​आमा मार्ने छोरी र बाउ सिध्याउने छोरो

  • संकेत कोइराला

कन्फ्युसियसलाई सोधियो– ‘तपाईंलाई राष्ट्रिय सरकारको प्रमुख बनाइयो भने पहिलो काम के गर्नुहुन्छ ?’ प्रश्न झर्न नपाउँदै उनको उत्तर थियो– ‘निःसन्देह पहिलो काम भाषाको सुधार हुनेछ ।’ आफ्नो आशय थप प्रस्ट पार्दै भने– ‘भाषा ठीक भएन भने जे भन्न खोजिएको हो, ठीक अर्थ लाग्दैन । अर्थ नखुलेपछि त्यो काम पनि हुन पाउँदैन । गरिनुपर्ने काम हुन नसकेपछि नैतिक मान्यता र कला अधोगतिमा जान्छन् । परिणामस्वरूप न्याय व्यवस्थाको स्थिति बिग्रन्छ । यसबाट मानिस अन्योलमा पर्छन् । त्यसो हुँदा जे भनिने हो, त्यसमा स्वेच्छाचारिता अपनाइनु हुँदैन । अरू सबैभन्दा यो महत्वपूर्ण कुरा हो ।’ 

गर्नुपर्ने धेरै छ तर प्राथमिकता व्यक्तिपिच्छे फरक छन् । एउटाले भनेको अर्कोलाई चित्त बुझ्दैन । त्यसो त सबैलाई चित्त बुझ्ने चिज संसारमा सृष्टि भएकै छैन । प्रधानमन्त्रीका कुरा सुन्दा प्रधानमन्त्री सर्वोत्कृष्ट । अर्का अध्यक्ष प्रचण्डको त बोलाइमै दम, नपत्याउने कुरै भएन । प्रतिपक्षी त झन् जनताकै खातिर भोक, निद्रा मारेर बसेको त्यो पार्टीका नेताको भाषण बेठीक हुने कुरै भएन । सेना, पुलिस, न्यायालय, शिक्षा, स्वास्थ्य सबै क्षेत्रका मठाधीशको कुरा सुन्यो भने उनीहरूले गरेको त्यागको उत्कर्ष नै अहिलेको परिणाम हो । यदि, उनीहरूले राष्ट्रप्रति ऋण नलगाइदिएको भए सृष्टि ठाउँका ठाउँ रोकिने थियो । ठुटे नेताका त दलील नै अलग, उनीहरूको जेल, नेलकै कारण त हो– नेपाली जनताले बिनारोकतोक अक्सिजन उपभोग गर्न पाएको । फेसबुक खोल्ने जति सबै नेता । चेतावनीको शैलीमा धम्कीको भाषा नबोल्ने कोही छैन । एउटाको बोली अर्कोलाई पच्दैन । अदब कुन चराको नाम हो, थाहा छैन । कसैको पतनमा आफ्नो उन्नति देख्नेको दबदबा बढ्दो छ । बाउविरुद्ध छोराको खुराफात, आमाविरुद्ध छोरीको सक्रियता । आमाले अचानोमा राखेर सन्तान गिँडेको समाचार आउँछ । छोरी भाडाका मान्छे खोजेर आमा मार्छे । सात वर्षको बच्चा सुसाइड नोट लेखेर आत्महत्या गर्छ । जीवनमा एक हजारको नोट नदेखेकी जेठीका नाममा एक करोडको जीवन बिमा गरेर कान्छीको सिन्दूरको कसम खाँदै लोग्नेले जेठीलाई जंगलमा भाडाको टट्टु लाएर मार्छ । दुईतिहाइका नेता पुलिसको साइरनमा कुदिरहँदा एउटा टेलिभिजन प्रस्तोतालाई राजनेता मानेर हजारौंको भीड पछि लाग्छ । देश समृद्धिको यात्रामा जाँदा यस्तै अक्कर हिँड्नुपर्ने हो ? आखिर किन यी दृश्यले कसैलाई पोल्दैन ? समाज कता जाँदै छ ? डाक्टर मानिने समाजशास्त्री मुखमा ताल्चा लगाएर बस्छन् । यस्तो अवस्थामा देश गुज्रिरहँदा छातीमा हात राखेर आफूले आफैंलाई सोधौं– ‘नेपाल राज्य अब यस्तो भाँड राज्य भइसकेको हो कि सरकारका प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका निस्तेज भइसकेका हुन् ? जबदेखि कुनै लहडीले जाँड खाएका तालमा ‘प्रहरी मेरो साथी’ जस्ता अभियान शुरु ग¥यो नि त्यहाँदेखि प्रहरी नभएर अपराधचाहिँ साथी हुन थालेका हुन् । पहिला–पहिला चिनेको पर्याप्त हुन्थ्यो तर अब किनेको जस्तो भरपर्दो केही हुन्न । नेपाली जीनमा त्यो तागत लुकेको हुन्छ, जसले डोनाल्ड ट्रम्प, नरेन्द्र मोदीलाई काका, बडाउको नाता प्रमाणित गरेर ल्याइदिन सक्छ । प्रहरी साथी, सेना सोल्टी, प्रधानमन्त्री बाउ, मुख्यसचिव सम्धी राज्यप्रणालीसँग यस्तै ठट्टा गाँसिँदै गएपछि दशकौंदेखि देश धान कुट्ने मिलको फिता घुमेजस्तो एउटै गतिमा सीमित छ । हेर्दा घुमेको पनि छ तर दूरी नाप्दा जहाँको तहीँ । देशको स्थायी संयन्त्र यस्तो छ– घुस नखाई र घुस नख्वाई धरै दिँदैन । बरु यो देशबाट कुनै दिन अख्तियार खारेज भएर जाला तर भ्रष्टाचार एक, दुई, तीन रोकिँदैन । यदि, शेरबहादुर देउवा, बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल प्रधानमन्त्रीको कुर्सीमा अहिले थिए भने बोलीचाली, दैनिकी, भेटघाट, काम वर्तमान प्रधानमन्त्री ओलीको भन्दा एक इञ्च फरक हुने थिएन । नेपालको राजनीति म्युजिकल चियरभन्दा फरक कहिल्यै भएन । 

