं झुकेन । कहीं डगमगाएन । शाषकहरूको कोर्राले भण्डारीको गिदीका सेलहरू तलमाथि भए तर उनको चेतना तलमाथि भएन । र, जुन अवस्थामा रहे त्यही अवस्थामा रहेर क्रान्ति र परिवर्तनको पक्षमा बोलिरहे ।
चेतन र अवचेतन दुबै रुपबाट एउटा व्यक्तिले जब एउटै विषयमा बोल्न सक्छ, अडान लिन सक्छ भने त्यो व्यक्ति विशेष हो । अर्जुन भण्डारी त्यही विशेष व्यक्ति थिए । त्यसैले शहीद नेत्रलाल पौडेल ‘अभागी’को ‘सतिसाल मात्र ठिंग उभिन सक्छ’ शीषर्कको कविता अर्जुन भण्डारीको जिन्दगीमा हूबहू जँच्छ । वा, मलाई जँच्यो ।

अर्जुन भण्डारी (कमरेड उदय) अस्ताएपछि प्रकाशित एउटा लेखमा प्रयुक्त विचारमाथि धेरैले मुख्य गरी दुईवटा समूहका प्रतिक्रिया आए । मूलतः साम्यवादी आदर्श प्रेरित वा माक्र्सवादी दावी गर्ने एउटा समूह र अर्को हामीले पनि क्रान्तिको रथ हाँकेका हौं भन्ने दावी गर्ने पूर्वमाओवादी समूहबाट ।

मलाई केही उदेक लागेन ।

धेरै राजनीतिक स्वाँठहरूले दिने प्रतिक्रिया देखेर मलाई टीठ लाग्नपर्ने हो तर लागेन । पछिल्लो पन्ध्र वर्ष अर्जुन भण्डारीलाई फर्केर नहेर्नेहरूले व्यक्त गरिरहेको श्रद्धाञ्जली र समवेदनाका अक्षरहरूमा मलाई ढोंग र पाखण्ड गन्हाइरहेको थियो । औपचारिकता त पुच्छर हल्लाएर चौपायाले पनि देखाउँछ । मलाई वान्ता हुनपर्ने थियो, भएन । मरिसकेपछि हतारहतार उनका जीवनीका पाना खोतलेर सामाजिक सञ्जालमा टाँस्न दौडधूप गर्ने लाचार अनुहारहरू आँखै अगाडि नाचिरहे ।
साँच्चै ! त्यति विधि जानकारी भएका नेतागण हिजोसम्म किन मृतप्रायः रहेछन् ? किन निदाएको अभिनय गरिरहेका रहेछन् र अर्जुन भण्डारीको मृत्युलगत्तै झल्याँस्स ब्यूँझिएछन् ?

सामान्य स्नायु रोगलाई लिएर अर्जुन भण्डारीको अपेक्षा गरिरहने, तिनलाई तिरस्कार गरिरहने, परिवर्तनका लागि उनको भूमिका नजरअन्दाज गर्ने त्यो समूहमा पूर्व माओवादीहरूको जमात विशेष थियो । बजारमा शरम र सोमत दुबैको अभाव छ, त्यसैले पूर्व माओवादी दावी गर्नेहरूलाई पन्ध्र वर्षसम्म चासो नभएका अर्र्जुन भण्डारी एकाएक क्रान्तिका पूर्वदूत बनेर आए, क्रान्तिवीर बनेर उदाए । मान्छे अस्ताएपछि उनीहरूले गरेको वर्णन र देखाएको सरोकार उदेकपूर्ण थियो र छ ।

तोरीलाहूरे विचारधाराबाट बचौंं

आदरणीय अग्रज,

हाम्रो समाज अहिले पनि ध्रुविकृत छ । तर पात्रको योगदानको सवालमा ध्रुविकृत समाज पनि एकीकृत भएको बेलामा जिल्लामा सम्बन्धित पार्टी वा विचारधारागत समूहले सामान्य कर्तव्यबोध पनि गर्न सक्दैन भने त्यो बेला हामीले चित्रबहादुर केसीले भनेजस्तो भेंडीगोठ सम्झनपर्ने हुन्छ ।

महाप्रस्थान गरेका त पोष्टबहादुर बोगटी, कैलाशनाथ पौडेल, गणेश पण्डित, अर्जुन भण्डारीलगायत केही त हुन् । अरु पनि धेरै बाँकि छन् जो मर्न बाँकि छन् । मर्नुअघि व्यक्तिको योगदानको कदर गर्दा पाप लाग्छ भन्ने दरिद्र सोचले हामी गाँजिएका छौं । र, मरोणोपरान्त मात्र तिनका स्तुती गाउने विकारले ग्रस्त छौं ।

पात्रको अस्त भइसकेपछि तिनलाई कसरी विधि र प्रक्रियापूर्वक सम्मान गर्ने भन्नेमा पनि हामीभित्र सन्देह छ, द्विविधा छ । हिजोको एमाले र हिजोको माओवादी एक भइसकेपछि एउटाले अर्कोको विचारधारा र अस्तित्वको समान सम्मान गर्ने भइसकेपछि जिल्लाको एकजना लिजेण्डको सम्मानमा बैठक बसेर निर्णय गर्न नसक्ने पार्टी के पार्टी ? सार्वजनिक स्थानमा श्रद्धाञ्जलीको व्यवस्था गर्न नसक्ने पार्टी के पार्टी ?आफ्नो भूगोलमा कम्तीमा एक दिन पार्टीको झण्डा आधै सही झुकाउन नसक्ने पार्टी के पार्टी ? अनि तिनैले मृतकको विषयमा गाएका गाथाहरूको के औचित्य ?

यसो भनिरहँदा जीवित लिजेण्डहरूको मुटु चस्स हुन सक्छ ।

होस् ।

जो जो जिउँदा छन् ती सबैले हिजो प्रजातन्त्रका लागि लडे र आजको गणतन्त्र नेपालको जग बसाउन यथास्थानबाट योगदान दिए । उचाईमा को पुग्छ, शिखरमा को पुग्छ अलग कुरा हो । आरोहणमा को पहिला थाक्छ र को पहिला बेसी झर्छ त्यो पनि अलग कुरा हो । तर, आरोहणको अभियानमा क–कसले सँगै झण्डा उठायो र त्यो झण्डालाई कुन उचाइसम्म पुर्यायो त्यो महत्वपूर्ण हो । आँधी, हूरी र असिनासँग पसिना बगाउँदै को अविचलित भएर लड्यो र लडेरै आफ्नो पहिचान बनायो त्यो महत्वपूर्ण हो । यति त मान्नुहोस् ।

नीति कथै छ, जुन डोकोमा तपाईहरूले अग्रजहरूलाई फाल्दै हुनुहुन्छ त्यही डोकोमा तपाईहरूलाई पछिको पुस्ताले नफालून् ।

भवतु सब्ब मंगलम्


प्रतिक्रिया दिनुहोस !