प्रधानमन्त्री भेट्न पूर्वपञ्चहरु बालुवाटारमा

प्रधानमन्त्री भेट्न पूर्वपञ्चहरु बालुवाटारमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । लिङ्देनसहित पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहोरा, उपाध्यक्ष बुद्विमान तामाङलगायत नेताहरु ज्ञापनपत्र बुझाउन बालुवाटार गएका हुन् ।

बालुवाटार पुगेका उनीहरुले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउँदै २२ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझाएका थिए । राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासनसँगै बढ्दो महँगी नियन्त्रण, किसानलाई समयमा मल, बिऊ उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ ।

साथै, राप्रपाले कालोबजारी नियन्त्रण, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भइरहेको श्रृङखलाबद्ध मूल्यवृद्धि खारेज, भ्रष्टाचार नियन्त्रण, इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपीको व्यवस्था, भूमिहीन तथा घरबारविहीन सुकुम्बासी समस्याको स्थायी समाधान गर्नुपर्नेलगायत माग पनि प्रधानमन्त्रीसमक्ष राखेको छ ।

राप्रपाले आज देशभरबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको थियो । पार्टीका ७७ वटै जिल्ला समितिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र पठाएका छन् । काठमाडौँको हकमा केन्द्रीय नेताहरु नै बालुवाटार गएका हुन् ।

टिप्पणीहरू