श्रीकृष्ण जन्मेको दिन हो चाहिँ कहिले त !

श्रीकृष्ण जन्मेको दिन हो चाहिँ कहिले त !

भारतीय हिन्दूहरुका भनाइमा ५२५२ बर्षअगाडि साउन अष्टमी रोहिनी नक्षत्रको दिन जन्मिएका भगवान कृष्णको सम्झनामा आज नेपाल,भारत सबैतिर श्रीकृष्ण जन्माष्टमी मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज कृष्णको जन्मदिन भएको मान्यतासहित पूजा आराधना गरी मनाइएको हो । पौराणिक कथनअनुसार राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतार एवम् वासुदेव र देवकीको आठौँ गर्भका रूपमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

ज्ञानयोग,कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको मान्यता रही आएको छ । आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

आजका दिन विशेष गरी महिलाहरू ‘ब्रत’ बसेर रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कोरोना महामारीका कारण विगतमा झैँ गत वर्ष र यो वर्ष मुलुकका कृष्ण मन्दिरहरुमा श्रध्दालू भक्तजनहरूको उपस्थिति अत्यन्त न्यून देखिन्छ । सरकारले मठ मन्दिरमा भीड नगर्न सार्वजनिक सूचना जारी गरेका कारण भक्तजनको उपस्थिति नरहेको बताइन्छ ।

टिप्पणीहरू