अनि पोस्टरको नारा बदलियो

  • राजकुमार दिक्पाल

बीच बजारस्थित साझा प्रकाशनको धनकुटा शाखामा साहित्यिक मासिक ‘गरिमा’ का पुराना अंक भारी छुटमा बेचिँदै छन् । आफूलाई ती पत्रिका चाहियो, ती अंकको बण्डल उठाइरहेका बेला हाम्रा टोलका एक जना पुस्तकप्रेमीको सम्झना गरेँ ।

नयाँ प्रकाशन केही फेला पर्नासाथ किनिहाल्ने बानी । त्यही मेसोमा केही नयाँ प्रकाशन किनेका बेला ती पुस्तकप्रेमी घरमा टुप्लुक्क आइपुगिहाल्ने । आफूले पढ्न शुरु गरेको वा आधाउधी पढ्दै गरेको अवस्थामा पनि आएको बखत म त्यस्ता प्रकाशन उनलाई सुम्पिहाल्थेँ । 

‘गरिमा’का पुराना अंक किनेर तिनीहरूलाई डोरीले कसी भारी बनाउँदा दुई बण्डल भए । दुई हातले उठाई बीच बजारबाट घरतिर उकालो चढ्दा जति गह्रुँगा थिए, ती बण्डल त्यति नै हलुका थिए र प्रफुल्ल थियो, मेरो मन ।

प्रसंग हो ०५६÷५७ तिरको ।

योभन्दा दुई दशकअघिका प्रसंगतिर मोडिन चाहन्छु अब ।

‘यो किताब लाइब्रेरीबाट तिमीलाई नसोधीकनै झिकेर लगेको थिएँ, आज फर्काएको छु है !’, मञ्जुलको कविता संगालो ‘गायक यात्री’ मेरा दाइ डम्बरलाई फिर्ता गर्दै ती पुस्तकप्रेमीले भने ।

हुन त त्यो हाम्रो घर सार्वजनिक थियो, तत्कालीन पार्टीमा आस्था राख्नेहरू कोही पूर्वसूचनाअनुसार आइपुग्थे, कोही बिना सूचना । आस्थावान स्थानीयहरूचाहिँ बिनासूचना आउँथे । ती पुस्तकप्रेमी हाम्रै छिमेक भएकाले हाम्रोमा आउन पूर्वसूचनाको आवश्यकता नै परेन ।

०३६ देखि ०३९ सालसम्म स्वप्नजीवीहरूको आवतजावत भइरहने घरको कोठालाई सम्झेर गौरव गर्छु, आत्मा भएको शरीरजस्तै पुस्तक भएको कोठा थियो । ०३९ पछि पार्टीको सेल्टर अन्तै कतै सारियो ।

हो, हाम्रो घरको एउटा कोठामॉफुच्चे’ पुस्तकालय पनि थियो । त्यो बेलाको म फुच्चेले त्यही पुस्तकालयबाट आफ्नो टोलबाट उता पनि अरू संसार हुँदोरहेछ भन्ने थाहा पाएको हुँ । सिसेरोको भनाइ राख्न चाहन्छु । उनले भनेका छन्, ‘पुस्तक नभएको कोठा र आत्मा नभएको शरीरमा केही फरक हुँदैन ।’

हाम्रो घरको त्यो कोठा पनि आत्मा भएको शरीरजस्तै रहेछ, आहा ! यहीँ कोठामा कुनै बेला मदन भण्डारी, अशोक राई, राजेश बान्तवा, रमेश खनाल, चित्र निरौला, गोपाल गुरागाईंलगायत स्वप्नजीवीको बास परेको छ । त्यसैले हाम्रो घरको यो कोठाले आत्मा मात्र पाएन, महात्मा पनि पाएको रहेछ भन्ठान्छु, यतिखेर म ।

पोस्टर लेखिँदै गर्दा

मेरा दाइ डम्बरलगायत खासगरी छिमेकी दाइ चन्द्र ब्लोन धमाधम सेतो कागजमा बाँसको कलमले पत्ती रङको झोलमा चोप्दै ठुल्ठूला अक्षरमा लेख्दै थिए । मचाहिँ खेल्दै दगुर्दै त्यो कोठामा बेलाबेला पुग्थेँ ।

‘ला, यसले लेख्’, मलाई जहिल्यै पनि बुबाको सामु छुनुमुनु गरिरहनुपर्ने । बुबाले दाइ डम्बरलाई मज्जाले खिपेर बाँसको कलम बनाइदिनुभएको रहेछ । त्यही कलम प्रयोग गरी रातो पत्ती रङको झोलमा बडुबाउँदै फुल्स्केपमा लेखी धमाधम पोस्टर लेखिँदै रहेछ । मेरा लाहुरे बुबाको नेपाली वामपन्थी आन्दोलनमा ठूलो योगदान छैन, तर उहाँले नै निर्माण गरेको एउटा घरलाई उहाँको माहिला छोराले आश्रय बनाउँदा कुनै विरोध नगर्नु र पोस्टर लेख्ने बाँसका कलम आफैंले खिपिदिनु उहाँको महŒवपूर्ण कर्म थियो । धान–चामलको जोहो गरी भूमिगत नेतालाई खाना खुवाउने जिम्मा त आमाको थियो ।

पोस्टरको नारा बदलियो

म फेरि त्यो कोठामा टुप्लुक्क पुगेँ । त्यतिबेला सुन्तले पावरहाउसबाट निकालिएको धनकुटा नगरमा आपूर्ति हुने बिजुलीमा लोडसेडिङ भएको थियो । धिपधिपे कुपीको उज्यालोमा ती पुस्तकप्रेमी आइपुगे । यसअघि लेखिएका पोस्टरका नारा हेरिसकेपछि उनको अनुहारमा असन्तुष्टिका भाव देखियो ।

