काठमाडौँका मतदाताको एउटै स्वर, ‘सक्षम व्यक्तिलाई भोट हाल्छौँ’

काठमाडौँका मतदाताको एउटै स्वर, ‘सक्षम व्यक्तिलाई भोट हाल्छौँ’

स्थानीय तह निर्वाचन आउन अब पाँच दिन मात्र बाँकी छ । अहिले देश चुनावमय भएको छ । विभिन्न राजनीतिक दलका उम्मेदवार र नेता तथा कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन् । तर, विगतका चुनावभन्दा यसपटकको चुनावमा मतदाताहरु त्यति उत्साहित देखिँदैनन् ।

उनीहरुलाई जुनसुकै पार्टीका नेतालाई भोट हाल्दा पनि जनताको अवस्था उस्तै र अझ गिर्दो रुपमा अघि बढेको छ । विगतका जनप्रतिनिधिको क्रियाकलापबाट असन्तुष्ट मतदाताहरु अब नयाँ अनुहार र जनताको आवश्यकता परिपूर्ति गर्ने उम्मेदवारलाई भोट हाल्ने पक्षमा देखिन्छन् ।

उनीहरुमा अब पनि चुनाव जित्नकै लागि घर घरमा अनेकौं आश्वासनका पोका बोक्दै आइपुग्ने जनप्रतिनिधिहरुप्रति सहज रुपमा पग्लिने कुनै ठाउँ छैन । उनीहरुका सानातिना कुराबाट प्रभावित नहुने अवस्था देखिएको हो । यसो हुनुमा मतदाताहरु शिक्षित र आफैं निर्णय लिनसक्ने भएकाले विभिन्न सर्वेक्षणको निश्कर्षमा उल्लेख छ । अहिले काठमाडौँ महानगरपालिकाका मतदाताहरु राजनीतिक दलप्रति निकै कठोर देखिन्छन् । तर, आगामी चुनावी परिणाम नआउञ्जेल यसै भन्न नमिल्ने स्थिति पनि बनेको छ ।

‘सक्षम व्यक्तिलाई भोट हालिन्छ’

काठमाडौंको प्रर्दशनीमार्ग नजिकै घर भएकी सन्ध्या रेग्मीलाई विगतको जस्तो यस पटकको चुनावमा त्यति उत्साह छैन । चुनाव आउन थोरै दिन मात्र बाँकी भए पनि कुन उम्मेदवारलाई भोट दिने भन्ने निर्णय गर्न नसकेको उनी बताउँछिन् । देश र जनताको हित हुने काम जसले गर्छ उसलाई नै मत दिने पक्षमा रहेको उनले सुनाइन् ।

विगतका निर्वाचनमा थुप्रै नेतालाई जिताए पनि अहिलेसम्म कुनै मन छुने काम गर्न नसकेको गुनासो गर्दै उनले भनिन्, ‘हामीले विगतका चुनावमा धेरैलाई भोट दियौं, खै उहाँहरुले अहिलेसम्म हाम्रा लागि केही गरेको देखेनौं । जसलाई जितायौं, उहाँहरु अहिले हामीसँग राम्रोसँग पनि बोल्नुहुन्न । अरु के कुरा गर्नु र ? त्यसैले यस पटक राम्रो काम गर्ने जनप्रतिनिधिको खोजीमा छौँ । हामीलाई ठूला कुरा होइन्, काम चाहिएको छ ।’

उनले अघिथप्दै भनिन्, ’अहिले देशमा रोजगार नपाएर हाम्रा छोराछोरी विदेश जानुपरेको छ । अब हामी जनता पहिलेको जस्तो कुरामा भुल्ने छैनौँ । हामी बुझ्ने भईसकेका छौँ । यो निर्वाचनमा काठमाडौँको विकास गर्न सक्ने सक्षम र इमान्दार प्रतिनिधिलाई भोट दिन्छौँ ।’

यस्तै, काठमाडौंकै अर्का मतदाता मुकुन्दराज क्षेष्ठको विचार पनि उस्तै छ । पुतलीसडकमा कस्मेटिक पसल सञ्चालन गर्दै आएका उनले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सक्ने उम्मेदवारलाई भोट हाल्ने बताए । अघिल्लो जनप्रतिनिधिभन्दा असल विचार, जनताको हितमा काम गर्ने, आधुनिक कुरामा राम्रो ज्ञान भएको जुझारु युवालाई काठमाडौं महानगरमा जिताउने पक्षमा रहेको उनको भनाइ छ ।

फोहोर नउठ्दा काठमाडौं शहर कुरुप भएको बताउँदै उनले भने, ’हामी आफ्नो मान्छेलाई भन्दा राम्रो मान्छेलाई मत दिने पक्षमा छौं । चुनावको समयमा मात्र देश विकासका कुरा गर्ने तर जितेपछि ती सबै भुलेर आफ्नो व्यक्तिगत सुख सयलमा रमाउनेहरुले अब भोटको आश नगरे हुन्छ । हामी त्यस्तालाई प्रथामिकतामा राख्छौँ, जसले आफ्नो होइन देशको चिन्ता गरोस्, देशभित्रै रोजगारी बढाउने कार्य गरोस् ।’

