​कमजोरीमा खेलेर, संस्थालाई पेलेर

  • शिवजी श्रेष्ठ 

अन्य क्षेत्रमा विशिष्ट श्रेणीको सरुवा–बढुवाप्रति त्यति चासो हुन्न तर नेपाल प्रहरीको प्रत्येक हेरफेरलाई राम्रैसँग निगरानी राखिन्छ । अहिले कञ्चनपुरको बलात्कार काण्डले त्यस्तै स्थान पाएको छ, जस्तो कि केही समयपहिले ३३ किलो सुनकाण्ड छाएको थियो ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने संस्था भएकाले जनचासो अरूभन्दा अलि बढी हुनु स्वाभाविकै हो तर कहिलेकाहीँ चाहिनेभन्दा बढी नै निदिखुदी गरिएको हो कि ? भन्ने भान हुन्छ । प्रहरी प्रमुखको नियुक्तिमा त अझ झन् महिना दिन अघिदेखि नै पक्ष–विपक्षमा बाँडिएर क्याम्पेन सुरु हुने गर्छ । अनि प्रचारबाजी यतिसम्म हुने गर्छ कि फुली लगाउँदासम्म कि त हिरो जस्तो कि भिलेनजस्तो बनाइदिइसकेको हुन्छ । जो प्रहरी प्रमुख भए पनि अर्का प्रतिस्पर्धीलाई साथै मिलेर काम गर्ने सक्ने वातावरणबाट धेरै टाढा पु¥याइदिइसकेको हुन्छ, यस्तोमा कि त बढुवा हुन नसकेकाले जागिर छाड्ने, कि त स्थायी प्रतिस्पर्धी नै भएर टाङ अडाइरहने अवस्थामा पु¥याइन्छ । यसमा सबैभन्दा बढी जिम्मेवार सञ्चारकर्मी र सोसियल मिडियामा रमाउने समूहलाई मान्ने कि ? 

समाजको एउटा तप्का जहिल्यै प्रहरी विवादमा परेको समाचार पढेर, देखेर अनि सुनेर रमाउने गर्छ, कुनै स्वार्थ त हँुदैन तर त्यसबाट उसले आनन्द लिने गर्छ । सँगसँगै एउटा अर्को वर्ग छ, जसले प्रहरीको प्रत्येक कमजोरीमा आफ्नो सबलता र सफलता देख्छ । जुनसुकै संगठनभित्र कमजोरी हुन्छ, अनि त्यसभित्र राम्रा–नराम्रा दुवै किसिमका मान्छे हुन्छन् । कुनै एउटा कर्मचारीको कमजोरीलाई सम्पूर्ण प्रहरी संगठनकै दोषका रूपमा समाजमा ल्याउन खोजिन्छ । अहिले कञ्चनपुरका स्थानीय प्रहरीको कमजोरीलाई सम्पूर्ण प्रहरीको कमजोरीको रूपमा उछाल्ने काम भइरहेको छ । हो, त्यहाँको तत्कालीन जिल्ला नेतृत्वले निकै ठूलो कमजोरी देखाएकै हो, अझ भनांै यो संवेदनशील मुद्दालाई गैरजिम्मेवार तवरले ‘ह्यान्डल’ गर्दा यहाँ र यो स्तरसम्म आइपुग्यो । जुन कुरालाई नेपाल प्रहरीको मुख्य नेतृत्वले महसुस गरिसकेको छ र त कञ्चनपुर नै पुगेर ‘जिल्ला प्रहरीको प्रमुखको नालायकीपनका कारण यस्तो हुन गयो’ भनी निलम्बन नै गरिसकिएको छ । 

प्रहरीको कमजोरीमा रमाउने एउटा कारक प्रहरी नै हो, जसले हिजो प्रहरीमा काम परेर आएका जनताको अपेक्षालाई उपेक्षा गरी दुःख दिए, जसलाई मनको कुनै कुनामा लुकाएर बसिरहेका पीडितले यतिखेर बदला लिन अवसरको रुपमा प्रयोग गरे । यस्ता कुरा केही कर्तव्य विमुख प्रहरी कर्मचारीका कारण गर्छ हुन् तर त्यसबाट पूरै संगठनप्रति दुर्भाव पैदा गरिदिन्छ । यसको निराकरण प्रहरीभित्रको शद्धीकरण नै हो, जो आवश्यक अनि सम्भव पनि छ ।

तर, एउटा अर्को तप्का पनि छ, जो प्रहरीको कमजोरीमा आनन्द मान्छ, जसलाई प्रहरीले उसको गल्तीमा कुनै दिन कारबाही गरेको थियो, जुन कानुनतः गर्नुपर्ने पनि थियो । यस्ता तप्काले बदला लिन प्रहरीको यस्तै कमजोरीको प्रतीक्षा गरिरहेको हुन्छ । अर्को तटस्थ तप्काले यो कुरालाई बुझेको हँुदैन र तिनीहरूकै लहैलहैमा लागिदिन्छ । मौका पर्नासाथ तटस्थहरूको मञ्चलाई प्रयोग गरी कैलालीजस्ता घटना उछाल्न पछि पर्दैन ।

