ब्लक–ब्लकमा मन्त्रीहरूको बबाल

मन्त्री भएर मात्र नहुने, क्वार्टर राम्रो फेला नपरेपछि अरूले पनि हेप्ने ! त्यसमाथि अहिलेको जस्तो ‘जन्ती क्याबिनेट’ हुनुपर्छ, अनि देखिन्छ पुल्चोकतिर रमिता ! यो त्यहीँ, अर्थात् पुल्चोक मन्त्रीक्वार्टरतिरको रमिता हो । राम्रा र सुविधासम्पन्न भवन जति माओवादीका मन्त्रीहरूले कब्जा जमाएपछि कांग्रेसका मन्त्रीहरू हिस्स छन् । ‘जन्ती क्याबिनेट’ का कांग्रेसमन्त्री भने पुरानो भवनमा चित्त बुझाउन बाध्य छन् । वीरेन्द्र राजा हुनेबित्तिकै बनेका ‘ए’ र ‘बी’ ब्लक जति कांग्रेसका भागमा, १५ वर्षअघि बनेका ब्लक ‘सी’ र ‘डी’ मा माओवादीका मन्त्रीले बास बसाएका छन् । फोरम लोकतान्त्रिकका आध्यक्ष विजयकुमार गच्छदार पानी चुहिने छानो भएको क्वार्टरमा परेका छन् ।

ब्लक ‘सी’ र ‘डी’ माओवादीका प्रभु साह, जनार्दन शर्मा, कृष्णबहादुर महरा छन् । शहरी विकास मन्त्रालयमातहतको भवन सम्भार तथा डिभिजन कार्यालयले पुल्चोकको बुकिङ लिन्छ । त्यसैले, विभागीय मन्त्री अर्थात् शहरी विकास मन्त्रीका लागि चाहिँ सुविधासम्पन्न अलग्गै क्वार्टर तयार हुने गरेको छ । त्यहाँको डी–१ ब्लकमा ज्ञानेन्द्रबहादुर कार्की, डी–२ ब्लकमा प्रभु साह, डी–३ ब्लकमा जनार्दन शर्मा, डी–४ ब्लकमा कृष्णबहादुर महरा र डी–५ ब्लकमा जितेन्द्र देव बस्दै आएका छन् । उपप्रधानमन्त्री गच्छदारचाहिँ पुरानो क्वार्टरमा बस्दै आएका छन् भने उनकै पार्टीबाट मन्त्री बनेका जितेन्द्रनारायण देवको भागमा नयाँ र सुविधासम्पन्न क्वार्टर परेको छ ।

मन्त्री क्वार्टरमा समेत गुटको प्रभाव राम्रै देखिएको छ । प्रचण्ड गुटका मन्त्रीले राम्रो क्वार्टर कब्जा जमाएका छन् भने नारायणकाजी गुटका गिरिराजमणि पोखरेललाई पुरानो क्वार्टर छुट्ट्याइएको छ । पुल्चोकस्थित मन्त्री क्वार्टरमा जम्मा १८ वटा मात्र क्वार्टर छ । एउटा क्वार्टरमा उपसभामुख गंगा यादव बस्दै आएका छन् । बाँकी क्वार्टरमा पोखरेल, गच्छदार, मोहनबहादुर बस्नेत, राजन केसी, शिवकुमार मण्डल, महेन्द्र शाही, मीनबहादुर विश्वकर्मा, टेकबहादुर बस्नेत, वीरबहादुर बलायर, आशा खनाल, गोपाल दहित, फरमुल्ला मन्सुर र यज्ञबहादुर थापा बस्दै आएका छन् । बाँकी ३६ मन्त्री र राज्यमन्त्रीका लागि २ लाख रुपैयाँ निवास खर्च सरकारले व्यहोर्ने गर्छ । जसमध्ये एक लाख सेन्ट्रीका लागि र एक लाख फर्निचरका लागि छुट्ट्याइने गरेको डिभिजन कार्यालय स्रोतले जनाएको छ । सोमबार नियुक्त भएका राप्रपाका तीन मन्त्रीबाहेक बाँकी अन्य मन्त्रीले यो खर्च लगिसकेका छन् ।

नक्कली त यता पो निस्किए
बिरामीको उपचार गर्नुेपर्ने डाक्टरले न्यायालय चलाउँछु, मुद्दा–मामिला मिलाउँछु भन्दै हिँड्यो भने के होला ? अचेल यस्तै धन्दामा लागेका छन् एकजना डाक्टर । 

सप्तरी घर भएका उनी गोंगबुस्थित विनायक अस्पतालमा कार्यरत छन् । मधेसीमूलका मन्त्री, सांसददेखि पूर्व प्रधानन्यायाशीधहरू रामकुमार साह, अनिल कुमार सिन्हा र हालै मात्र न्यायाधीशमा बढुवा भएका एकजना महतो थरका व्यक्तिको नाम लिएर काठमाडौं जिल्ला अदालत, पाटन उच्च अदालतदेखि सर्वाेच्च अदालतसम्म आफ्नै मान्छे भएकाले सेटिङ मिलाएर मुद्दा जिताइदिन्छु भन्दै दुवै पक्षसँग बार्गेनिङ गर्दै पैसा उठाउँदै हिँड्ने गरेको चर्चा छ । 

सरकारी अस्पतालमा नाम निकाल्न उनले लाखौं प्रयास गरे । सफल भएनन् । र माओवादीको लगानी रहेको जनमैत्री अस्पतालमा कार्यरत थिए एक समय । त्यो अस्पताल कर्मचारीलाई तलब खुवाउन नसकेपछि र बैंकको ऋण तिर्न नसक्दा बन्द भय@X पछाडि उनी मोडिए विनायक अस्पतालमा । अदालत आसपासमा गएर त्यहाँका झगडिया र मुद्दावाल दुवैसँग पैसा माग्दै केस मिलाउँछु भन्दै कमाउ धन्दातिर लागेका उनका गलत धन्दाको फेहरिस्त यतिमा मात्र सीमित छैन ।

उनले अस्पतालमा आएका बिरामीका कुरुवा महिला आफन्तउपर गिद्धेदृष्टि लगाउने गरेको आरोपसमेत लाग्ने गरेको छ । केही महिनाअगाडि उपचारका लागि आमालाई लिएर गोंगबुस्थित विनायक अस्पताल पुगेकी थिइन्, नवलपरासीको एक युवती । ती युवतीलाई शाहले आफ्नै कार्यकक्षमा बोलाई यौनजन्य हिंसा गरे । युवतीले चिच्यााएपछि विवादले उग्ररूप लियो । ती युवतीउपर यौनहिंसा गरेपछि यसले उग्ररूप लियो । यो कुरालाई बाहिर नलैजाने सर्तमा सात लाख रुपैयाँ दिएर काण्ड त्यहीँ थामथुम पारिएको अस्पताल स्रोतको दाबी छ । 

६ वर्षअघि चीनबाट एमबिबिएस उत्तीर्ण गरेका भनिएका साहको प्रमाणपत्र नै नक्कली भएको विनायक अस्पतालका कर्मचारी बताउँछन् । 

टिप्पणीहरू