वाइसीएललाई फौजका रुपमा जाग्न प्रचण्डको निर्देशन

वाइसीएललाई फौजका रुपमा जाग्न प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) लाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।

राजधानीमा भएको वाईसीएलको दोस्रो भेलालाई आज सम्बोधन गर्दै उहाँले शान्तिपूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको हो । देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै अध्यक्ष प्रचण्डले सोहीअनुसार परिचालित हुन पनि निर्देशन दिनुभयो ।क्रान्ति नदोहोरिने भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उहाँले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

वर्तमान अवस्थाकाे राजनीतितर्फ संकेत गर्दै उहाँले पछिल्ला दिनमा पार्टीभित्र नेतृत्वलाई घेरा हाल्ने प्रवृत्ति बढेको रहस्य खोल्नुभएको छ । सोही क्रममा भन्नुभयो, ‘अहिले पदको लागि बार्गेनिङ हुने गरेको छ ।’

प्रचण्डको भनाइ छ, ‘पहिले युद्धको समयमा अग्रमोर्चामा सहिद बन्नका लागि मैले मर्न जान किन नपाउने भनेर प्रतिस्पर्धा हुन्थ्यो, नेतृत्वलाई त्यो हिसाबले दबाब दिने गरिन्थ्यो, आजभोलि त्यस्तो नभएर यो पद मैले किन नपाउने भन्नेमा प्रतिस्पर्धा भइरहेको छ ।’

पार्टीभित्र गतिहीनता बढ्दै गएको पनि उहाँले स्वीकार्नुभएको छ ।

टिप्पणीहरू