एनआरएनए महासचिवविरुद्ध प्रहरी गुहार्दै अध्यक्ष

एनआरएनए महासचिवविरुद्ध प्रहरी गुहार्दै अध्यक्ष

संघको फेसबुक पेज ह्याक गरी सामाजिक विखण्डन ल्याउन उद्यत भएपछि एनआरएनए युके महासचिव खुशी लिम्बूविरुद्ध बेलायती प्रहरीमा साइबर क्राइमको उजुरी परेको छ । एनआरएनए युके अध्यक्ष प्रेम गाहामगरले सोमबार २७ जुनका दिन अल्डरसटस्थित ह्याम्पसायर कन्सटबुलरीमा लिम्बूविरुद्ध उजुरी दिएका हुन् ।

महासचिव लिम्बूले डेटा प्रोटेक्सन एक्ट (२०१८) र जिडिपिआर उल्लंघन गर्दै एनआरएनए युकेको पब्लिक फेसबुक पेज ह्याक गरी १७७ जना सदस्यको गोप्य व्यक्तिगत विवरण, आइडी नम्बर र विना सहमति अध्यक्षको हस्ताक्षर र इमेलसहितका जानकारी सार्वजनिक गरेको आरोप उजुरीमा छ ।

उजुरीमा अध्यक्ष गाहामगरले बेलायतका ५२९ भन्दा बढी नेपाली तथा गोर्खा संगठनहरूको साझा च्यारिटी संस्था एनआरएनए युके सदस्यहरूको सुरक्षा गर्नु आफ्नो दायित्व भएको जनाउँदै निज लिम्बूले आफ्नो काम, कर्तव्य र प्रतिष्ठामा समेत आँच ल्याउने काम गरेकाले लिम्बूमाथि साइबर अपराधमा अनुसन्धान गरी उनीविरुद्ध शीघ्र कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

संघको फेसबुक पेज व्यवस्थापन गर्ने जिम्मा प्रवक्तालाई हुने भएपनि यसको एडमिनमा रहेका अन्य कार्यकारी सदस्यहरू सबैलाई महासचिव खुशी लिम्बूले हटाएर एनआरएनए युकेको विधानविपरीत आफ्नो निजी स्वार्थमा उक्त पब्लिक पेज प्रयोग गरेको पनि उजुरीमा छ ।

सामाजिक सञ्जालमा लिम्बूका क्रियाकलापले नेपाली समुदाय र सदस्यहरूभित्र भ्रम र अन्योलपूर्ण वातावरण सिर्जना गरेको पनि स्मरण गराइएको छ । एनआरएनए युके बेलायतको नेपाली समुदायलाई एकत्रित गरी आफ्नो उद्देश्यमा अगाडि बढिरहेका बेला महासचिव लिम्बूले समाज खल्बल्याउने गरी गैर कानुनी गतिविधि गरेको निश्कर्षसहित अध्यक्ष प्रेम गाहामगरले उनलाई बेलायतको कानुनअनुसार कारबाहीको माग गरेका छन् ।

टिप्पणीहरू