फाँसी दिए पनि फस्टाइरहने ?

  • प्रेमराज सिलवाल

प्रणालीगत र संस्थागत भ्रष्टाचार अन्यको तुलनामा डरलाग्दो हुुन्छ । दार्शनिक प्लेटोले आफ्नो पुस्तक रिपब्लिकामा ‘भ्रष्टाचारका लागि राजनीतिक संस्था पर्खाल पछाडिको वासस्थान जस्तै सुरक्षित हुने’ बताएर भ्रष्टाचारमा राजनीतिक संस्था र संरचनाको भूमिका दर्शाएका थिए ।

राज्य प्रणाली र सरकार वा सरकारी निकायका अख्तियारप्राप्त व्यक्तिले भ्रष्टाचार गर्छन् भने राज्यका अन्य निकायमा त्यसको दुष्प्रभाव पर्ने हुन्छ । कतिपय सामाजिक चेतना र सोच पैसा कमाउनु नै भ्रष्टाचार गर्नु भन्ने पनि रहेको देखिन्छ । तर, वास्तवमा पैसा कमाउने, धनी हुने र समृद्धि हुने भ्रष्टाचारको एक मात्र सूचक बन्न सक्दैन । वैधानिक पेशा, व्यवसाय र स्रोतबाट धनी बन्न पाइन्छ, हुन्छ र सकिन्छ । धनी र समृद्ध बन्न चाहना देशको हो, जनताको हो, समाजको हो, नागरिकको हो र सबैको हो । दुई÷चार प्रतिशत मान्छे धनी बन्ने मोडेल हामीलाई चाहिएको होइन । सबैको आर्थिक, सामाजिक, सांस्कृतिक हैसियत र क्षमतामा वृद्धि गर्न सक्नु हाम्रो सामुहिक लक्ष्य हो र हुनुपर्छ । लोकतन्त्र यसैका लागि चाहिएको हो । थोरै र केही मान्छे धनी बन्ने अवस्था र स्थिति त राजतन्त्र वा सामन्तीतन्त्रमा थियो र हुन्छ । सबै वा अधिकांश मान्छे धनी र समृद्ध बन्नका लागि आर्थिक र सामाजिक वितरण प्रणाली चुस्त, पारदर्शी, विधिको शासन तथा भ्रष्टाचारको न्यूनीकरण आदिको विकल्प हुन्न । भ्रष्टाचार मौलाउनु भनेको केही मान्छे मोटाउने र आममानिस दुब्लाउने र शोषित बन्न बाध्य बन्नुपर्ने अवस्था हो । नेपालको शासन प्रणाली र लोकतान्त्रिक व्यवस्था बलियो, भरपर्दाे, समावेशी र नागरिक अपनत्व भएको हुन शासन पारदर्शी तथा भ्रष्टाचारबाट मुक्त बन्नुपर्ने हुन्छ । नेपाली शासन व्यवस्था स्थिर र जनताको बन्न नसक्नुको पछाडि मूल कारण भ्रष्ट संस्कृति, संस्कार, प्रणाली, नीति, व्यवस्था र व्यवहार पनि अर्काे कारक हो । भ्रष्टाचारको संस्कारलाई निर्मूल पार्न सकिएन भने शासनमा जतिसुकै सुधारका कुरा र गफ गरिए पनि नागरिकको अपनत्व र विश्वास बन्नै सक्दैन ।

भ्रष्टाचारको चर्चा गर्दा विश्वमा सबै प्रकारका शासनमा धेर–थोर भ्रष्टाचार हुने गरे पनि विकसित युरोपमा त्यसको दर न्यून छ । चीनजस्तो समाजवादी मुलुक जहाँ मृत्युदण्डको समेत व्यवस्था छ र त्यो देशमा पनि भ्रष्टाचार हुने गरेको छ । सन् २०१७ मा चीनमा १५ सय ५१ जनालाई फाँसी दिइएकोमा अधिकांश भ्रष्टाचारमा दोषी भएकाहरू रहेका थिए । राजनीतिक भ्र्रष्टाचारमा नागरिकको शक्ति, समर्थन र विश्वास प्राप्त गरी सत्ता र शासनमा पुगेपछि आफ्नो निजी लाभ वा हितबाट प्रेरित भई प्रणालीगत र नीतिगत स्तरबाटै विधि र प्रक्रिया मिलाएको देखाएर गरिने ठूला भ्रष्टाचार पर्छन् । मुलुकमा संस्थागत र नीतिगत भ्रष्टाचार भएपछि त्यसको छाया स्थानीय तह, प्रहरी कार्यालय, मालपोत, नापीदेखि वडा कार्यालयसम्म पुग्न सक्छन् । जताततै भ्रष्टाचार र कुशासन तथा अपारदर्शिताको अवस्था बन्ने र सुधार नहुने हो भने लोकतान्त्रिक गणतन्त्रको भविष्य सुन्दर बन्न सक्दैन । यसर्थ शासनको उच्च तहमा रहेका राजनीतिक नेतृत्वदेखि नै भ्रष्ट संस्कार, कार्य, हर्कत र व्यवहारलाई निर्मूल पार्नुपर्ने स्थिति देखिन्छ ।

