जर्नेलहरुसँगको भेट पूर्वनिर्धारित,राष्ट्रपतिको राजीनामा आउने सम्भावना ‘शून्य’

जर्नेलहरुसँगको भेट पूर्वनिर्धारित,राष्ट्रपतिको राजीनामा आउने सम्भावना ‘शून्य’

‘दुई-तीन पटक त राजीनामा दिने सोच पनि आयो तर विभिन्न परिस्थितिले भएन । त्यसवारे अहिले यहाँ ब्याख्या गर्न मिल्दैन तर यो सबै देखेर दिक्क लाग्छ’,आफूले १५ बुँदे सुझावसहित फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधिसभाले दोस्रोपटक जस्ताको त्यस्तै पारित गरेपछि विभिन्न क्षेत्रका अगुवाहरुसंग तारन्तार राय-परामर्श लिइरहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले एउटा छलफलमा भनेको प्रसंग हो यो । शीतल निवासमा भएको कानुन व्यवसायी र विद्यार्थीहरुसंगको छलफलमा राष्ट्रपतिले आफूलाई अनावश्यक विवादमा तान्ने गरिएकोमा असन्तुष्ट हुँदै त्यहीक्रममा राजीनामाको विषय कोट्याउनु भएको हो ।

त्यसयता राष्ट्रपतिको राजीनामाको चर्चाले राजनीति गर्माइरहेको छ । हिजो दिनभर विभिन्न मिडियाले त्यस्तै समाचार सम्प्रेषण गरे । नागरिकता विधेयकमा राष्ट्रपति कार्यालय र सत्तारुढ गठबन्धनबीच ‘शीतयुद्ध’ चलिरहेकै बेला नेपाली सेनाका बहालवाला र पूर्वजर्नेलहरुलाई निवासमा बोलाएर सामूहिक भेट गरेपछि राष्ट्रपतिले कुनै कदम चाल्न लागेको पूर्वसंकेतका रुपमा विश्लेषण हुन थाल्यो ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकाले राष्ट्रपतिले सैनिक अधिकारीहरुलाई एकैचोटी निवासमा बोलाएर छलफल गर्दा चार महिनाअघि नै ‘घर फर्किने’ तयारी हो कि भन्ने जिज्ञासा उब्जनु स्वभाविकै हो । अझ आफ्नो सुरक्षामा यो या त्यो रुपमा खटिएका सुरक्षाकर्मीलाई भोज खुवाएर राष्ट्रपतिले ‘धन्यवाद’ दिएकाले पद छोड्ने मनस्थिति बनाएको अनुमान त्यहाँ सहभागी जर्नेलहरुले पनि गरे । एक पूर्व जर्नेलले भने, ‘खुलेर नभने पनि उहाँले धन्यवाद भन्नुभयो, त्यसकारण पद छोड्न लागेको हो कि भन्ने अनुमान गरिएको हुनसक्छ ।’

तर,बाहिर उब्जेका यस्ता आशंकामा कुनै सत्यता नरहेको र राष्ट्रपति भण्डारी राजीनामा दिने सोचमा समेत नरहेको शीतल निवास स्रोतले बताएको छ । हिजोको भेटमा राष्ट्रपति भण्डारीको प्रस्तुती र उहाँको मुखाकृतिले राजीनामाको कुनै पूर्वसंकेत नगरेको तर, केही राष्ट्रिय सवालहरुमा उहाँको गम्भीर चासो र चिन्ता देखिएको ती जर्नेलले बताए । शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिले विगतदेखि नै तीनवटा विषयमा आफ्नो सरोकार राख्दै आउनुभएको र पछिल्ला छलफलहरु त्यसैको निरन्तरता मात्रै हो । राष्ट्रियता,जलवायु परिवर्तन र अर्थतन्त्रका विषयमा राष्ट्रपतिको गहिरो चासो र चिन्ता छ । साथै पछिल्ला छलफलहरुमा उहाँले आफूलाई कुनै दल विशेषको आँखाले हेर्ने गरिएकोमा पनि चिन्ता जनाउने गरेको बताइन्छ ।

