बोल बोल, प्रष्ट बोल अनमोल

बोल बोल, प्रष्ट बोल अनमोल

नायक अनमोल केसी अर्काे अप्ठ्यारोमा परेका छन् । उनीमाथि ५ लाख ठगी गरेको उजुरी बोकेर निर्माताद्वय जयन श्रेष्ठ र रूपेश खड्गी महानगरीय प्रहरी परिसर, टेकु काठमाडौं पुगे । आरोप थियो, चलचित्र धुपौरेमा अभिनय गर्छु भनेर एडभान्स लगेको तर चलचित्र नखेलेको ।

प्रहरीले यो उजुरी आफ्नो कार्यक्षेत्रभन्दा बाहिर भएको भन्दै नेपाल चलचित्र निर्माता संघमा पठाइदियो । त्यहाँ दुवै पक्षलाई राखेर दुई पटक छलफल पनि भएको हो । तर, छलफल चल्दै गर्दा निर्माताद्वय जयन, रूपेश खड्की, निर्देशक सान्तेन भुटियाहरू अनमोलविरुद्ध उत्रिए । ३ असोजमै अनमोलले ‘धुपौरे’ को स्क्रिप्ट मन परेको भन्दै ५ लाख लिएका थिए । जम्मा ४० लाखमा डिल गरेको स्रोतको कथन छ । तर, ६ महिना बित्दासमेत समय दिएनन् । बरु सुनील थापाको लगानी, झरना थापाको निर्देशन र सुनील– झरनाकी छोरी सुहना नायिकाको भूमिकामा रहने गरी निर्माण भएको ए मेरा हजुर ४ मा अनुबन्धित भए । २० माघदेखि छायांकनमा जुटे ।

गत शुक्रबार मात्र चलचित्र ‘ए मेरो हजुर–४’ को छायांकनका लागि पोखरा पुगेका थिए । स्रोतका अनुसार मंगलबार मात्र काठमाडौं आइपुग्नेछन् । पेश्की रकम लिएर समय नदिँदा निर्माण पक्षलाई ३० लाख लागेको घाटा अनमोलले व्यहोर्नुपर्ने जयन र रूपेशहरूको माग छ । तर, अनमोलको कथन छ, स्क्रिप्ट चित्त बुझेन । अझै मिहिनेत गरेर राम्रो चलचित्र निर्माण गर्न सल्लाह दिएँ । तर, निर्माण पक्षले आजै सुटिङमा हिँड, भोलि नै हिँड भनेर कर गर्न थाल्यो । अनमोलकाअनुसार यही स्क्रिप्टमा काम गर्दिनँ एड्भान्स फिर्ता लैजानुहोस् भन्दा राजी भएनन् । न त स्क्रिप्ट नै परिवर्तन गर्न मञ्जुर भए । बरु यही बीच उनी अर्काे चलचित्र ‘पारस’मा अनुबन्धित भइसकेका छन् ।

टिप्पणीहरू