​नेताको नाम बेच्दै मनपरी

जसरी टुप्पीवाल अजेयराज सुमार्गीको सम्पत्तिको स्रोत देखिँदैन,  ठीक उही ढंगले दिन दुई गुणा रात चौगुणा व्यापारको  साम्राज्य बिस्तार गर्दैछन् एक व्यक्ति । भाइ नक्कली सामान कारोवारी, दाइको कांग्रेसका प्रभावशाली नेतासँग उठबस । यस्तो कनेक्सन भएपछि अनुज र अनिल रुंगटाको दादागिरीको सीमा छैन् । 

नक्कली सामान बेचेर व्यापारिक साम्राज्य खडा गर्न सफल यी दाजुभाइको लगानी  काठमाडौंदेखि वीरगञ्ज र विराटनगरसम्म फैलिएको छ । काठमाडौंमा जगदम्बा इन्टरप्राइजेज, वीरगञ्जमा होटल दियालो, दियालो लर्डस प्लाजा । शिक्षाका व्यापारी उमेश श्रेष्ठ, विनोद चौधरीझैं पार्टी सभापति शेरबहादुर देउवालाई भेटी चढाएर अनिल दोस्रो संविधानसभामा समानुपातिक सभासद् बने । तर, जनाधार थिएन । गत आम निर्वाचनमा पर्सा २ बाट उम्मेदवार त बने, तर सडकमै पुग्नेगरी पछारिए । निर्वाचनमा पत्तासाफ भएपछि तिल्मिलाएका उनैले गत महिना मात्र देउवालाई प्रमुख अतिथि बनाएर वीरगञ्जमा दियालो होटल उद्घाटन गराए । 

बाहिर होटल चलाए पनि उनीहरुको असली धन्दा चाहिँ स्टिल, फलामे रड, छडलगायतका सामान चोर्दै बेच्ने हो । यही अभियोगमा अनिलका भाइ अनुज पटक–पटक प्रहरीको फन्दामा पर्दै आएका छन् । यी दाजुभाइले धेरै ठाउँमा अवैध लगानी गर्दै आएको उनीहरुलाई नजिकबाट चिन्ने र जान्नेहरु सुनाउँछन् । र, चलाखी कस्तोसम्म भने लगानी कहिल्यै १० लाखमाथि नगर्ने । कारण दश लाखभन्दा माथिको लगानी गर्दा एसी पेई (एकाउन्ट पेइ) भुक्तानी गर्नुपर्छ । इच्छाबहादुर तमाङ र उनको सिभिल ग्रुपले झैं सधैं ९ लाखभन्दा कम लगानी गर्दै गरेको भेटिन्छ । उनीहरुले लगानीको स्रोतसमेत देखाउन नसकेको स्रोतको भनाइ छ । 

टिप्पणीहरू