विश्वको शासन व्यवस्थाको अध्ययन गर्दा भ्रष्टाचारले राष्ट्रमा कानुनी शासन, विधिको शासन, नागरिक नियन्त्रण, लोकतान्त्रिक संस्कार, सामाजिक मूल्य, नैतिकता, सामाजिक आचार, मानवीयता र मूल्य सबैलाई एकैपटक ध्वस्त बनाउँछ, बनाउँदै छ । विश्वका कतिपय अप्रजातान्त्रिक र निरंकुश शासन भएका तथा द्वन्द्वग्रस्त मुलुकमा भ्रष्टाचारको दर बढी रहेको छ र अझ त्यस्ता मुलुकमा सञ्चारमाध्यम र नागरिक अधिकारमाथिको कटौतीका कारण यस्ता घटना सार्वजनिक नै गरिँदैनन् वा लुकाइन्छन् र दबाइन्छन् । सन् १९८९ अघिको सोभियत संघको कम्युनिष्ट शासन, दोस्रो विश्वयुद्धका क्रममा जर्मनमा भएको हिटलरको शासन, उत्तरकोरियाको वर्तमान शासन, द्वन्द्वग्र्रस्त सिरिया, अफगानिस्तान आदिका हालका शासन व्यवस्था यसका उदाहरण हुन् । कतिपय मुलुकमा भने भ्रष्टाचारका स–साना घटनासमेत सञ्चारमाध्यमले सार्वजनिक गरिरहेका हुन्छन् र पनि भ्रष्टाचार पनि भइरहेका हुन्छन् । जस्तो भारतमा भ्रष्टाचार बढी नै हुन्छ र सञ्चारमाध्यमले पनि त्यसलाई निरन्तर सार्वजनिक र खबरदारी गरिरहेकै हुन्छन् ।

भ्रष्टाचार बढी हुनुमा सामाजिक चेतना, शिक्षा प्रणाली, संस्कार र संस्कृति, सामाजिक नैतिकता, राज्यको कानुन र कानुन कार्यान्वयन गर्ने निकायको व्यवहारजस्ता कुराले प्रभाव पार्ने गरेको देखिन्छ । सन् २०१७ को ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनमा औंल्याइएअनुसार भ्रष्टाचार बढी हुने कारणमा शक्ति, पद र पैसाको चाहनामा वृद्धि, उच्च स्तरको राजनीतिक तथा आर्थिक हैसियतको तीव्र चाहना, कमजोर प्रजातन्त्र, स्थापित प्रणालीको अभाव, पारदर्शिताको कमी, जवाफदेहिताको कमी, विधिको शासन नहुनु, नागरिक नियन्त्रण र खबरदारीको कमी, सामाजिक जागरण र चेतनाको कमी, गरिबी र आर्थिक अवसरको अभाव, सामाजिक र राजनीति अस्थिरता आदि कारण प्रमुख छन् ।

भ्रष्टाचार सामाजिक अपराध पनि भएकाले यो समाज, नैतिकता र मानवीयता, संस्कार र संस्कृतिसँग पनि गाँसिएर आएको जटिल विषय हो । भ्रष्ट र भ्रष्टाचारीलाई समाजले सबैतिरबाट बहिष्कार र तिरस्कार गर्ने, गलत र नराम्रो मान्दै त्यस्तो गतिविधिलाई परिवार र समाजकै स्तरबाट विरोध र घृणा गरिदिने हो भने यसमा कमी आउने स्थिति हुन्छ । भ्रष्ट र भ्रष्टाचारीलाई सामाजिक सम्मान मिल्ने, कसले कुन माध्यमबाट धन कमायो ? त्यसमा परिवार र समाजले कुनै सोध–खोज नगरी स्विकार्दै सम्मान गर्ने अवस्था भयो भने भ्रष्टाचार मौलाउन सहयोग पुग्छ । अर्काे शासन र सत्तामा बसेको मुख्य व्यक्ति वा उनीहरूको आचरण सही हुनुपर्छ । कानुन लागू गराउने वा कार्यान्वयन गराउने निकाय र शक्ति नै भ्रष्टाचारमा मुछिन्छन् भने त्यहाँ सुशासन हुन्छ भन्न सकिन्न । सारमा भ्रष्टाचार बढ्नुमा प्रणाली जति दोषी हुन्छ परिवार र समाज पनि जिम्मेवार हुन्छ । जस्तोसुकै माध्यमबाट आएको पैसा परिवार र समाजले स्वीकार गर्ने, भ्रष्टलाई नेता मान्ने, चुनावमा विजयी गराउनेजस्ता कार्यले भ्रष्टाचारलाई मलजल गरिरहेका छन् । भ्रष्टाचार न्यूनीकरण गरी सुशासन र पारदर्शिताको व्यवस्थाको चर्चा र कल्पना गर्दा शासनमा रहने शासक, कानुन, प्रणालीजस्तै नागरिक समाजको भूमिका पनि उत्तिकै अर्थपूर्ण देखिन्छ । यस हिसाबले हेर्दा नेपाली समाजको चेतना, भूमिका, सोच र व्यवहारमा समेत परिवर्तन आवश्यक देखिन्छ ।

टिप्पणीहरू