​बिरामी देखेर मुन्टो नबटार्नु

  • वैकुण्ठ ढकाल

असार १० गते दिउँसो ३ बजेतिर आमाले फोन गर्नुभयो, सहनै नसक्ने गरी दुख्यो बायाँ कोखा भनेर । अस्पताल आउनू भनेर मध्यबानेश्वरबाट महाराजगञ्ज निस्किएँ । आमा र साली कलंकीबाट ।

शिक्षण अस्पतालको आकस्मिक कक्ष पस्नु थियो । त्यहाँ छिर्नु उपचार कम, सजायँँ बढीजस्तो लाग्थ्यो । एउटै बेडमा चार जनासम्म बिरामी । बिरामीलाई एक्स रे रुममा लैजाँदा बेडमा अर्को बिरामी आइसकेको हुन्थ्यो । मनमोहनको सबै रिपोर्ट थियो, निमोनिया नै भनेर डाक्टरले औषधि चलाए । उपचार चल्दै थियो, केही थप परीक्षण पनि भयो । तर, म एकदमै उकुसमुकुस भइसकेको थिएँ । जसरी पनि इमरजेन्सीबाट वार्डमा सार्ने, वार्डमा बेड नभए पनि अब्जरभेसन वार्डमा सार्ने उपाय खोज्न थालें । साथीहरूमार्फत निर्देशकसम्मको फोन नम्बर संकलन गरिसकेको थिएँ । तर, त्यहाँसम्म नपुगौं भन्ने पनि भयो । साथी सन्तोषले शिक्षण अस्पतालमा कार्यरत डाक्टर मनीषको नम्बर दिए, उनले निकै राम्रो सहयोग गरे । जीवनजल र दालको झोलले केही काम ग¥यो । साढे १० बजे डाक्टर मनीष निस्किए । साढे १२ बजे आएर फेरि हेरे । मलाई रातभर नसुती आमालाई हेर्न भनेर हिँँडे । यसले अवस्था जटिल नै हो कि भन्ने प¥यो ।

भोलिपल्ट राउण्डमा आएका डाक्टरले डिस्चार्ज गर्ने निर्णय सुनाए एक पटक इन्टिबायोटिक चलाएर । मुटुको धड्कन निकै कम भएकाले फेरि मनमोहनमा एक पटक जाँच गराउन सल्लाह दिएका थिए, डाक्टर मनीष र अरूले पनि । मनमोहनमा ओपीडीको टिकट लिइसकेको थिएँ । पालो २१ नम्बरमा थियो । डाक्टर सूर्य देवकोटालाई आफ्नो कुरा राखेको थिएँ । एक बजेको समय पाएकाले, टिचिङबाट मनमोहन लागियो । पुग्दा सवा एक बजेको थियो । १३ औं नम्बरको बिरामी हेरिरहेका थिए डाक्टरले । अघि नै समय लिएकाले भित्र पसिहालें । पालो मिचेकामा डाक्टर खुशी देखिएनन्, म पनि पालो मिच्नुपर्दा खुशी थिइनँँ । तर, आमालाई निकै गाह्रो भइरहेको थियो । परीक्षण गरे । औषधि लेखिदिए ।

हल्टरका लागि १८ गते अस्पताल पुग्नुपर्ने थियो । हल्टर गर्ने लामो समय पर्खनुपर्ने भनेपछि ठूलै र गाह्रो परीक्षण होला भन्ने लागेको थियो । गुगलले यसबारे भनेको थियो । यू ट्यूबमा भिडियो नै थियो । यो मुटुको धड्कनको अवस्था हेर्ने यन्त्र रहेछ । जुन सजिलै लगाएर हिँड्न मिल्ने र यसले दैनिकीमा कुनै पनि असर नगर्ने रहेछ । १९ गते बिहान हल्टर मेसिन खोलेर अस्पतालमा बुझाएँ, धरौटी रकम फिर्ता लिएँ । रिपोर्ट चाँडोमा दिउँसो एक बजे आउने रहेछ । अस्पताल र कार्यालय दुबै छाड्न मिल्ने थिएन । डाक्टर सूर्य १८ देखि नै बिदामा थिए, २२ गतेसम्म । आमा कोठामा बस्दा बस्दा उकुस, मुकुस भइसक्नुभएको थियो । त्यो भन्दा रिपोर्ट आइसकेपछि के गर्ने भन्ने टुंगो लाग्यो, जसरी पनि चाँडो रिपोर्ट देखाउनु थियो ।
प्राध्यापक डाक्टर अरूण सायमिलाई २ गते भेटें । एक हप्ता औषधि खाने, सुधार नभए पेशमेकर राख्ने सल्लाह दिए ।

