अमेरिकालाई पत्र लेख्नै अलमल

अमेरिकालाई पत्र लेख्नै अलमल

प्रधानसेनापति सहितका उच्च सैनिक अधिकृत यतिबेला अमेरिकामा मात्रै छैनन्, दुई कुरामा उनीहरुको व्यापक चासो छ । एक– एसपिपी विवादमा दिनुपर्ने चित्तबुझ्दो जवाफ । अर्को– हतियारको भुक्तानी ।

जतिबेला तत्कालिन सेनापति राजेन्द्र क्षत्रीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा सहभागी हुनेबारे अमेरिकी सरकारलाई पत्राचार गरेका थिए, त्यो तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रीको हैसियतमा दिएको आदेशानुसार भएको भनी त्यसबेलाका रक्षा सचिव ईश्वरी पौडेलले जनआस्थासँगको अन्तर्वार्तामा बताइसकेका छन् ।

अहिले मुश्किल परेको छ, मित्रराष्ट्र अमेरिकालाई के भनेर जवाफ दिने ? यसैको उपाय खोज्दै पत्रको भाषा मिलाउन अस्ति सोमबार प्रधानमन्त्री कार्यालयमा मुख्य सचिव शंकरदास वैरागी, रक्षा सचिव किरणराज शर्मा र कामु प्रधानसेनापति बालकृष्ण कार्की दिनभर जुटेका थिए । त्यसो त वर्तमान सेनापति प्रभुराम शर्मा त्यतिबेलाका सेनापति राजेन्द्र क्षत्रीसँग उतै सल्लाह गर्ने गरी यतिबेला अमेरिका पुगेका छन् ।

उनीसँगै लेबनान र सिरिया गएका रक्षासचिव किरण स्वदेश फर्किए । अहिले सरकारले पत्राचार गरी फिर्ता लिने भनेको एसपिपीको मामिला कसरी टुंग्याउने भनेर प्रधानमन्त्री कार्यालय र परराष्ट्रसँग निरन्तर सम्पर्कमा छन् । परराष्ट्रको दुःख अर्कै छ । दुईवटा संसदीय समितिले त्यससम्बन्धी जम्मै कागजपत्र पठाइदिनु भनेर पुर्जी काटेको छ । राज्यका निर्देशक सिद्धान्त र अन्तर्राष्ट्रिय सम्बन्ध समितिबाट आएका चिठीअनुसारका सबै कागज परराष्ट्रसँग छैन ।

ती दस्ताबेज पठाउन शुक्रबारसम्मको म्याद थियो, अहिलेसम्म पठाइएको छैन । प्रधानसेनापति स्वदेश फर्किएका छैनन् । त्यतिबेला सही गर्ने र अहिले बचाउ गर्ने दुवै उतै छन् । त्यसबारे जानकारी र अभिलेख राख्ने सेनाको नीति, योजना महानिर्देशनालयका जर्नेल अशोक सिग्देललाई पनि अमेरिका लगिएको छ ।

अर्कातिर, अमेरिका भ्रमणमा रहेको सैनिक टोलीलाई त्यहाँको हतियारमा निकै चासो छ । एकातिर, केपी ओली सरकारले दुई वर्षअघि नै सम्पूर्ण रकम भुक्तानी गरेर पनि अहिलेसम्म हतियार आइपुगेको छैन । त्यसबेला १० हजार थान एम– १६ हतियार खरिद गर्न टीटीमार्फत दुई अर्ब १९ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको थियो । अहिले फेरि हतियारकै लागि दुई करोड डलर अग्रीम भुक्तानी प्रक्रिया अगाडि बढाइएको छ ।

उताबाट भुक्तानी पठाउन प्रधानसेनापतिहरुको टोलीले तारन्तार फोन गर्दै दबाब दिइरहेको राष्ट्रबैंक स्रोतले जनाएको छ । अघिल्लो भुक्तानीबारे महालेखाले रक्षा मन्त्रालयको नाममा बेरुजु निकालेको छ । फेरि अर्को लटको पैसाको ताकेता हुँदा कर्मचारीहरू के गर्ने, के नगर्ने भनेर अलमलमा परेका छन् । अहिले गर्नुपर्ने भनिएको भुक्तानीको म्याद पुससम्म (डिसेम्बर २०२२) छ । सेनाको तीव्र दबाबपछि भुक्तानीको प्रक्रिया मन्त्रिपरिषद्बाट अगाडि बढिसकेको छ ।

