फाइनलको निम्ति बंगलादेशसँग भिड्दै नेपाल

फाइनलको निम्ति बंगलादेशसँग भिड्दै नेपाल

साफ यू २० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशको सामना गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगा रंगशालामा खेल आज अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

यसअघिका दुई खेलमा गोल नखाएको नेपालले भारतसँग ८–० को हार व्यहोरेपछि फाइनल यात्रा कठिन बनेको छ । फाइनल पुग्न नेपाललाई आजको खेल जितेर मात्र पुग्दैन गोल अन्तरसमेत फराकिलो हुनुपर्ने छ । नेपालले बंगलादेशलाई ५ गोलको अन्तरले पराजित गर्न सके फाइनलमा स्थान पक्का हुनेछ । तर, लयमा रहेको बंगलादेशलाई पराजित गर्न नेपाललाई सहज भने छैन ।

नेपालले बंगलादेशसँग बराबरी खेलेको अवस्थामा र भारत मालदिभ्ससँग पराजित भएमा नेपाल फाइनल पुग्नेछ । माल्दिभ्स र भारतले बराबरी खेलेको अवस्थामा नेपालले बंगलादेशलाई १–० को गोलले अन्तरले हराए पुग्छ ।

प्रतियोगितामा अपराजित रहेको बंगलादेश ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ भने समान अंक रहेका भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आजै साँझ सवा ७ बजे हुने भारत र मालदिभ्सबीचको समूह चरणको अन्तिम खेलपछि फाइनल पुग्ने दुई टिमको टुंगो लाग्नेछ ।

माल्दिभ्स र श्रीलंका यसअघि नै फाइनल यात्राबाट बाहिरिसकेका छन् ।

टिप्पणीहरू