मुटुको धड्कन कम हुँदा बिरामीलाई रिँगटा लाग्ने रहेछ । जुनसुकै बेला जहाँ पनि ढल्न सक्ने खतरा । पछि पो थाहा भयो, यो अवस्थाबाट आमा पहिलेदेखि नै गुज्रिसक्नुभएको रहेछ । ढल्ने उठ्ने गरेर । पछिल्लो पटक मंसिर अन्तिम दिन बेहोस हुनुभएको रहेछ । असार ८ गते राति पनि सहन सक्नेसम्म गरी दुखेको भए सहने नै सुर रहेछ, तर सहन सक्नु भएन । त्यो दुखाइ ठीकै भयो, कम्तीमा समयमै अस्पताल ल्याउन सघायो । समस्या पहिचान भयो ।

एक हप्ताको निम्ति भने पनि मैले दुई हप्ताभन्दा बढीलाई पुग्ने औषधि लिएको थिएँ । आमालाई लिएर केही दिनपछि घर गएँ । आमा पुरानै दैनिकीमा फर्कनुभयो । आफू ठीक भएको ठान्नुभयो । फलोअपका लागि अस्पताल नै नजाने भन्ने लागिसकेको रहेछ । असार अन्त्यमा बाढीले वित्यास पारिसकेको थियो । घरमा आमासँग मात्र हैन, कोहीसँग पनि सम्पर्क भइरहेको थिएन । बाढी पहिरोका कारण बिजुली गयो, बिजुली नभएपछि टेलिफोनको टावरले काम गरेन, टावर नभएपछि कसरी सम्पर्क हुनु ? एक हप्तासम्म सम्पर्कविहीन ।

साउन २ गते आमा एक्लै आउनुभयो काठमाडौं, गाडीको यात्राले आमालाई पहिलेदेखि नै गाल्थ्यो, अहिले त झन् बिरामी । गाह्रो त हुने नै भयो । भोलिपल्ट साउन ३ गते गयौं अस्पताल । भेट्यौं, डाक्टर सायमि । दुई हप्तासम्म औषधि खाँदा पनि अवस्था सुध्रिएन । पेशमेकर राख्नुको विकल्प रहेन । राख्नुपर्ने भएपछि चाँडै गरौं भन्ने नै भयो । डाक्टर सायमिले डाक्टर सञ्जीव थापासँग सल्लाह गर्न भने । सल्लाह भयो, आमा अप्रेशन नगर्ने भन्नेमा हुनुहुन्थ्यो । अरूले सुनाइसकेछन्, अप्रेशन गरेपछि केही गर्न सकिँँदैन भन्ने डर देखाइसकेछन् । हात चलाउन नहुने हो भने अप्रेशन गर्दिनँ, कुँजो बसेर के गर्नु ? दुवै आँखामा आँसु भरिए । आँखा जुध्यो, अनि आँसु झ¥यो मेरो पनि । आमाको मुहार देखेर म दोस्रो पटक रोएँ । १७ वर्षअघि पनि रोएको थिएँ, पूरै सेतो वस्त्रमा फुङ्ग उडेको अनुहार देखेर । त्यो बेला म टुहुरो भएको थिएँ, आमा पति वियोगमा हुनुहुन्थ्यो । पछिल्ला वर्षमा पनि साउनमा केही न केही परिरहेकैै थियो । डाक्टर र आमाको सवाल जवाफ करुण रसले भरिएको थियो ।

आमा अझै औषधि खाएर ठीक हुन सकिन्छ कि भन्दै हुनुहुन्थ्यो, आमाको चित्त बुझाउनकै लागि मैले डाक्टरलाई सोधें– अलि पछि गर्दा के होला ? जवाफ चाँडै गर्दा राम्रो भन्ने आयो ।

