​चाप, ताप र मान्छेको मन

कालिमाटी–त्रिपुरेश्वर–थापाथली–बानेश्वर–कोटेश्वर–बालकोट । स्युचाटार पुलको मुखमै बस रोकियो । संयोगले सिट पाइयो । १३ सिटे फोर्स भरिन कति समय लाग्थ्यो ! तुलनात्मक रूपमा यात्रुको चाप निकै कम थियो । तर, सिट भरिएको थियो । सिट नजिकै आएर उभिइन् एक महिला, तलदेखि माथिसम्म पूरै कालो वस्त्रले शरीर ढाकेकी । चश्मा पनि कालै । ठिक्कको उचाइ, सेतो वर्ण । कार्यालय समयमा गाडी बेस्सरी हुइँकिन पाउने कुरै भएन । सोल्टिमोडदेखि नै ट्राफिक लाइटमा बस्दै यात्रा अघि बढ्दै थियो । घ्याच्च, घ्याच्च हुने नै भयो । कुनै पुरुषको टाउको वा गाला महिलाको जिउमा ठोक्किएको भए त्यहाँ बबाल हुन्थ्यो । तर, यहाँ उल्टो हुँदै थियो । अन्जानमा भए एकपटक मात्रै हुन्थ्यो होला तर पटक–पटक ठोक्कियो ।

कार्यालय पुगेपछि यही व्यहोरा लेखेर महिला साथीलाई पठाएँ । यस्तो बेलामा पुरुषले के गर्नुपथ्र्यो, यो हिंसा भयो कि भएन ?

महिला साथीले अञ्जानमै होला भन्ने जवाफ दिइन् । कसरी गालामा जिउ पुग्छ भन्ने प्रतिप्रश्न गरिन् । यही कुरा पुरुष साथीलाई पठाएँ । उनले भने, ‘ल गज्जब भएछ, अब म पनि बाइक बेचेर बस चढ्छु, हाहा….।’

यस्तो मामलामा चुलेसी र मूलाका उदाहरण मिल्दोजुल्दो हुन्छ । मूलामा चुलेसी परे पनि चुलेसीमा मूला परे पनि काटिने आखिरमा मूला नै हो । पुरुष आखिर मूला न परे !

सार्वजनिक यातायातमा यात्रा गर्दा महिलालाई मात्र हैन, पुरुषलाई पनि निकै कठिन हुन्छ । महिलालाई आफू जोगिए हुन्छ । पुरुषलाई त आफू अडिनुपर्छ, महिलासँग पनि जोगिनुपर्छ । अलि अघि नै हो, अस्थायी, करार शिक्षकहरूको आन्दोलन चलिरहेको थियो । बानेश्वरबाट कलंकी आउने बसमा थिएँ, एक महिला एक पुरुषमाथि खनिँदै थिइन्, सीधा भएर उभिनुस्, सोझो उभिन नसक्नेले किन बस चढ्नु ! उनका सहकर्मी शिक्षकले ती महिलाको झाँको झारे, सबैको शारीरिक अवस्था एकै हुँदैन । कसैलाई पनि रहर हुँदैन भीडभीडमा बांगो भएर उभिन, कोही मानिसको जन्मजात नै समस्या छ भने तपाईंको सजिलोका लागि कसरी सीधा उभिन सक्छ, तपाईं महिला हैन पहिले मानिस हुनुहोस्, अनि कुरा गर्न सहज हुन्छ । पछि बुझ्दै जाँदा ती शिक्षक पोलियोग्रस्त रहेछन् । बसमा मात्र हैन, अहिलेसम्म जीवन नै बांगो उभिएर चलाइरहेछन् ।

– दर्शन शर्मा 

टिप्पणीहरू