सर्वसाधारण झुक्याउँदै सरकारी निकाय

सर्वसाधारण झुक्याउँदै सरकारी निकाय

सरकारी निकायहरुबाट दैनिक सैयौं सूचना जारी हुने गर्छन् । विशेषतः सुरक्षा निकायले विभिन्न विषयमा नियमित सूचना जारी गर्छन् । त्यस्ता सूचनालाई सर्वसाधारणले आधिकारिक मान्छन् । तर, केही सूचना भने पत्यार नलाग्ने ढंगले सार्वजनिक हुँदै आएका छन् । त्यसको उदाहरण बनेको छ, सगरमाथा फुड प्रोडक्ट नेपाल, गोठाटार, काठमाडौंमा प्रहरी र वाणिज्य विभाग बबरमहलले संयुक्तरुपमा मारेको छापा र जारी गरिएको सूचना हो ।

घटना गत सोमबारको हो । प्रहरीले सगरमाथा फुड प्रोडक्ट नेपालमा छापा मार्दा मसला, चिजबल्स कालोबजारी गरेको भन्दै एक प्रेस विज्ञप्ति जारी गर्यो । जारी विज्ञप्तिका आधारमा जनआस्था अनलाइनमा समाचार पनि प्रकाशित भयो । तर, समाचार प्रकाशन भएको पर्सिपल्ट पक्राउ परेका भनिएका व्यक्ति सम्पर्कमा आए ।

उनले प्रश्न गर्दै भने ‘मलाई कति बेला प्रहरीले समात्यो ?’ तपाईंले लेख्नुभएको समाचार सरासर गलत छ ।’ ती व्यक्ति हुन्, सगरमाथा फुड प्रोडक्ट नेपालका सञ्चालक पवनकुमार साह ।

साहले प्रहरी र वाणिज्य विभागले आफ्नो उद्योगमा छापा मारे पनि महानगरीय प्रहरी परिसरको सूचनामा उल्लेख भएअनुसार उद्योगमा ४५ लाख बराबरको सामान नै नभएको बताएका छन् । उनले म्याद गुज्रेकाले फोहोरमा फाल्न बाहिर राखेको सामानलाई रिलेबलिङ्ग गरेको भनेर जारी गरिएको सूचना नै झुठो भएको बताए ।

यसो त प्रहरीले भने साहलाई पक्रेर वाणिज्व विभागमा बुझाएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार ‘प्रहरी र वाणिज्य विभागले संयुक्त रुपमा छापामार्दा साहलाई म्याद गुज्रेका चिजबल्सहरुमा रिलेबलिङ्ग गर्दै गरेको अवस्थामा समातेर आवश्यक कारवाहीका लागि वाणिज्य विभागमा बुझाएको हो ।’

यता, विभागले भने साहको उद्योगबाट जम्मा चार हजार एक सय २० रुपैयाँको चिजबल्सजन्य सामाग्री नष्ट गरेको जनाएको छ । छापामार्ने क्रममा विभागले साहको उद्योगबाट उक्त परिमाणको सामाग्रीको म्याद गुज्रेको पाएपछि नष्ट गरेको अनुगमनको विवरणमा उल्लेख गरेको छ ।

विभागले जारी गरेको विवरणमा साहको उद्योगबाट दश रुपैयाँ प्रतिप्याकेट पर्ने चिजबल्स एक हजार २० तथा बीस रुपैयाँ प्रति प्याकेट पर्ने चिजबल्स तीन हजार एक सय रुपैयाँ गरि कुल चार हजार १ सय २० रुपैयाँको सामाग्री नष्ट गरिएको उल्लेख छ ।

प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार समाचार प्रकाशित गरेका मिडियाहरुको बिरोधमा उद्योग सञ्चालक साहले कानुनी उपचारमा जाने बताएका छन् । उनले गलत समाचारका कारण आफूले धेरै क्षति भोग्नुपरेको बताउँदै मानहानीको मुद्दाको लागि अघि बढ्ने बताएका हुन् ।

उनले क्षतिपूर्तिको मागसहित अदालत जाने जानकारी दिएका छन् । उनको उद्योग मनमुरी कृषी सहकारी संस्थाद्वारा सञ्चालित छ । साहले कुनै त्यस्तो अमानवीय गतिविधि नगरेको भन्दै सहकारीद्वारा सञ्चालित बजारकी अध्यक्ष जयकला बस्नेतले जानकारी दिएकी छन् ।

बस्नेतका अनुसार सहकारीले उनलाई चालु वर्ष उकृष्ट उद्यमीकोरुपमा सम्मान गर्न लागेको बताएकी छन् । अध्यक्ष बस्नेतले पनि विभागले बरामद गरि नष्ट गरेको सामाग्री फोहोरमा फाल्न साहले बाहिर राखेको दाबी गरेकी छन् ।

सञ्चालक साहले सहकारीबाट ऋण लिएर उद्योग सञ्चालन गर्दै आएका थिए । समाचार प्रकाशन भएपछि उनको उत्पादनले बजार नपाएको र बजारमा गएको सामाग्री समेत फिर्ता लैजान ताकेता आएको गुनासो समेत उनले सुनाएका छन् ।

टिप्पणीहरू