​कमरेडले यसरी बटुले करोडौं

दार्जिलिङबाट नेपाल आएर वामपन्थी आन्दोलनमा सरिक हुँदै तीन पटकसम्म सांसद बनेका अति इमान्दारमा गनिने हर्कमान तामाङ आफ्नै पहलमा खोलिएको एक संस्था बेचेर बदनाम भएका छन् । मोरङको बेलबारी–२ स्थित सहारा परिवार नेपाल (सहारा बालग्राम) को नाममा रहेको झण्डै डेढ बिघा जग्गा केही व्यक्तिले गुपचुप रूपमा अर्कै व्यक्तिलाई बेचेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी बेलबारी–२ को वडा संयन्त्रले गत सोमबार दिउँसो सहारा बालग्राम परिसरमै पत्रकार सम्मेलन गर्दै सो कुराको औपचारिक खुलासा गरेको हो ।

‘सार्वजनिक सम्पत्ति बिक्री गर्न पाइँदैन, बिक्री गरिएको जग्गा तुरुन्त फिर्ता गर’ भन्ने कालो ब्यानर राखिएको पत्रकार सम्मेलनमा बेलबारी नगरपालिका–२ का वडाध्यक्ष घनश्याम गौतम, वडासदस्य खिना थापालगायत नेकपाका वडा संयोजक सीताराम न्यौपाने, उपसंयोजक रञ्जित गुरुङलगायत ५०÷६० जनाभन्दा बढी उपस्थित थिए ।  सोमबार बिहान बसेको पार्टी वडा संयन्त्र बैठकले सहाराको जग्गा खरिद–बिक्रीमा संलग्न जुनसुकै तहका नेता वा कार्यकर्तालाई कारबाहीका लागि पहल गर्ने निर्णयसमेत गरेको छ । 

सहारा बालग्रामको सञ्चालक समितिमा पूर्वसांसद हर्कमान तामाङ, बेलबारी गाविसका पूर्वअध्यक्ष शिवप्रसाद बराल, नेकपा मोरङका जिल्ला सदस्य प्रताप थापा, लक्ष्मण थापा, नन्दराज गिरीलगायत छन् । उनीहरूले इटहरीका व्यापारी डम्बरबहादुर तामाङलाई ३ करोडमा बिक्री गरेको खुलेको छ । जबकि पूर्व–पश्चिम राजमार्ग छेउमै रहेकोे सो जग्गा प्रतिधुर १ लाख दिन्छु भन्दा पनि पाइन्न ।

मालपोत कार्यालय बेलबारीको अभिलेखअनुसार सहारा परिवार नेपालको नामको ६ टुक्रामा रहेको १ बिघा ८ कठ्ठा ३ धुर जग्गा ०७५ मंसिर ११ गते पास गरिएको छ । 

१ बिघा ९ कठ्ठा जग्गाभित्र निर्मित भवनलगायत संरचनाका लागि अमेरिकी संस्थाले लगानी गरेका थिए । तर, पूर्वसांसद तामाङले आफूले लगानी गरेको र त्यसको ऋण अझै तिरिनसकेको बताउने गरेका छन् । 

सहारा परिवार नेपाल जिल्ला प्रशासन कार्यालय मोरङमा २०५५ सालमा दर्ता भई अमेरिकाका ड्यानी अति एलिसा हाफ्रिज र डाक्टर बाल्ट ज्यामी हार्बर टेनिशीको संयुक्त लगानीमा सहारा सञ्चालनमा आएको थियो ।

गाडी, कम्प्युटर, ब्ल्यांकेट, झ्यालढोकादेखि सबैजसो सामान गायब छ ।  सहाराका कार्पेट कुखुराको खोरमा छन् । जानकारहरूका अनुसार यहाँ २० वटाभन्दा बढी कम्प्युटर थिए । हाल तिनको नामोनिशान छैन । त्यसैगरी दोस्रो तलाको झ्यालका पल्लासमेत छैनन् । ती पल्ला पूर्वसांसद हर्कमान तामाङका छोराले निकालेर लगेको स्थानीयले बताए । त्यसैगरी विदेशी दाताले दिएका ब्ल्यांकेट पनि गायब छन् । संस्थाको गाडी हराएको छ । कार्पेट कुखुरा फारममा लगेर बिछ्याइएको वडाध्यक्ष गौतमले बताए ।

टिप्पणीहरू