बुटवलबाट हराएका बच्चा बिर्तामोडबाट भेटिए,फुपाजुद्वारा अपहरण

बुटवलबाट हराएका बच्चा बिर्तामोडबाट भेटिए,फुपाजुद्वारा अपहरण

हिजो बिहान रुपन्देहीको सैनामैनाबाट हराएका बालबालिका भेटिएका छन् । हिजो एकैघरका दाजुबहिनीलाई आज बिहान प्रहरीले बिर्तामोडबाट नेपालगञ्जको गाडी चढ्ने क्रममा भेटाएको हो । सैनामैना वडा नम्बर ६ बस्ने प्रेम दहालका छोरा १२ बर्षीय प्रसिध्द दहाल र उनकी बहिनी ९ बर्षीया प्रसन्न दहाललाई सोही नगरपालिका वडा नम्बर ५ स्थित गुनाखर होटेलपछाडि बस्ने ३५ बर्षीय खेमबहादुर पौडेल क्षेत्रीले हिजो बिहान ९ बजे ललाइ फकाई लगेका थिए ।

अपहरण गर्ने क्षेत्री बच्चाका फुपाजु रहेको इलाका प्रहरी कार्यालय रन्यौराका इन्स्पेक्टर जीवन लामिछानेले बताउनुभएको छ । उहाँका अनुसार अपहरणमा परेका बालबालिकालाई झापाको बिर्तामोडमा देखेपछि इलाका प्रहरी कार्यालय अनारमनीले उद्दार गरेको हो । ती बालबालिकालाई खाना खुवाएर स्वास्थ्य परिक्षण गरिएको र रिपोर्ट सामान्य देखिएपछि घर पठाउन गाडी चढाइएको छ । छोराछोरी बिर्तामोडमा भेटिएपछि बुवा प्रेम दहाल आफै उनीहरुलाई लिन गएको पनि लामिछानेले जनआस्थालाई जानकारी दिनुभयो ।

“खेमबहादुर पौडेल क्षेत्रीले आफन्तहरुको फेक फेसबुक एकाउन्ट बनाएर आफ्नै श्रीमतीका नाङ्गा तस्बिरहरु राखेको भन्दै प्रेम दहालले मुद्दा हालेका कारण बच्चाको अपहरण भएको हो । “

दहाल दाजुबहिनीलाई बिर्तामोड पुर्याउने फुपाजुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ईप्रका अनारमनीले बालबालिकासहित फुपाजुलाई पनि पठाएको र बुटवल आएपछि थप अनुसन्धान गरिने उहाँले जानकारी दिनुभयो । घटना सैनामैनाको भएपनि जाहेरी भने इलाका प्रहरी कार्यालय बुटवलमा परेको छ । इप्रका रन्यौरामा परेका अधिकाँश मुद्दाको अनुसन्धान गर्न इप्रका बुटवलमा पठाइने गरेको पनि लामिछानेले बताउनुभयो ।

बच्चा अपहरणमा पर्नुको कारण साइबर क्राइमको मुद्दा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खेमबहादुर पौडेल क्षेत्रीले आफन्तहरुको फेक फेसबुक एकाउन्ट बनाएर आफ्नै श्रीमतीका नाङ्गा तस्बिरहरु राखेको भन्दै प्रेम दहालले मुद्दा हालेका कारण बच्चाको अपहरण भएको हो ।

केही समयअघि मात्र साइबर क्राइमको मुद्दामा इप्रका सालझण्डीबाट धरौटीमा छुटेर आएका उनले बच्चाको अपहरण गरेको रन्यौराका इन्स्पेक्टर लामिछानेले बताउनुभयो । उहाँका अनुसार बदलाको भावनाले क्षत्रीले दहाल दाजुबहिनीलाई उठाएका हुन् ।

टिप्पणीहरू