त्यसो त,सेनाका जर्नेलहरुसंगको भेट भने आकस्मिक थिएन । ६ महिनाअगाडि नै तय भएको कार्यक्रमअन्तर्गत हिजोको तिथि जुरेको हो । त्यसको समन्वय जर्नेल नेत्रबहादुर थापाले गरेका थिए । राष्ट्रपतिको निम्तो मान्न पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा,प्यारजङ्ग थापा,पूर्व तीनतारे बलदेवराज महत,शरद गिरी,फत्येबहादुर लिम्बू,नेपालभुषण चन्द,पवन पाण्डे,अमर पन्त,पूर्वउपरथी हरिबहादुर बस्नेत लगायत १ देखि ४ तारेसम्मका पूर्वजर्नेलहरु शीतल निवास पुगेका थिए । दिउँसो साढे ३ बजे शीतल निवास पुगेका करिब पाँच दर्जन बहालवाला र पूर्वजर्नेलहरुसँग राष्ट्रपति भण्डारीले साँझसम्मै कुराकानी गर्नुभयो ।

‘पहिले नै तय भएको भेटघाट हो । नागरिकता विधेयकबारे अहिले बजारको धारणासमेत बुझ्न यसलाई अवसरका रुपमा प्रयोग गर्नुभएको भने हुनसक्छ’, यसबारे जानकार स्रोतले भन्यो ।

त्यसोभए नागरिकता विधेयक के हुन्छ त ? संविधानत: राष्ट्रपति सामु दुईवटा विकल्प छ । विधेयक सर्लक्क प्रमाणीकरण गर्नु पहिलो र स्वभाविक विकल्प हो । आफूले फिर्ता पठाएको विधयेक जस्ताको तस्तै आउँदा प्रमाणीकरण गर्न नैतिकरुपले अप्ठेरो पर्दा राजीनामा गर्ने दोस्रो विकल्प पनि उहाँसँग छ । यसबाहेक ‘इफ’, ‘बट’ गर्ने ठाउँ संविधानले नदिएकाले तेस्रो विकल्प रोज्ने कुराको कल्पना पनि गर्न सकिंदैन । तर, कतिपयले संविधानले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेछ भने पनि नगरे के हुन्छ प्रष्ट नभनेकाले त्यसै रोक्न मिल्ने सल्लाह दिएको भन्ने पनि सुनिन्छ । तर, राष्ट्रको यतिधेरै चिन्ता गर्ने राष्ट्रपतिले मुलुक भड्खालोमा जाने त्यस्तो कठिन विकल्प रोज्नुहोला भन्ने कुराको अहिले अनुमान पनि नगरौँ ।

शीतल निवास स्रोतले राष्ट्रपति पहिलो विकल्पमा जाने संकेत दिएको छ । राजीनामाबारे पूरै इन्कार गरेको उक्त स्रोत भन्छ, ‘सम्भावनै छैन । मिडियाहरुले हचुवामा लेखेर आफ्नो विश्वनीयता गुमाएका छन् ।’ यसमा राष्ट्रपतिका समर्थक र विरोधी दुवै कित्ताका केही मान्छेहरु बराबर जिम्मेवार रहेको स्वयं राष्ट्रपतिलाई पनि जानकारी छ भनिन्छ ।

समर्थन गर्नेहरुले राष्ट्रियताको इश्युमा अडान राखेर पद छोड्दा राम्रो सन्देश जाने, त्यसको स्वभाविक फाइदा उहाँको पूर्वपार्टीलाई मिल्ने ठानेर राजीनामाको हल्ला चलाएका हुन् । किनभने नागरिकतालाई राष्ट्रवादमा जोडेर ‘एन्टी इन्डियन’ मनोविज्ञानलाई क्यास गर्न सके निर्वाचनमा पहाडिया र शहरी क्षेत्रका मतदातालाई राम्रो प्रभाव पार्न सकिन्छ । जुन कुरा एमालेका नेताहरु राष्ट्रपतिमार्फत गर्न चाहन्छन् । राष्ट्रपति संविधानअनुसार नचलेर राजीनामा दिएको सन्देश दिने विरोधी खेमाका मान्छेहरुको प्रयास हुनसक्छ ।

टिप्पणीहरू