रुखो स्वभाव

सैनिक प्रवक्ता नारायण सिलवालको रुखो स्वभावका कारण एकातिर सञ्चारकर्मी रुष्ट छन् भने उनले त्यस्तो व्यवहार किन देखाइरहेका छन् भनेर जंगी अड्डामा चर्चा पनि हुने गरेको छ । त्यही भूमिकामा रहेका सन्तोषबल्लभ पौडेल अहिले शान्तिसेना निर्देशनालयमा छन् । उनले सात अर्बको सामान किन्ने प्रक्रिया अगाडि बढाइसके । नारायणको पनि पत्रकारसँग मुखमुखै लाग्ने र कारवाहीस्वरुप त्यहाँबाट तानिएर मालदार ठाउँमा जाने दाउ भएको चर्चा छ ।

सन्तोषबल्लभकी पत्नी श्रीमती संघमा सचिव भएको नाताले सेनापतिपत्नीसँग निकट छन् । विदेशमा तैनाथ पल्टनको अनुगमन गर्नका लागि सैनिक सचिव वा संगठनको जर्नेल जानुपर्नेमा समारोह हेर्ने यम सापकोटालाई लगेका छन् । समारोहको जर्नेललाई कल्याणकारीको खर्चमा विदेश लैजाने कुरा अस्वाभाविक मानिन्छ ।

किनभने उनले शिवरात्रि, घोडेजात्रा, फूलपाती हर्षबढाइँजस्ता कार्यक्रम चलाउने हो । विदेश मिशनमा सिपाहीको समस्या हेर्ने हो भने संगठनको जर्नेल कुमारबाबु थापा वा अधिकृतको समस्या हेर्ने हो भने गौरव केसी जानुपथ्र्यो । तर, २८ बेसिकको जिग्री भएका सन्तोषबल्लभले सापकोटालाई लगेका छन् ।

१ बाहिनी बालाजु बस्दाकै जस्तो छुद्र स्वभाव देखाएर अन्यत्र सरुवा हुन खोज्ने नारायण सिलवाल काँठे हुन्, उद्दण्ड स्वभावका । सेनामा उनको विकासक्रम पनि अस्वभाविक छ । रुक्माङ्द कट्वालको कार्यकालमा उनका भतिजो सानुरामलाई नियम मिचेर ३७ वर्षको उमेरमा स्टाफ कलेज कोर्ष गराइएको थियो । जबकि ३५ वर्ष नकटेको अफिसरले मात्रै उक्त कोर्ष गर्न पाउने नियम छ । ‘घाटे टोली’ भनेर चिनिने २७ बेसिकको उक्त टोलीकै हुन्, नारायण सिलवाल पनि ।

विदेशको लर्को

उता सेनाका कल्याणकारी, बन्दोबस्तीसहितका ‘भन्सार’ भनिने अड्डामा जम्मा पारिएका कोशेली बोकाएर सन्तानलाई विदेश पठाउने क्रम जारी नै छ । राजेन्द्र क्षत्री, विज्ञानदेव पाण्डे, आनन्द अधिकारीका सन्तान विदेशमा छन् । ताराध्वज पाँडेले सम्भार रथी हुँदा कमाएको पैसामा सन्तानलाई अमेरिका भिœयाएका छन् । प्रज्जवल समशेर, गौरव तण्डुलका सन्तान पनि बाहिरै ।

त्यसमध्ये गौरवसमशेरको ससुराली नै भारत हो । छत्रमानको एकजना छोरा देशबाहिर छन् । रुक्माङ्द कटुवालकी छोरी पनि बाहिरै । यता सिपाहीलाई राम्रो बन्दोबस्तीको सामान नदिने, आफ्नो सन्तानलाई कल्याणकारी र बन्दोबस्तीको पैसामा विदेश पठाउने काम रोकिनुपर्ने कतिपय सैनिक अधिकारी बताउँछन् ।

चीनमा सि चिनफिङले सरकारी सेवाका कर्मचारीको सन्तानलाई विदेश लैजाने पैसामा रोक लगाएका छन् । उनले सबै राष्ट्रसेवकको सम्पत्तिको एक एक रिपोर्ट राखेका छन् । पढ्न गएको भए को – कसरी गए भन्ने लेखाजोखा राखिन्छ । आखिर कसैका सन्तानलाई विदेशले विद्यावारिधि दिँदा वा भिसा दिँदा पनि बाबुआमाको हैसियत हेरेर दिने हो ।

नेपालको हकमा कि विदेशबाट पैसा कमाएर ल्याऊ भन्नुपर्छ । नत्र, यहाँको पैसा लुकाउन सन्तानलाई विदेश पठाउने काम रोक्नुपर्ने आवाज उठ्न थालेको छ । अमेरिकामा १० मिलियन डलर लिएर गयो भने ग्रीनकार्ड पाइने व्यवस्था छ ।

टिप्पणीहरू