आज तेल लगाउने र निम पत्ता चपाउने यस्तो छ कारण

आज तेल लगाउने र निम पत्ता चपाउने यस्तो छ कारण

हाम्रा अधिकाँश परम्परागत प्रचलनहरुलाई विज्ञानले व्यवहारिक प्रमाणित गर्दै गएको छ । पुर्खाले चलाएका धेरै नियम स्वास्थमैत्री भएको पाउन सकिन्छ । जसअन्तरगत आज परेको तेल लगाउने र निम पत्ता चपाउने प्रथालाई लिन सकिन्छ । वास्तवमा नयाँ बर्षको स्वागत गर्न भन्दै बनेको यो प्रचलनको पनि आफ्नै महत्त्व छ ।

हामी राजा बिक्रमादित्यले चलाएको विक्रम संवत् २०७८ को उत्तरार्धमा छौं । नयाँ बर्ष २०७९ लाई स्वागत गर्न जुटेका हाम्रा परम्परा भने अनौठा र वैज्ञानिक छन् ।

पुरातन सामाजिक मूल्य मान्यताका अनुसार एक संवतलाई बिदा गरी अर्को संवतलाई स्वागत गर्नुपूर्व हामीले विभिन्न रिवाजहरु आत्मसात गर्ने गर्छौँ । सोहीअनुरुप आज शरिरमा तेल लगाएर निमका पात चपाउने प्रचलन छ ।

हिन्दू धर्मका विभिन्न चाडपर्वमा पनि एक दिनअघि तेल लगाउने चलन छ । तिहार,होलीलगायतका चाडबाडमा यस्तो हुने गरेको पाइन्छ । शरिर, कपाल आदि स्थानमा तेल लगाउँदा चोखो भइने जनविश्वास नेपाली समाजमा कायमै छ ।

“निम छालासम्बन्धी रोग मात्र नभई भित्री शरीरका विभिन्न अंगहरु जस्तै मृगौला,मुटु,रगत लगायतलाई स्वस्थ राख्न सघाउ पुर्‍याउने बुटी भएको बताइएको छ । “

यसो त,तेल लगाउँदा मानव शरीरको बाहिरी भाग स्वस्थ रहने प्रमाणित समेत भएको छ । विगतका वर्ष जे जसरी बितेपनि नयाँ वर्ष स्वास्थ्य र सुखद तरिकाले बितोस् भनेर तेल लगाइने जान्नेहरु बताउँछन् ।

यता,नयाँ वर्षलाई स्वागत गर्न निमपत्ता चपाउनुका पनि धार्मिक र वैज्ञानिक दुवै कारण रहेका छन् । निमका पात चपाएर विगतका तीता पल बिर्सने र आगामी दिनमा मिठास् ल्याउने पुरातन मान्यता छ । आजका दिन निमका पात चपाएसङ्गै पुराना कमिकमजोरी तीतो पनका रुपमा निलिने जनविश्वास छ ।

तीतो अमृतका रुपमा परिचित निमका सयौं आयुर्वेदिक गुण छन् । चिकित्सा विज्ञानले पनि निमलाई ओखतीका रुपमा प्रयोग गर्न मिल्ने उत्तम वनस्पतिका रुपमा प्रमाणित गरेको छ । निम छालासम्बन्धी रोग मात्र नभई भित्री शरीरका विभिन्न अंगहरु जस्तै मृगौला,मुटु,रगत लगायतलाई स्वस्थ राख्न सघाउ पुर्‍याउने बुटी भएको बताइएको छ ।

परम्परागत महत्त्वका हिसाबले तेल लगाउने र निमपत्ता चपाउने दिनका रुपमा आजको दिनलाई माने पनि यी परम्परा मानिस स्वस्थ रहन आवश्यक रहेको प्रमाण विज्ञानले जुटाउँदै आएको छ ।

टिप्पणीहरू