व्यक्तिलाई देवत्वको उपाधि दिने र कालान्तरमा खुइल्याउने प्रवृत्ति समाजको गहना बन्दै आएको छ । त्यो प्रवृत्तिमा मिडियाले मतियारको भूमिका निर्वाह गर्दै आएको छ । राजनीतिक रस्साकस्सी र उहापोहमा मिडिया कति बहकिनु हुन्छ ? त्यसको लेखाजोखा हुनु जरुरी छ । आफ्नो पेशागतभन्दा पनि अलग विषयमा महत्व खोज्ने एकप्रकारको हानथाप चल्दै आएको छ । शिक्षकलाई अध्यापनमा विश्वास छैन । डाक्टर बिरामी जाँचेर सन्तुष्ट छैन । पत्रकारलाई विशुद्ध पत्रकारिता पोसाउन छाडेको छ । व्यापारी तथा मिडिया सञ्चालक देशको राजनीति आफ्नो कब्जामा रहेको भ्रममा बाँच्ने गरेका छन् । जसको प्रभाव समाचार घटना दुर्घटनाबाट सृजित नभएर बनाइन थालेको छ । 

एउटा मोटर सुनकोशी, त्रिशूली या कर्णालीमा झ¥यो भने मर्ने यात्रुको संख्या बढाउन प्रतिस्पर्धा बढेको देखिन्छ । भएका मिडिया जिम्मेवार र जवाफदेही हुन नसकिरहेका बेला बाढीसरह खुलेका अनलाइन पत्रिकाको गैरजिम्मेवारी अत्यासलाग्दो छ । एउटाले उत्पादन गरेको समाचार झन् रहस्यपूर्ण बनाएर घटनालाई आनको तान फरक बनाउनुलाई उनीहरूले आफ्नो धर्म सम्झने गरेका छन् । एउटा झुटो समाचारलाई सत्य बनाउन लाखौं हात तयार भएर बसेका छन् । कुनै मिडिया त्यही व्यक्तिका लागि आरती लिएर अघि सर्छन् त कुनै धारेहात लगाएर तीनपुस्ता सराप्न थाल्छन् । उसको विगतले आगत निर्देशित गर्दैन । त्यसमाथि राज्यको कानुन प्रक्रिया पालना गरेर आएको मान्छेलाई उसको कर्म नहेरी सराप्न तम्सनु त्यो जीब्रोमा नुन बोकेर तरकारी चाख्न तयार हुनुजस्तै हो । 

भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी आफ्नै अंगरक्षकको गोली प्रहारबाट मारिइन् । दक्षिण एशियाकै राजनीतिमा ‘देवी’ को उच्च कद बनाएकी इन्दिरा गान्धीको हत्या आपैंmमा आठौं आश्चर्य थियो । हत्याको विषयले भारतीय राजनीतिमा एक किसिमको ज्वालामुखी नै बिस्फोट भएको थियो । अनपेक्षित घटनाले एकातिर कोकोहोलो मच्चिएको थियो भने अर्कातिर राजनीतिकी उच्च धरोहरमाथि भएको अनपेक्षित प्रहारले पूरै हिन्दुस्तान आहत थियो । जो–कोही जनआक्रोशित थिए । हत्याको विषयलाई लिएर भारतीय सञ्चारमाध्यम स्वभावतः आक्रामक शैलीमा उत्रिए । खालखालका टिप्पणी र विश्लेषण हुन थाले । यसै मेसोमा अल इण्डिया रेडियोका प्रस्तोताले आगोमा घिउ थप्दै शिख समुदायको व्यक्तिबाट गान्धीको हत्या भएको भनेर फुकिदिए । अब के थियो र ? हरेक शिखमाथि आक्रमण र धरपकड शुरु हुन थाल्यो । शिखका घरमा आगो झोस्न थालियो । कतिलाई निर्मम तरिकाले मारियो । हजारौं शिख ज्यान बचाउन विदेश पलायन भए । गान्धीमाथि गोली दाग्ने कुनै समुदाय नभएर त्यो फगतः अपराधी थियो । अपराधीको न कुनै जात, धर्म, सम्प्रदाय नै हुन्छ । अल इण्डिया रेडियोका एउटा प्रस्तोताले सावधानी नअपनाउँदा अपूरणीय क्षति भयो । हजारांै बेघरबार भए । निर्दोष मारिए । समयले त्यो घाउमा खाटा बसाउँदै गयो । त्यो बेला बेलायत, युरोप, क्यानाडा भासिएका शिखहरू अहिले उद्योगी व्यवसायी बनेका छन् । विदेशी भूमिमा रोजगारदाताको चिनारी बनाएका छन् । तर, नैतिकताको एउटा प्रश्न अभैm खबरदारी गरिरहेको छ– ‘कलमको हतियार उज्याएर मानवताविरोधी यस्ता कर्म गर्नेचाहिँ अपराधी हैनन् ? यिनीहरू कानुनको दायरामा आउनु पर्दैन ?’