यता, काठमाडौंकै कपुरधारा निवासी कपिल मुनिकार पहिलेका निर्वाचन जसरी नै यसपटकको निर्वाचनमा मत खसाल्ने तयारीमा छन् । विगतका निर्वाचनमा भोट हालेर विजयी भएका प्रतिनिधिहरुले थोरै भए पनि राम्रो काम गरेको उनले बताए । उनले भोट हाल्ने आफ्नो मनदेखि नै रुची नभएको भन्दै देशको नागरिक भएको हैसियतले चुनावमा एउटालाई मत दिन बाध्य भएको अवस्था उल्लेख गरे ।

उनले भने, ‘जुनसुकैलाई मत दिए पनि हाम्रा लागि कसैले केही गर्ने होइन । यो पहिले देखिनै भोग्दै र देख्दै आएको कुरा हो । देशमा बेरोजगारी मौलाएको छ । हजारौं युवाहरु विदेश पलायन भएका छन् । महँगी बढेर उस्तै छ । यत्ति हो अब चाँही अलि राम्रोलाई अवसर दिनुपर्छ ।’

अर्चना रेग्मीेको काठमाडौँ न्यूप्लाजामा घर छ । उनी पनि त्यहीँ कै मतदाता हुन् । एउटा सानो व्यापार व्यावसायक गदैँ उनले आफ्नो दैनिकी चलाई रहेकी छन् । उनको व्यापार राम्रै चलेको बताउँछिन् । उनले भनिन्, ‘अहिले देशमा चुनाव लागेको छ ।’

चुनाव लागेकाले नेता, कार्यकर्ताहरुलाई घरदैलो कार्यक्रममा भ्याइ नभ्याइ भएको छ । अन्य स्थान जस्तै अर्चनाको घरमा पनि थुप्रै नेता कार्यकर्ताहरु भोट माग्न पुगेका छन् । तीमध्ये उनलाई अहिलेसम्म कुनै दलको उम्मेदवार मन नपरेको बताइन् । ‘अहिलेका उम्मेदवारहरुको रुपमा पनि कता कता पहिलेकै जनप्रतिनिधिहरुको जस्तो अनुहार झल्किने गरेको छ,’ उनले भनिन् ।

‘थुप्रै नेता तथा कार्यकर्ताहरु हाम्रो घरमा भोट माग्न आइसकेका छन् । तर पनि उहाँहरु पहिले कै जनप्रतिनिधि जस्तो हुने हुन की भन्ने लागेको छ,’ उनले भनिन्, ‘कसलाई मत दिने, ’कसलाई नदिने अब यो हेर्न बाँकी छ । हेरौं अन्तिम दिनसम्म कोही मनले खाएको मान्छे आउँछ की ? तर भोट भने पहिले जस्तो त्यत्तिकै दिने छैनौं ।’

उता लैनचौर निवासी शम्भु खड्गीको पनि अन्य मतदाताको जस्तै सोच पाइन्छ । किराना पसल गर्दै आएका उनले भ्रष्टाचार नगरी न्यून लागतमा जनहितका पक्षमा काम गर्ने व्यक्तिलाई भोट दिने विचार सुनाए । यसअघिका प्रतिनिधिहरुलाई देश र जनताप्रति अलिकति पनि चिन्ता नभएको भन्दै उनले आगामी चुनावमा निर्वाचित हुने जनप्रतिनिधिहरुलाई त्यस्तो कार्य नगर्न सुझाव दिएका छन् ।

कुनै पनि पार्टीका नेताहरुप्रतिको विश्वास घट्दै गएको बताएका उनले भने, ’हाम्रो पक्षमा काम गर्ने हुनुपर्छ । जुनसुकैलाई पनि हामी भोट दिन तयार छौँ । होइन भने गफ मात्रै गर्ने नेताहरुलाई हाम्रो तर्फबाट एक मत पनि जाँदैन ।’

निर्वाचित हुनुभन्दा पहिले विकासका कुरा गर्नेहरु पछि एक सय ८० डिग्री उल्टोमा पुगेको उनको भनाइ छ । ’अहिले काठमाडौँको अवस्था चिन्ताजनक छ । जताततै भद्रगोल छ, सडकपेटी अस्तव्यस्त, फोहोर, धुवाँधुलो उस्तै छ,’ उनले भने, ‘खै, हामीले यसअघि पनि जिताएर पठाएकै हौं । उहाँहरुले केही गर्नुभएको छैन ।’

उनले जातीयभन्दा राष्ट्रिय हिसाबले मतदान गर्ने बताए । ‘देश विकास भएको भए आज काठमाडौँमा ठूला मेट्रोरेलहरु हेर्ने मान्छेको भीड लाग्ने थियो, विडम्बना अहिलेको भीड फरक खालको छ,’ उनले भने ।

टिप्पणीहरू