के पारा हुन् यस्ता ? सन्तती बन्छन् कस्ता ?

  • गोविन्द भट्टराई

ओली उपचारमा सिंगापुर गएका बेला त्यहाँबाटै मन्त्रिपरिषद् बैठकबाट टेलिप्रिजेन्स प्रविधिमार्फत सहभागी भए, मन्त्री र प्रधानमन्त्रीबीच भलाकुसारी भयो यद्यपि कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसेको हुनाले त्यो प्रविधि प्रयोग नगरेको भए पनि हुन्थ्यो भन्ने कुरा प्रमुख प्रतिपक्ष कांग्रेसका सांसदले संसद्मा उठाए । 

कतिले यो ठीक कतिले बेठिक भन्ने तर्क उठाए । प्रविधि प्रयोगमा सरकार मात्र होइन, आमनागरिकको समेत अचम्मै मोह बढेर गएको देखिन्छ । हुन त स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधि मात्र नभई ठूला नेता र संघीय मन्त्रीसमेत सामाजिक सञ्जालप्रति लिप्त भेटिन्छिन् । पत्रकार, लेखकको कुरै नगरौँ । यहाँ आमनागरिक अर्थात् हाम्रो समाजमा देखिएको प्रविधिमोह प्रवृत्तिको कुरा उठान गर्न मात्र खोजेको हो । केही दिनअघिको कुरा, पंक्तिकार  काठमाडौंबाट तानसेन जाने बसमा चढेँ, यात्रीमध्ये बालबालिका र वृद्धबाहेक ९० प्रतिशत व्यस्त थिए, सबैको ध्यान मोबाइलमा देखिन्थ्यो । एउटी अधबैंसे महिलाको काखको बालक अनुरोध गर्दै थियो, ‘ममी म पनि गेम खेल्छु न †’ आमा झर्कंदै छोरालाई हपार्दै थिइन्, ‘चूप बे, कति दिनमा बल्ल कन्ट्याक्ट भा’छ आफ्नो मन पर्ने मान्छेसँग !’ मभन्दा अघिल्लो सिटमा बसेका एक जना वृद्धा साथमै रहेको छोरालाई भन्दै थिइन्–बाबु झोलामा पानी छ झिकिदेऊ न तिर्खा लाग्यो । छोराले जवाफ दिएको सुनेँ– गाडी हिँडेका बेला के–के चाहिन्छ तपाईंलाई, एकछिन चुप लाग्नुस् अहिले धार्के पुगेपछि बस रोक्छ अनि खानुहोला पानी । बसको स्क्रिनमा दोहोरी गीतको भिडियो पनि चल्दै थियो, केहीको ध्यान त्यता थियो । बकुल्लाझै बस्ने केही वृद्ध र बालबालिका थिए । यो दृश्यले मलाई केही वर्ष अगाडिको बसयात्रा सम्झायो–त्यसबेला बसको सिटमा बस्नेहरू अधिकांशबीच हार्दिकतासाथ भलाकुसारी हुन्थ्यो । 

त्यसबेला यात्रु बसमै एकआपसमा परिचित हुन्थे, कतिले आफ्ना मनका सुख–दुःखका कुरा गर्थे । घर कहाँ हो ? कहाँ जान लागेको हो ? आदि त सामान्य कुरा भए, परिवारमा को–को छन् अनि कहाँ र के गर्दै छन् ? सोधपुछ हुन्थ्यो उस्तै परे बिहेदान गर्ने बेला भएका सन्तान छन् भने असल जोडी कतै पाइन्छ कि भनेर सोधपुछसमेत हुन्थ्यो । लामो सवारी यात्रामा आफ्नै व्यक्तिगत जीवनका उकाली ओरालीका गाथा साटासाटसम्म गरिन्थ्यो त्यसबेला । बस चढ्नुअघि अपरिचित बटुवाबीच यतिसम्म हार्दिकता हुन्थ्यो कि खाना वा नास्ता खाँदा एकले अर्काको पैसा तिरिदिने, आफूले किनेको खानेकुरा आपसमा बाँडेर खाने काम हुन्थ्यो । आत्मीयताका कारण गन्तव्यमा पुगेपछि पनि छुट्टिन धौधौ हुन्थ्यो । ठेगाना सोधेर फेरि भेट्ने वाचा हुन्थ्यो । अब त्यो अवस्था छैन । सँगै सिटमा बसेको अपरिचित यात्रीसँग भलाकुसारी गर्नेहरू मुस्किलले १५–२० प्रतिशत हुन्छन् बाँकीको त झर्ने ठाउँ आइसक्दासम्म बक्के नै फुट्दैन ।

आफ्ना अभिभावकलाई नसोधी छोराछोरी कपाकप खानेकुरा खान्छन्, बाँडेर खानुपर्छ भन्ने उनीहरूले सिकेनन् या सिकाइएन ? घण्टौँको यात्रामा सँगै बसेकाबीच मौनता छाएको हुन्छ ।  कहाँको आत्मीयता अनि कहाँको हार्दिकता ?

भर्खरै ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस देशभर मनाइयो । शैक्षिक गुणस्तर सुधारका ठूला कुरा भए तर त्यहाँ नैतिक शिक्षा र असल संस्कारप्रति कसरी युवा पुस्तालाई आकर्षित गर्ने भन्नेबारे चासो देखाइएन बरु अंग्रेजी भाषामा भएको प्रगतिका कुरा भए । हामीले हाम्रो भाषा, संस्कृति, असल चालचलन र संस्कारको जगेर्नाबारे अमेरिकन र युरोपियनले भनेपछि बल्ल चासो लिन पुग्छौँ कि ? हुँदा खाने र हुने खानेबीचको शिक्षा प्रणाली राखिराख्ने वा एकै खालको शैक्षिक प्रणाली शुरु गर्ने ? दुई तिहाइ बहुमतको सरकारका पालामा यसबारे सोच्नु पर्दैन ? हामीले हाम्रा सन्तानलाई विदेशीका खेताला मात्रै बनाउने कि असल संस्कार र सीपयुक्त स्वाभिमानी नेपाली नागरिक बनाउने ? अब त सोचौँ, प्रविधिको समुचित प्रयोग गरौँ तर प्रविधिको दास नबनौँ ।

टिप्पणीहरू