‘के लेखेको यस्तो, विरोध गरेको कि अनुरोध ?’ पुस्तकप्रेमीको प्रश्न थियो ।

डम्बरको स्पष्टीकरण, ‘नारा लेखेको नि दाइ ।’

‘यस्तो पनि नारा हुन्छ ?’ त्यसपछि ती पुस्तकप्रेमी यसअघि लेखिएका सबै पोस्टर सार्वजनिक नगर्न भन्दै आफंै खराखर लेख्न थाले । ‘पञ्चायती व्यवस्थाको अन्त्य हुनै पर्छ, नमिता–सुनिताको हत्यारालाई कारबाही हुनै पर्छ’, यस्तो थियो पहिलो पटकको पोस्टरको भाका ।

तर, ती पुस्तकप्रेमी आफंै अघिसरा बनेर धमाधम पोस्टर लेख्न थाले, ‘पञ्चायती व्यवस्था मूर्दावाद, नमिता–सुनिताका हत्यारालाई कारबाही गर्…।’

पुराना पोस्टर सबै जलाइए । नयाँ पोस्टरको थाक लाग्यो ।

ती पोस्टर कहाँ–कसरी सार्वजनिक गर्ने भन्ने व्यवस्थापकीय छलफल भइरहेका बेला फेरि म फुच्चे टुप्लुक्क त्यही कोठामा पुगेँ । दाइ रेख ब्लोन निर्देशनात्मक अवस्थामा हुनुहुन्थ्यो भने डम्बरचाहिँ व्यवस्थापकीय ।

पोस्टर त दुःख–सुख तयार भयो, टाँस्नेचाहिँ केले ? त्यहाँ उपस्थित रामप्रसाद वाग्लेबाट फुत्त उपाय आयो, ‘गोबरले ।’

भातले टाँसूँ, त्यहाँ उपस्थितमध्ये अधिकांशको घरमा धानको भात कमै पाक्ने । गमले टाँसूँ त त्यो किन्ने पैसा कहाँबाट ल्याउने ? रामप्रसाद दाइ (दिवंगत)का बुबा गुरूप्रसाद वाग्ले (उहाँ पनि दिवंगत) स्थानीय पुरोहित भई जनैपूर्णिमामा जनै लगाइदिने र नागपञ्चमीमा नाग टाँसिहिँड्ने भएकाले पनि नागको फोटो गोबरले टाँस्ने चलन हाम्रो टोलमा थियो । त्यही प्रचलनलाई अनुसरण गरी गोबरले पोस्टर टाँस्ने प्रस्ताव रामप्रसाद दाइले ल्याउँदा स्वीकृत भयो ।

खासगरी मुख्य–मुख्य ठाउँमा पोस्टर टाँस्न निर्देशन दिइयो । राति–राति पोस्टर टाँसिन्थ्यो । मानिसको अलि बढी जमघट हुने स्थानमा जस्तै वरपीपल चौतारी, सार्वजनिक पाटी आदि पोस्टर टाँस्नका लागि आकर्षक स्थलका रूपमा चुनिन्थे ।

यस्तो पोस्टर लेख्ने र टाँस्ने काम धेरै भए । त्यतिखेर म फुच्चेलाई पनि त्यो क्रान्तिकारी कदममा सहभागी हुन मन लाग्थ्यो । म जिद्दी गर्थेँ, ‘म पनि जान्छु ।’ तर अग्रजहरू रोक्थे ।

यस्तो पोस्टरिङ धेरैपटक भयो ।

ती पुस्तकप्रेमी

लामो समय जो बिरामी हुनुभयो । अहिले साधारण अवस्थामा हुनुहुन्छ । म कक्षा २ मा गणेश प्राथमिक विद्यालयमा पढिरहेका बेला उहाँ प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँबाटै पहिलो पटक जानेँ, ‘शब्दलाई वाक्यमा प्रयोग गर्ने तरिका ’।

उहाँ लामो समय प्राथमिक विद्यालयको प्रधानाध्यापक हुनुभयो । पेशागत धर्म र आस्थागत सक्रियतासँगै पुस्तकप्रतिको प्रेममा कहिल्यै सम्झौता गर्नु भएन । त्यसैले ‘गरिमा’का पुराना अंक दुई बण्डल किनेर असिनपसिन हुँदै उकालो हिँडेर घर पुग्दा पनि तिनै पुस्तकप्रेमीको अनुहारको प्रतिविम्ब आँखाभरि सजाउँदै मन हल्का गरेको थिएँ ।

तर, आज जीवितै भए पनि सत्तासीन वा सत्ताउन्मुख कमरेडहरूबाट यी पुस्तकप्रेमी विस्मृतप्रायः हुनुहुन्छ । अप्ठ्यारो समयका खोला तार्ने यी लौरोमाथि खोला तर्नेहरूले नजर लगाइरहेको मेरो आँखाले देख्न पाएको छैन ।

त्यो स्वप्नयुगको म फुच्चेले अग्रज पुस्ताबाट गाइएको गीत सुनेको थिएँ,

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ

लाखौैंका लागि उजाड छ यो देश मुठ्ठभरलाई त स्वर्ग छ…।

परदेशबाट ती पुस्तकप्रेमी दाजु दिलबहादुर बम्जनलाई सम्झी उल्लिखित गीतलाई प्यारोडी बनाएर गाउन मन लाग्यो,

बिर्सी जाने ती नेताले, योद्धाको मन रुवाउँछ

लाखौँका लागि उजाड पार्टी, मुठ्ठीभरलाई त स्वर्ग छ…।

यो प्यारोडी पीडित स्वरहरूबाट समवेत रूपमा गुञ्जन गर्न नपरोस्, कृपया !

टिप्पणीहरू