अख्तियारले छापा मारेपछि विद्यालयले दियाे प्रष्टीकरण

अख्तियारले छापा मारेपछि विद्यालयले दियाे प्रष्टीकरण

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ६ स्थित श्री जननमूना माध्यमिक विद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले आपत्ति जनाएका छन् । अस्ति दिउँसो आयोगले विद्यालयमा छापा मारेर कर्मचारीहरुलाई नियन्त्रणमा लिएको भन्दै संयुक्त रुपमा विरोध जनाइएको छ ।

अख्तियारले विद्यालयमा छापा मार्दा आत्मसम्मानमा चोट पुगेको उनीहरुले बताएका छन् । ‘कर्मचारीहरुले विद्यार्थीहरुबाट बिना रसिद दुई लाख ७६ हजार ६९० रुपैयाँ लिएको भन्दै सञ्चारमाध्यमहरुले भ्रामक समाचार प्रकाशन गरेकोमा विद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, हिजो जारी विज्ञप्तिमा भनिएको छ ।

वास्तविकता नबुझी विद्यालय र कर्मचारीहरुमाथि लगाइएको आक्षेप निराधार र कपोकल्पित भएको दाबी गरिएको छ । उनीहरुले भनेका छन्, ‘विद्यालयले अदालतको आदेश अवहेलना नगरेको र अदालतकै आदेशबमोजिम अभिभावकहरुको गत जेठ ५ गते बसेको भेलाले स्वेच्छिक रुपमा विद्यालयलाई दान, चन्दास्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हुँदा सोहीबमोजिम अभिभावकबाट लिइएको दान, चन्दावापतको रकम विद्यालयकै पठनपाठनमा संलग्न निजी स्रोतबाट नियुक्त जनशक्तिलाई पारिश्रमिक प्रदान गर्न प्रयोग गर्ने गरिएको छ ।’

विद्यालयले आयोगले नियन्त्रण्मा लिएको रकममध्ये एसईई ग्रेडवृद्धि परीक्षा आवेदन फारामवापतको राजश्व रकम ९५ हजार पाँच सय, सानो नगदीकोष वापत १० हजार नौ सय, बालबालिकाका खाजा खर्चमध्ये भुक्तानी गर्न बाँकी २२ हजार ७९० र अभिभावकबाट प्राप्त चन्दा, दानवापतको एक लाख ४९ हजार ५०० रुपैयाँ भएको विवरण दिएको छ ।

सरकारले कुनै पनि मानवस्रोतको व्यवस्थापनलगायत भौतिक विकास व्यवस्थापनमा कुनै सहयोग नगरेकाले चन्दा उठाउन बाध्य भएको विद्यालयको स्पष्टीकरण छ । कक्षा ११ र १२ का लागि २२ जना शिक्षक आवश्यक परे पनि जम्मा तीन जना विषयगत दरबन्दी भएकाले अभिभावकहरुको सहयोगबाट ती कक्षाका ११ सय रुपैयाँ प्रतिविद्यार्थी उठाउँदै आएको विद्यालयको दाबी छ ।

टिप्पणीहरू