आमालाई बाहिर पठाएर मसँग मात्रै कुरा गर्दा मनमा के–के उठ्यो होला ? साउन ६ बिहान ८ बजेका लागि अप्रेशनको मिति तय भयो । ५ गते राति १० बजेदेखि केही नखुवाउनु आमालाई– डाक्टरको अन्तिम वाक्य ।

शुक्रबार नै सामाजिक सेवाबाट पाइने सुविधाका लागि कागजपत्र बनाइसकेको थिएँ, दाइले त्यसैदिन नगरपालिकाबाट सिफारिस बनाउनुभयो । खर्चपर्चको विषयमा दाजुभाइबीच सल्लाह र व्यवस्थापनका कुरा भयो । संयोगले खर्च व्यवस्थापन पनि सहजै भयो । साउन ३ गते बेलुका डेरा पुगेर पेशमेकरले कसरी काम गर्छ, कसरी राख्ने ? भनेर यू ट्यूबमा सर्च गरें । भारत र बेलायतको अभ्यास हेरें । कति सहज ! बेलायतमा त पेशमेकर राखेको दिन नै बिरामी डिस्चार्ज भएको देखाइएको थियो । भारतमा चाहिँँ भोलिपल्ट डिस्चार्ज भएर पर्सिपल्टदेखि काममा फर्किएको अनुभव सुनाइरहेका थिए । यसले मलाई ढुक्क बनायो, आमालाई पनि त्यही कुरा सुनाएँ । हिन्दीमा भएको भिडियो देखाएँ, आमाले बुझ्दिनँ भन्नु भो, दृश्य मात्रै हेर्नुभयो ।

साउन ६ गते बिहान पौने आठ बजे नै अस्पताल पुग्यौं । कागजपत्र मिलाउने, औषधि किन्ने, धरौटी राख्नेलगायत काम सकियो । अप्रेशनलाई डेढ दुई घण्टा लाग्छ भन्थे डाक्टर । सफल भयो । म कालो चिया र बिस्कुट खुवाउँदै थिएँ सिसियूमा । डाक्टर सञ्जीव पनि आइपुगे । आमा रुनुभयो, पीर गर्नुभयो भनें । मैले भारत र बेलायतमा पेशमेकर राखेका बिरामी आधा दिन मात्रै अस्पताल बस्ने रहेछन् भनें । डाक्टर सञ्जीवले नेपालको अवस्थाबारे बुझाए, अप्रेशनपछिको जटिलता र इन्फेक्सनको खतरा औंल्याएँ, कम्तीमा तीनचोटि डे«सिङ गरेर मात्रै पठाउने भने । एक दिन बिराएर डे«सिङ । यसले कम्तीमा ६ दिन अस्पताल बस्नुपर्ने भयो । डे«सिङ डाक्टरले नै गर्ने, डिस्चार्जपछि पनि तीन पटक डे«सिङका लागि अस्पताल पुग्नुपर्ने भयो ।

२४ घण्टापछि सिसियूबाट वार्डमा सार्ने कुरा थियो तर ४८ घण्टापछि मात्रै  सारियो । दुई दिन आमा सिसियूमा बस्दा थाहा भयो तुलनात्मक रूपमा सबैभन्दा सामान्य बिरामी नै आमा । अरू, अरू बिरामी कुरुवा र आफन्तसँगको कुराले त्यही देखायो ।

पछिल्लो समय मलाई अप्रेशनभन्दा पनि इन्फेक्सनको डर बढी लाग्ने भएको थियो । मेरा दुई साथीका श्रीमतीको सिजरिङ सेक्सनपछिको इन्फेक्सनले दिएको दुःखले निकै दुखाएको थियो । मेरो श्रीमतीको पनि दोस्रो पटक सिजरिङ गरिएको थियो । गर्मी महिना जेठ १० गते सिजरिङ, इन्फेक्सनको डरले धेरै पिरल्थ्यो तर भएन राम्रो भयो । आमाको पनि राम्रो भयो ।

