गच्छदारको बयान सकियो, थुनामा वा धरौटीमा भन्ने आदेश एक छिनमा
ललिता निवास जग्गा प्रकरणमा डामिएका पूर्वउपप्रधानमन्त्री विजय गच्छदारले विशेष अदालतमा बिहान ११ बजेदेखि झण्डै ३ घण्टा सम्म गच्छदारले बयान दिएका छन् । गच्छदारको बयान २ बजे सकिएको छ । बयान सकिए लगतै अहिले थुनछेक बहस प्रारम्भ भएको हो ।
विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा थुनछेक बहस भइरहेको हो । अदालत स्रोतका अनुसार गच्छदारका तर्फबाट कानुन व्यवसायीहरु महादेव यादव, हरिहर दाहाल, लीलामणि पौडेलहरुले बहस गर्दैछन् ।
आजै थुनछेक बहस सकिने र त्यसलगतै गच्छदारलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आउने अदालतले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त प्रकरणमा उनीसँग झण्डै १० करोड बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो । वर्ष दिन अगावै मुद्दा दायर भए पनि उनी फरार रहँदै आएका थिए ।
देउवा प्रधानमन्त्री नियुक्त भएकै भोलिपल्ट गच्छदार आफैं अदालतमा हाजिर हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
टिप्पणीहरू