काठमाडौंबाट जापान उडानको भाडा डेढ लाखबढी
नेपाल वायुसेवा निगमले तोकिएको भन्दा बढी भाडा लिने ट्राभल एजेन्सीलाई कारवाही गर्ने बताएको छ । काठमाडौंबाट जापानको नारिता सहरमा सातामा दुई उडान गर्दै आएको निगमले आगामी आइतबारदेखि तीन उडान गर्न लागेको जानकारी गराएको हो ।
नारिताकालागि अब आइतबार, मंगलबार र शुक्रबार उडान हुनेछ । जापान सरकारले लगाएको पछिल्लो नियमानुसार आइतबार र मंगलबार १ सय ४० तथा शुक्रबार १ सय २० यात्रु मात्र बोक्न पाइन्छ । निगमले जारी गरेको विज्ञप्तिमा यात्रुको चाप र मागको तुलनामा सिटको उपलब्धता न्यून रहेकाले भाडादर महँगो भएको दाबी गरिएको हो ।
काठमाण्डौं नारिता सेक्टरमा करसहित बिजनेश क्लासमा एक लाख ५२ हजार तथा इकोनोमी क्लासमा एक लाख १९ हजार भाडादर कायम गरिएको छ । निगमले तोकेकोभन्दा बढी मूल्यम टिकट बिक्री गरेको गुनासो आएकाले त्यस्तो पाइएमा नियमअनुसार कारवाही हुने बताइएको छ । यात्रुहरुले बढी भाडा तिरेको भए प्रमाणसहित उजुरी गर्न आग्रह गरिएको छ ।
टिप्पणीहरू