सूचना लुकाउने मेयरलाई १० हजार जरिवाना

सूचना लुकाउने मेयरलाई १० हजार जरिवाना

राष्ट्रिय सूचना आयोगले आवश्यक सूचना नदिने रौतहटको राजपुर नगरपालिकाका मेयरलाई कारबाही गरेको छ । स्थानीय एकामुल हकलाई सूचना नदिने मेयर बैंजु ठाकुरलाई आयोगले १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

राजपुर नगरपालिका १ घर भएका हकले कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेण्टिनमा रहेका नागरिकको संख्या मागेका थिए । उनले प्रतिव्यक्ति खर्च र क्वारेण्टिनमा बसेकाकोे निम्ति खरिद गरेको कम्बलको मूल्यबारे प्रमाणित प्रतिलिपी माग गरेका थिए । तर, उक्त जानकारी नगरपालिकासँग पटक पटक माग्दा पनि हकले नपाएका हुन् ।

त्यसपछि सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार नगरपालिकासँग माग गरेको सूचना र विवरण नपाएपछि युवकले कानुनअनुसार आयोगमा मेयर र सूचना अधिकारीलाई विपक्षी बनाएर पुनरावेदन दर्ता गराएका थिए ।

त्यसपछि मेयरलाई सूचना दिन आग्रह गर्दै पटक–पटक आदेश दिए पनि अटेर गरेको भन्दै उनलाई कारबाही गरिएको आयोगले जनाएको छ । मेयर ठाकुरले सूचना नदिएर संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लंघन गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले उनलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा ९१० बमोजिम १० हजार रुपैयाँ जरिवाना गर्दै सूचना उपलब्ध गराउन आदेश दिएको छ ।

टिप्पणीहरू