जनरल वार्ड ए को ३२८ नम्बरको बेडमा सारियो साउन ८ मा । डाक्टर राउण्ड आउने बेलामा नर्सहरूले कागज बेडमै राखिदिएका थिए । अप्रेशन गर्ने बेलामा दिइएको मञ्जुरीनामा कागज पनि भेटियो त्यसमा १० वटा बुँदा थियो । धेरै रगत बग्ने र त्यसका लागि पुनः शल्यक्रिया गर्नुपर्ने, मुटुको चालमा खराबी आउने साथै पेशमेकर राख्नुपर्ने, पक्षघात हुन सक्ने, लामो समय भेन्टिलेटरमा राख्नुपर्ने, छातीको संक्रमण हुन सक्ने, घाउ पाक्ने, पुनः शल्यक्रिया गर्नुपर्ने, रगत पातलो बनाउने औषधिका समस्या हुन सक्ने, मृत्युसम्म हुन सक्ने र अन्तिम बुँदामा थियो माथि उल्लिखित जोखिमबाहेक अन्य समस्या पनि हुन सक्ने । नौ नम्बरको बुँदामा मृत्यु हुन सक्ने भनिसकेपछि १० नम्बरमा अन्य जोखिम किन लेखेको होला ? मृत्युभन्दा ठूलो अर्को जोखिम के होला र ?

अन्य अस्पतालभन्दा मनमोहनको व्यवस्थापकीय पक्ष बलियो लाग्यो । नर्स र अन्य कर्मचारीको बोलीवचन पनि राम्रो । टिकट, औषधि र क्यास काउन्टरमा लामो समय लाम बस्नुपर्ने अवस्थाको पनि अन्त्य गरोस् ।

साउन १६ गते आमाको छैटौं तथा अन्तिम ड्रेसिङ गर्ने दिन बढीमा तीन मिनेटको काम । अघिल्लो दिनै ड्रेसिङ गर्ने डाक्टरलाई बिहान ९ देखि १० बजेभित्रको समय मागेको थिएँ, एसएमएस गरेर । कुनै रेस्पोन्स आएन । अस्पताल पुगेर दुईचोटि डाक्टरलाई फोन गर्दा पनि उठेन । तेस्रो पटक गर्दा त मेरो नम्बर ब्लक गरिसकिछन् । डाक्टर–बिरामीबीच संवाद हुनुपर्ने कुरालाई किन अस्वीकार गरिन् ? त्यो दिन साढे चार घण्टा कुर्नुप¥यो । कुराइन् चार घण्टा । त्यो डाक्टरले हेक्का राखुन् अहिले डाक्टर बन्न भन्दा मानव बन्न गाह्रो छ । डाक्टर त भइहाल्यौ, अब मानव बन्न सिक । योबाहेक कुनै गुनासो रहेन मनमोहन अस्पतालसँग ।

१६ गते कार्डियोलोजी विभागका प्रमुख डाक्टर अरूण सायमिलाई फोन गरें, भेटेरै धन्यवाद दिन । बैंकमा काम भएर निस्कनुभएको रहेछ । त्यसको १३ मिनेटपछि गेटमा भेट्नुभयो । ढुक्कले घर जान भन्नुभयो । फलोअपका लागि तोकिएको दिनमा आउन सुझावसहित ।
असार ९ देखि साउन १६ सम्म अस्पताल बसाइका क्रममा धेरैलाई चिनियो । ०५९ सालमा बाको मृत्युमा केही मानिसको असलियत देखिएको थियो । उनीहरूको व्यवहार अहिले पूर्णरूपमा फेरिएको पाएँ । अस्पतालमै भेटेर आमाको स्वास्थ्य लाभको कामना गर्ने, फोन अनि सामाजिक सञ्जालमार्फत असल कामना गर्ने सबैलाई धन्यवाद । डेढ वर्षदेखि आज, भोलि भनेर झुलाउने र पछिल्लो समय फोन नै नउठाउने दुई जना पात्रलाई सधँँै सम्झिरहन्छु । साउन ६ गते आमाको अप्रेशन हुने दिन मनमोहन पुगेर पनि नदेखेझैं गरी बाहिरिने महाशयलाई त कसरी बिर्सनु ? अप्ठ्यारोमा हो चिनिने मान्छे । 

टिप्पणीहरू