काठमाडौंका मेयरको २४ घण्टामै फरक निर्णय

काठमाडौंका मेयरको २४ घण्टामै फरक निर्णय

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पतालको संरचना हटाउन समय दिने भएका छन् । केही बेरअघि अस्पताल पुगेर साहले संरचना हटाउन समय दिने बताएको अस्पतालले जनाएको छ ।

हिजो दिउँसो २४ घण्टे अल्टिमेटम दिएर तत्काल टहरा हटाउन निर्देशन दिए पनि आज त्यहिँ पुगेर अर्को सहमति गरेका हुन् । दुवै पक्षका इन्जिनियरहरुले त्यहाँ रहेका सामग्री अन्यत्र जडान गर्न र स्थानान्तरण गर्न लाग्ने समयबारे प्रतिवेदन बुझाएपछि सोहीअनुसार अघि बढ्ने सहमति भएको महानगरका प्रवक्ता नवनी मानन्धरले बताए ।

हिजो मेयरले नर्भिकले सरकारी जग्गा अतिक्रमण गरेर संरचना बनाएको आरोप लगाएका थिए । त्यसपछि अल्टिमेटमसहितको सूचना अस्पतालको भित्तामा टाँसेर निस्केका उनी उनी आज पनि अस्पताल पुगेका हुन् ।यता, अस्पतालले आज बिहान पत्रकार सम्मेलन गरेर तत्काल संरचना हटाउन नसकिने जानकारी गराएको थियो । ती टहरामा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी, डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अति आवश्यक उपकरण भण्डारण गरिएकाले तत्काल हटाउन सम्भव नभएको अध्यक्ष राजेन्द्रबहादुर सिंहले जानकारी गराएका थिए ।

उपचाररत बिरामीको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गरी उचित कानुनी प्रकिया अवलम्बन गर्ने उनले सुझाएका थिए । नर्भिक अस्पताल र भूमिसुधार कार्यालयबीच २०६५ सालमा २० वर्षका लागि लिज सम्झौता भएको तथ्य पनि सार्वजनिक गरिएको छ ।सम्झौतामा १ रोपनी ८ आना १ पैसा १ दाम क्षेत्रफलको जग्गा नर्भिकले प्रयोग गरेवापत वार्षिक ३७ हजार ९८९ रुपैयाँ भाडा तिर्ने उल्लेख छ । उक्त भाडा प्रत्येक वर्ष १० प्रतिशतले बढ्ने जनाइएको छ । नेपाल सरकारको स्वामित्व रहेको जग्गामा पक्की भवन बनाउन नपाउने अस्पतालले जनाएको छ ।

त्यस्तै, दोस्रो पक्षले भाडामा प्रयोग गरेको उक्त जग्गा पहिलो पक्षले लिन चाहेमा तीन महिनाको अग्रिम सूचना दिनुपर्नेछ । तर, महानगरले कुनै जानकारी नै नगराई अचानक टहरा हटाउन निर्देशन दिएपछि नर्भिकले उक्त निर्णय कार्यान्वयनमा लैजान नसकिने बताएको हो ।अध्यक्ष सिंहले यसका लागि अस्पताल कानूनी प्रक्रियामा जानसमेत तयार रहेको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

टिप्पणीहरू