बाघ–बाघसँग, भेडा–भेडासँग

  • सुनिता गिरी

अहिले सामाजिक सञ्जाल शालिकराम पुडासैनीको आत्महत्याले निकै गर्मिएको छ । यसले सिंगो समाजलाई दुई भागमा विभाजन गरिदिएको छ । एकथरी कानुन र अर्काथरी रविको पक्षमा छन् । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि किन यही बाटो रोज्नुप¥यो भनेर खोलेको कारणमा न्युज–२४ मा सीधा कुरा जनतासँगको कार्यक्रम प्रस्तोता रवि लामिछाने र दीपक बोहराहरूले दिने अति मानसिक तनाव र निजी जिन्दगीमा समेत अनावश्यक हस्तक्षेप भनी खोलेका छन् । एउटा ठूलो समूह रविको पक्षमा सडकमै उत्रिएको छ भने अर्को नगन्य भागचाहिँ प्रमाणले जे बोल्छ त्यही हुनुपर्छ भन्ने पक्षमा निर्भिक भएर उभिएको छ । 

विभाजित समाजलाई बुझ्न र बुझाउन अनि एकै ठाउँमा ल्याउन अहिले बुद्धिजीवी वर्ग, पत्रकार अनि लेखकले आ–आफ्नो ठाउँबाट कलम चलाउनुपर्ने देखिन्छ । पत्रकार मनोज खतिवडाले आइतबार नेपाल खबर डट कममा रवि लामिछाने पक्राउपछि हुनुपर्ने बहस के हो ? भन्ने शीर्षकमा लेखेका छन्, ‘केही समयअघि आत्महत्या गर्ने शालिकराम पुडासैनी रविको भाषामा ‘छातीमा लात्ती खाइ खाइ पनि प्रश्न सोध्न नडराउने’ कर्मठ पत्रकार हुन् । पुडासैनीले रविको कार्यक्रमका लागि घुस दिनेलाई रंगेहात समातेको, वीर अस्पताल र कालिमाटीमा प्रहरीको कुटाइ खाएर रिपोर्टिङ गरेको भिडियो फुटेज अहिले पनि युट्युबमा भेटिन्छन् । सीधा कुरा जनतासँग कार्यक्रमको सफलता शालिकरामहरूको त्यो संघर्षको संयुक्त परिणाम हो ।’

‘शालिकराम पुडासैनीको हत्या वा आत्महत्या प्रकरणको तहकिकात हुँदै छ । त्यसलाई एउटा निचोडमा पु¥याउन दिनु उचित हुन्छ । अहिलेको अवस्थामा कुनै पुलिस अफिसर वा किशोर श्रेष्ठजस्ता मुद्दासँग प्रत्यक्ष सम्पर्क नभएका मानिसमाथि हिलो छ्याप्नु ठीक हो जस्तो लाग्दैन । सार्वजनिक भएको भिडियोमा कैफियत छ भने त्यतातिर फोकस गर्नुप¥यो । पुलिस एक्लैले मुद्दा दायर गर्ने होइन, सरकारी वकिलले पनि हेर्छ प्रतिवादीविरुद्ध प्रमाण पुगेको छ कि छैन भनेर । जबर्जस्ती मुद्दा बनाउन खोजेको छ भने अदालतले मुद्दा दर्ता गर्न अस्वीकार गर्न सक्छ भन्ने कुरा पनि विचारणीय छ । कुनै प्रकारको उत्तरदायित्व नभएका माध्यम र व्यक्तिले लेखेका भरमा कसैको ज्यान गएको संवेदनशील मामिलाको तहकिकातको दिशा बदलिन सक्दैन । रवि निर्दोष छन् भने डराउनुपर्ने कुरै छैन । कुनै बेला रविका विश्वासप्राप्त सहायकले प्रष्ट शब्दमा उनीमाथि गम्भीर आरोप लगाउँदै आत्महत्या गरेको कुरा आएको छ । त्यो होइन भने पनि अनुसन्धानबाट यकिन हुनुप¥यो ।’ वरिष्ठ पत्रकार, हरि अधिकारीको फेसबुकबाट साभार । 

भीडलाई भाँड्ने कोही पत्रकार हुनुहुन्छ, चाहे त्यो निर्मलाको केसमा होस् वा शालिकरामको । यदि, यसबारे राम्रोसँग थाहा भए सायद उहाँले यस्तो पोस्ट गर्नुहुन्नथ्यो होला, ‘शालिकरामको आत्महत्या नभई हत्या भएको ठहरिए नेपाल प्रहरीलाई भंग गरिदिए हुन्छ । कहिल्यै नचेताउने, जहिल्यै गडबडी मात्रै गर्ने प्रहरीको के काम ? मुचुल्का भिडियोबारे तत्काल बोल्नुस् आईजी साप, नत्र अनिष्ट निम्तिनेछ ।’ 

सञ्चारविद् भानुभक्त आचार्यले पनि आइतबार यसबारे आफ्नो विचार सामाजिक सञ्जालमा यसरी व्यक्त गरे, ‘अहिले रवि लामिछानेका समर्थकहरू धैर्य राखौं । कानुनको निर्णय कुरौं । न्याय पाइन्छ’ हिजो आफ्नो पक्षको नेता–कार्यकर्ता पक्राउ पर्दा प्रहरी प्रशासन र न्यायालय नै खर्लप्पै निलुँलाजस्तो गरेर नेपाल बन्द गरी छुटाउनेहरू छन् । हिजोका पुस्ताले जे गरे, अहिलेकाले त्यसैको सिको गर्ने हो । मुहान सङ्लो पारौं, खहरे सङ्लिन कत्तिबेर लाग्दैन । कागती रोपेर सुन्तलाको आशा नगरौं ।’ 

त्यसो पनि होइन कि कोही बोलेकै छैनन् । माथिका केही उदाहरणले देखाउँछ कि धेरैले आ–आफ्नो विचार पोखिरहेका छन् । माथि देखाइएको उदाहरणमा भीडको हल्लालाई धेरै हदसम्म साम्य पार्ने तागत र शक्ति छ । 

टिप्पणीहरू