फेसबुकको यात्रा ओरालोतिर,टिकटकको उकालोतिर

फेसबुकको यात्रा ओरालोतिर,टिकटकको उकालोतिर

विश्वमा इन्टरनेटको व्यापक प्रयोगसँगै सामाजिक सञ्जालको बाढी नै आएको छ । त्यो बाढीमा सीमित सञ्जाल बाहेक अरुको उपस्थिति क्रमशः बिलाउँदै गएको छ । लामो समयदेखि विश्वभर जनजिब्रोमा झुण्डिएको मार्क जुकरबर्गको फेसबुकको विस्तारमा ‘ब्रेक’ लागेको छ । स्थापनाको डेढ दशकसम्म एकछत्र उकालो लाग्दै आएको फेसबुकको यात्रामा यो वर्ष ओरालोपन देखिएको हो ।

यसको स्थापना अमेरिकाको म्यासाचुसेट्स राज्यको क्याम्ब्रिजमा सन् २००४ फेब्रुअरीमा उनै जुकरबर्गले गरेका हुन् । सन् २०२२ को प्रारम्भमा आइपुग्दा यो एप डाउनलोड गर्नेको संख्या ४१ करोड ६० लाख थियो । वर्षौंसम्म पहिलो नम्बरमा रहेको सामाजिक सञ्जाल यो वर्ष एकै पटक दुई स्थान पछाडि धकेलिएर तेस्रो नम्बरमा पुगेको छ ।

केही वर्ष अघिसम्म पछाडि रहेको चिनियाँ एप टिकटक अहिले संसारमा सबैभन्दा लोकप्रिय बनेको छ । ६५ करोड ६० लाखले यो एप डाउनलोड गरेका छन् । अहिले टिकटिक सामाजिक सञ्जालको लोकप्रियतामा पहिलो नम्बरमा छ । यो एपको स्थापना सन् २०१६ मा भएको हो । विश्वमा पाँच वर्षको अवधिमा टिकटकले सबैलाई उछिनेको छ ।

दोस्रो नम्बरमा इन्स्टाग्राम छ । यो एप डाउनलोड गर्नेको संख्या पनि ५४ करोड ५० लाख बढी छ । फेसबुकको हाराहारीमा चौथोमा ह्वाट्सएप र पाँचौमा टेलिग्राम देखिन्छन् । ह्वाट्सएप डाउनलोड गर्नेको संख्या ३९ करोड ५० लाख र टेलिग्रामको ३२ करोड ९० लाख रहेको बताइन्छ ।

छैठौं,सातौं,आठौं,नवौं र दशौंमा क्रमशः स्न्यापच्याट,जुम, मेसेञ्जर,क्यापकट र स्पोटीफाई देखिएका छन् । स्न्यापच्याट ३२ करोड ७० लाख, जुम ३० करोड, मेसेञ्जर २६ करोड ८० लाख, क्यापकट २५ करोड ५० लाख र स्पोटीफाई २० करोड ३० लाखले डाउनलोड गरेका छन् ।

स्थापनाको छोटो समयमा सर्वाधिक रुचाइएको टिकटक अगाडि आउनुमा यसले प्रयोगकर्ताको रुचीलाई ‘क्यास’ गरेको कारण प्रमुख हो । टिकटकले सूचना आदानप्रदानसँगै मनोरञ्जनको भरपूर आनन्द दिने भएपछि विश्वका सामाजिक सञ्जाल प्रयोगकर्ता यसतर्फ आकर्षित भएका हुन् ।

आफ्नो प्रतिभा देखाउनुको अलावा संसारभर के कुरा र विषय ट्रेन्डिङमा छ भनेर थाहा पाउन सकिने सबैभन्दा सजिलो माध्यमका रुपमा रहेकोले अहिले टिकटक नै चल्तीको एप बनेको छ । यो सन् २०१८ देखि हालसम्म विश्वभर सबैभन्दा धेरै डाउलोड गरिएको एप पनि हो ।

यसमा फेसबुकमा जस्तो अनुरोध पनि पठाउन नपर्ने,लाइक,कमेन्ट नगरे पनि आफ्नो अकाउन्टमा सबै खालका भिडियो र जानकारीमूलक सामग्री हेर्न सकिने भएकाले डाउलोडकर्ता ह्वात्तै बढेको बताइन्छ ।

टिप्पणीहरू