नेपालको फिफा वरीयता खस्कियो

नेपालको फिफा वरीयता खस्कियो

नेपाली राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा आठ स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १७६औँ स्थानमा छ । जुन पछिल्लो वरीयताभन्दा आठ स्थान तल हो । नेपाल यसअघि वरीयताको १६८औँ स्थानमा थियो ।

यो महिना नेपालले एएफसी एसियन कप छनोटमा तीन खेल खेलेको थियो । पहिलो खेलमा जोर्डनसँग २–० गोलले पराजित भएको नेपाल दोस्रो खेलमा आयोजक कुवेतसँग ४–१ गोलले हारेको थियो । तेस्रो खेलमा भने निकै खराब प्रदर्शन गरेको नेपाल इन्डोनेसियासँग ७–० को अन्तरमा पराजित भएको थियो ।

वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौँ स्थानमा इंग्ल्याण्ड छन् । दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा रहेको नेपालको एसियाली वरीयताको ३५औँ स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा भने भारत छ । भारत वरीयताको एक सय चार स्थानमा छ ।

यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५६औँ स्थानमा, चौथो स्थानमा रहेको भुटान एक सय ८६औँ, पाँचौँ स्थानमा रहेको बंगलादेश एक सय ९२औँ, छैटौँ स्थानमा रहेको पाकिस्तान एक सय ९६औँ स्थानमा र सातौँ स्थानमा रहेको श्रीलंका दुई सय सातौँ स्थानमा छ ।

टिप्पणीहरू