कमजोर प्रहरीले कसैको हित हँुदैन, हुन्छ भने बलियो प्रहरी (सुव्यवस्था) हुँदा जसको स्वार्थमा असर पुग्छ, त्यसको चाहिँ पक्कै मस्ती हुन्छ । अनि प्रहरीको गिरेको मनोबलले सुव्यवस्था कायम हुने कुरै भएन । अहिले विभिन्न काण्डको नाममा भटाभट निलम्बित हँुदा पक्कै पनि प्रहरीको मनोबल गिर्छ । प्रहरी प्रमुखको सल्लाहविपरीत र गहिराइमा नपुगी कसैलाई थुमथुमाउनका लागि यसरी तालुक मन्त्रालयले समिति बनाउँदै जाँदा यसले पक्कै पनि प्रत्युत्पादक परिणाम दिन सक्छ । प्रहरी प्रमुखलाई जति आफ्नो मातहतबारे कसलाई थाहा होला ? कमजोर प्रहरीले बलियो प्रशासन दिनै सक्दैन । 

द्वन्द्वकालमा माओवादीको मुख्य प्रहारविन्दु प्रहरी नै थियो, उसले ठान्थ्यो हामीले ल्याउन खोजेको राज्य व्यवस्थाको मुख्य बाधक यही हो । अनि हान्थ्यो त्यही प्रहरीमाथि, उता राज्यव्यवस्थाको जिम्मा लिएर बसेका प्रमुख राजनीतिक पार्टी ठान्थे, माओवादीले प्रहरीलाई त हानेको छ नि ! विचरा प्रहरी एक्लै लड्थ्यो, अरू राज्यका अरू अंग पनि प्रहरीमाथिको माओवादी प्रहारलाई यही रूपमा लिन्थे, आफूमाथिको पनि प्रहार हो भनेर कहिल्यै ठान्दैनथे । युएन मिसनअन्तर्गत पूर्वी टिमोरमा सन् २००१ मा सँगै काम गर्दा तत्कालीन शाही नेपाली सेनाका मेजर माओवादी जनयुद्धताका रुकुम बस्दाका घटना फुर्तीसाथ् सुनाउँथे, जुन बेला सेना परिचालन भइसकेको थिएन, सशस्त्र प्रहरी स्थापना भइसकेको पनि थिएन, नेपाल प्रहरी मात्रै युद्ध मैदानमा थियो, ‘बुझ्नु भो सा’ब, ब्यारेकबाट यसो मर्निङ वाकमा तल गाउँको पसलमा चिया खान पस्यो, माओवादी बग्रेल्ती भेटिने, सँगै बसेर चिया खाँदै गफ गर्दा ३’’३ राइफल उनीहरू बसेको बेञ्चमुनी हुने, अनि ए हामी आएको बेला त यसो लुकाउनु नि भन्थ्यौं, माओवादी हाँथ्यो, अनि चिया खाएपछि हात मिलायो– छुट्टियो’, हामीले सोधेका थियांै, ‘अनि त्यहाँको डिएसपीलाई भन्नु भएन ?’ उनी हाँस्दै भन्थे, ‘किन भन्नु ?’ उनको संकेत थियो, सेनासँग दुश्मनी छैन, प्रहरी कमजोर भए हामीलाई के ?’ 

एकदिन हामी इष्ट टिमोर हुँदाहँुदै बिहानै खबर आयो, शाही नेपाली सेनाको दाङस्थित गुल्ममा माओवादीले आक्रमण गरेर मेजरसहित १६ जना मारेर ट्रकका ट्रक हतियार लिएर गयो, तिनै मेजरलाई मैले नै फोन गरेर त्यो खबर सुनाएँ, सुरुमा त उनले मरे पत्याएनन् । उनलाई विश्वास थियो, माओवादीले त प्रहरीलाई मात्रै टार्गेट गर्छ नि ? तर, आखिर सेना पनि  मैदानमा आउनुप¥यो । माओवादीसँग आमनेसामने गर्नै प¥यो । प्रहरी कमजोर भएपछि राज्यको अरू अंग पनि बाकीँ नरहने रहेछ नि !

सुरुमा प्रहरीको मात्रै समस्याजस्तो देखिन्छ, अनि मात्रै टार्गेटजस्तो लाग्छ । हुने त्यस्तै हो अनि देखिने पनि त्यस्तै, अनि प्रहरी मात्रै कमजोर भएझैँ लाग्छ तर कालान्तरमा प्रहरी कमजोर भएसँगै सम्पूर्ण राज्य व्यवस्था कमजोर हुन पुग्छ । यसको मतलव प्रहरीभित्र सोह्रै आना ठीक छ भन्ने पनि होइन, केही कुहिएका आलु पक्कै छन् तर पूरै बोराचाहिँ कुहिएको छैन, त्यहाँ धेरै राम्रा–राम्रा आलु पनि छन्, ती कमजोर हुनुहुन्न । पूरै बोरामाथि एकोहोरो प्रहार हुनुहुन्न ।

टिप्पणीहरू