भोलिपल्टै सेनाको ह्याङ्गरबाट हेलिकप्टर ‘गायब’

भोलिपल्टै सेनाको ह्याङ्गरबाट हेलिकप्टर ‘गायब’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक छेउमा रहेको नेपाली सेनाको ह्याङगरबाट एउटा सुन्तला रंगको हेलिकप्टर रातारात हटाइएको छ । गत बिहीबार बिहान जनआस्थाले प्रकाशित गरेको ‘सेनाको ह्याङगरमा कसरी छिर्यो अन्नपूर्ण ?’ शीर्षकको समाचार र त्यसवारे सैनिक प्रवक्ताको गैह्रजिम्मेवार जवाफपछि उक्त हेलिकप्टर त्यहाँबाट एकाएक हटाइएको हो ।

विशेष अवस्थामा बाहेक सेनाको ह्याङगरमा निजी क्षेत्रका कुनै पनि विमान नराखिने अन्तर्राष्ट्रिय उड्डयन नियम छ । त्यसविपरित हुने गरी सेनाको हेलिकप्टर सँगै देखिएको अन्नपूर्ण हेलिकप्टरको सुन्तला रंगको हेलिकप्टर दुई सातादेखि त्यहाँ राखिएको विषयमा जनआस्थाले सैनिक प्रवक्ता नारायण सिलवालसँग जिज्ञासा राख्दा उनले रुखो जवाफ दिएका थिए ।

तर अहिले उक्त हेलिकप्टरलाई त्यहाँबाट झिकेर रनवेको पूर्वी भागमा रहेको बुध्द एअरको ह्याङगर नजिकै पुर्याइएको छ । जनआस्थाले सेनाको ह्याङगरमा निजी क्षेत्रको हेलिकप्टर हप्तौँसम्म राख्न कसले अनुमति दिएको थियो भन्ने जिज्ञासामा पनि प्रवक्ता सिलवालले अनभिज्ञता प्रकट गरेका थिए ।

तर त्यसबारे समाचार प्रकाशित भएपछि उक्त कम्पनीका एक जना सेयरहोल्डर तथा पूर्व सैनिक अधिकृत रविन्द्र बस्नेतले आफ्नो कम्पनीलाई सेनाले ह्याङ्गर प्रयोग गर्न वैधानिक पत्र दिएको बताएका छन् । उनले आइतबार राति भने,‘अरु भनेको त्यस्तै हो,हामीलाई ह्याङगरमा हेलिकप्टर राख्न सेनाले बकाइदा पत्र दिएको छ ।’

“हेलिकप्टर कम्पनीका सञ्चालकहरुले नै सेनाले आफ्नो कम्पनीलाई पत्र दिएको बताउँदा पनि उक्त पत्र कसले दियो र किन दियो भन्नेबारे सेनाले आवश्यक छानबिन नगर्ने हो भने भोलिका दिनमा यस्तो प्रवृत्ति बढ्दैन भन्ने के ग्यारेण्टी ?”

बस्नेतको उक्त दाबीपछि नेपाली सेना र उसको प्रवक्ता पुनः अर्को विवादमा तानिएका छन् । एक त सेना आफैं संवेदनशील निकाय हो । अर्को, सैनिक वायुयान मर्मत गर्ने ह्याङगर सुरक्षाको दृष्टिकोणले झन् संवेदनशील क्षेत्र हो । त्यस्तो ठाउँमा निजी क्षेत्रको विमान,हेलिकप्टर मर्मत तथा एसेम्बल्ड गर्न दिनुलाई नागरिक तथा सैनिक उडानको दृष्टिकोणले सुरक्षित मान्न नसकिने उड्डयन क्षेत्रका विज्ञहरुको तर्क छ ।जनआस्थासँगको कुराकानीमा सहज ढंगले आफूलाई उक्त विषय थाहा नभएको,भोलिपल्ट कार्यालय समयमा सम्पर्क गर्न आग्रह गर्ने सैनिक प्रवक्ता तथा सेनाले अन्नपूर्ण हेलिकप्टरको हर्ताकर्ता रहेका सेनाका पूर्वअधिकृतहरुलाई कुन आधारमा ह्याङगर प्रयोगको निम्ति पत्र दियो ? भन्ने विषय थप पेचिलो बनेको छ । संवेदनशील विषयमा जिज्ञासा राख्दा उल्टै जनआस्था प्रतिनिधिलाई ‘त्यसो भए किन मलाई फोन गरेको ?’ भन्ने सैन्य प्रवक्ताले उक्त पत्रको बारेमा यथार्थ जानकारी गराउन पर्छ वा पर्दैन ?

सेनाले नियमानुसार सुन्तला रंगको निजी क्षेत्रको हेलिकप्टरलाई ह्याङगर प्रयोग गर्न दिएको थियो भने किन उक्त हेलिकप्टरलाई लगत्तै त्यहाँबाट हटाइयो ? हेलिकप्टर कम्पनीका सञ्चालकहरुले नै सेनाले आफ्नो कम्पनीलाई पत्र दिएको बताउँदा पनि उक्त पत्र कसले दियो र किन दियो भन्नेबारे सेनाले आवश्यक छानबिन नगर्ने हो भने भोलिका दिनमा यस्तो प्रवृत्ति बढ्दैन भन्ने के ग्यारेण्टी ?

भर्खरै स्थापित उक्त हेलिकप्टर कम्पनीमा रामेछाप काँग्रेस सभापति कान्छाराम तामाङ र सेनाका पूर्वपाइलट लेफ्टिनेन्ट कर्णेल प्रमोद लामालगायतको मुख्य लगानी रहेको छ । त्यसमा पूर्वसैन्य अधिकृत रविन्द्र बस्नेतहरुको समेत सेयर लगानी रहेको बताइन्छ । त्यसैगरी उक्त समूहमा तीन तारे पूर्व जर्नेल सीबी गुरुङका छोरासमेत स्वयमसेवकको रुपमा छिरेको चर्चा पनि छ ।

सुन्तला रंगको हेलिकप्टर एअरबस ३५० सिरिजको हो । बाकसमा हालेर ल्याइएको हेलिकप्टरलाई त्यहाँ जोड्ने काम भएको हो । कलकत्तासम्म उक्त बाकस पानी जहाजमा आएको थियो । त्यहाँबाट वीरगञ्जसम्म रेलमा र त्यसपछि गाडी चढेर काठमाडौं आएको हो । त्यहि हेलिकप्टरलाई सेनाको ह्याङगरमा एसेम्बल्ड गरिएको बताइन्छ ।

टिप्पणीहरू