भारत,चोलेन्द्र र माधवबिरुध्द् राजधानीको सडक जाम

भारत,चोलेन्द्र र माधवबिरुध्द् राजधानीको सडक जाम

सर्वोच्च अदालतको फैसलाको बिरोधमा निकालिएको जुलुसले राजधानीको ट्राफिक अस्तव्यस्त भएको छ । काठमाडौंको भृकुटीमण्डपमा एमालेको युवा संघले निकालेको जुलुसले कार्यालय समयको सडक अस्तव्यस्त भएको हो । यसअघि एमाले निकट अनेरास्ववियुले त्रिचन्द्रदेखि भृकुटीमण्डपसम्म जुलुस निकालेको थियो ।

यसैबीच प्रतिनिधिसभा विघटनविरुद्धको फैसलाको बिरोधमा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट अनेरास्ववियुले त्रिचन्द्र कलेजमा आयोजना गरेको भेला सकिएको छ । झण्डै २ सय जना विद्यार्थीको उपस्थितिमा भएको भेलामा आगामी दिनमा अघि बढ्ने रणनीति र भूमिकाको बारेमा प्रशिक्षण दिलाइएको हो ।

अनेरास्ववियुका अध्यक्ष ऐन महरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अनेरास्ववियुु त्रिचन्द्र कलेज इकाइका अध्यक्ष गोविन्द थपलियालगायतले बोलेका थिए । प्रशिक्षणपछि अखिलले घण्टाघर क्षेत्रमा निर्दलीयताको पक्षमा भएको फैसलाको बिरूद संविधान र लोकतन्त्रको रक्षा गर्ने भन्दै बिरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सर्वोच्चको फैसला फिर्ता गर,अनेरास्ववियु जिन्दावाद, प्रधानन्यायधीश मूर्दावादलगायत नारा लगाइएको छ । विद्यार्थीहरुको बिरोध जुलुश त्रिचन्द्र कलेजबाट रत्नपार्क हुँदै प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा पुगेर समाप्त भएको थियो । तर, सोही समय युवा संघले निकालेको अदालतको फैसलाविरुद्धको जुलुशमा विद्यार्थीहरु समेत सामेल भएपछि उक्त क्षेत्रको सवारी अस्तव्यस्त भएको हो ।

यसअघि प्रशिक्षण कार्यक्रममा बोल्दै अनेरास्ववियुका कार्यालय सदस्य डिबी साउदले हिजोको दिनलाई आफ्नो संगठनले कालो दिनका रुपमा मनाउने बताएका थिए ।

त्यसैगरी विद्यार्थी नेता मकर खड्काले सँविधानको धारा ७६ (५) बमोजिम अदालतसँग प्रधानमन्त्री तोक्ने अधिकार नरहेको बताएका छन् । उनले भने, ‘राणा शासन र पञ्चायतविरुद्ध लडिसकेकाले चोलेन्द्र र माधव नेपालको विरुद्ध लड्न आफूहरुलाई कुनै गाह्रो छैन ।’

सुनिता बरालले माधवकुमार नेपाल प्रवृत्तिविरुद्ध पनि लाग्ने बेला आइसकेको बताएकी छन् । कार्यक्रममा बोल्दै ऐन महरले प्रधानन्यायाधीशले प्रधानमन्त्री नियुक्त गर्ने र ह्वीप जारी गर्ने प्रवृत्ति न्यायमाथि प्रहार भएको आरोप लगाएका छन् । हिजोको फैसला भारत र युरोपेली युनियनको चाल रहेको र त्यसको मुख्य योजनाकार पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल भएको महरले आरोप लगाए ।

टिप्पणीहरू