नेपालमा दैनिक सय रुपैयाँको कमाइ गर्ने मजदुरले १० रुपैयाँ पत्रिकाका लागि छुट्याउँछ । बिहानै उठ्नेबित्तिकै चियाको तलतलसँगै समाचारको भोक मेटाउन झुप्रोदेखि महल एकसाथ ब्युँझन्छ । काठमाडौंमा भारी बोक्ने, टेम्पो चलाउने, सरसफाइ गर्नेहरू सूर्य नउदाउँदै अखबारका सूचनाबाट जानकार भइसकेका हुन्छन् । अझ गरिब भोलि आउने उज्यालोको विश्वासमा वर्तमानको पीडासँग पौंठेजोरी खेल्छ । त्यसैले आजको समाचार उसका लागि भविष्यको मानक हो । स्वभावतः उसको अर्जुनदृष्टि समाचारमा केन्द्रित हुन्छ । सामाजिक सञ्जालमा हेर्ने हो भने युरोप, अमेरिका र खाडीका नेपालीबीच आकाश जमिनको भिन्नता पाइन्छ । युरोप–अमेरिका बस्ने र खाडीमा संघर्ष गर्नेहरूको मापदण्ड हुने खाने र हँुदा खाने नै हो । खाडीमा बस्नेको कमाइ जीविकासँँग जोडिएको हुन्छ भने युरोप अमेरिका बस्नेहरू त्यो देशको नागरिक हुन संघर्षशील हुन्छन् । अपवाद छाडेर देशका लागि पीआरधारीहरू तोरीलाउरे हुन् भने खाडीका डोरीलाउरेहरू सच्चा देशभक्त हुन् । देश सप्रिए विदेशमा बगाउने पसिना र बजार्ने पाखुरी स्वदेशमै उपयोग गर्न पाइने छटपटी उनीहरूमा हुन्छ । ज्यान परदेशमा भए पनि भावना घरमा हुन्छ । नेपालमा छापिने पत्रपत्रिका, सीडी, डीभीडी, अनलाइन पत्रिका, रेडियो, टीभी च्यानलले गर्ने प्रत्यक्ष प्रसारणमा समेत उनीहरूको सक्रिय सहभागिता रहने गरेको छ । एक हातमा गैंती र अर्को हातमा फोन बोकेर श्रोताको कर्तव्य निभाउने तिनीहरूको इच्छाशक्ति साँच्चै प्रशंसायोग्य छ । देशको राजनीतिमाथि खबरदारी गर्नदेखि लोकगीतमा छमछमी नाच्न भ्याएकै छन् । समाजमा खालखालका तप्का छ । चौतारीमा कटुसको काँचो पातमा सुर्ती बेरेर धुवाँ उडाउँदै बीपी, पुष्पलालबाहेकलाई नेता नमान्नेदेखि भट्टीमा डोनाल्ड ट्रम्पको राजनीतिक भविष्यबारे पिर गर्नेहरूको संख्या कम छैन । यी सबै गतिविधिको जमिन भनेको एकाबिहानै आमसञ्चारमाध्यमले पस्किने समाचारको गुणस्तर नै हो । 

कृष्णप्रसाद भट्टराई नेपाली राजनीतिज्ञमा बौद्धिक, गीता निर्देशित कर्म गर्ने तर फलको आशा नगर्ने कर्मयोगी राजनेता हुन् । लोभ, मोहबाट आफ्नो राजनीतिलाई निरपेक्ष राखे । तर, तिनै कृष्णप्रसाद ‘रक्सी खाने बाहुन’ भनेर २०१५ सालको आमचुनावमा पराजित भए । रक्सी खाने पैसाको जोगाड गर्न संसद् जान लागेको भनेर गरेको व्यंग्य पच्न नसक्दा साढे तीन दशकपछि भएको चुनावमा जनमतबाट उनी स्वीकृत हुन सकेनन् । पञ्चायतलाई जसले जतिसुकै सरापे पनि वृद्धवृद्धा लाठी टेकेर, बिरामी एम्बुलेन्स चढेर, सुत्केरी बोकिएर, क्रियापुत्री अलग्गै बसेर भए पनि मतदान गर्ने संस्कारको जस त्यही व्यवस्थालाई जान्छ । ३६४ दिन जसले जति रत्यौली खेले पनि एकदिन मतदाताले दिने विवेकको मतले मात्तिएका, पात्तिएका र मर्म परेकाहरूको न्यायोचित व्यवस्थापन हुने गरेको छ । त्यसैले त राजनीतिशास्त्र भन्छ, ‘जनता कहिल्यै गलत हुँदैन ।’ बेलायती इतिहासमा बेइमान राजालाई चिहानबाट निकालेर भाला रोपिएको र अन्यायमा परेका राजाको कंकाललाई गद्दीमा राखिएको इतिहास छ । त्यसैले ख्याल गरौं– अतिले खति ननिम्त्याओस् । 

टिप्पणीहरू