नायिकाबीच ठ्याक नमिल्दा

नायिकाले निर्माता तथा निर्देशकलाई कसरी पुर्पुरोमा हात राखेर धर्धरी रुने बनाउँछन् भन्ने दृष्टान्त हो यो । पछिल्लो क्रममा सञ्चारकर्मीले फिल्म निर्देशनमा हात हाल्ने क्रम बढ्दै गएको छ । ३ वर्षअघि नै चलचित्र ‘द फेमस’ निर्देशन गर्न कस्सिएका थिए समिर बलामी ।
नायिका रोजियो सुरबी जैन र सविना कार्कीलाई । यी दुई नायिकाको ठ्याक नमिल्दा बलामीले भने खेल्नुसम्म हत्तु र सास्ती भोगेका रहेछन् । यी दुई नायिकाबीच सुटिङका क्रममा झडपको स्थिति बन्यो । एउटीले अर्कीेको अस्तित्व नस्विकार्ने अवस्था आयो । सुटिङ चल्दाचल्दै बीचमै सुरबी विनासूचना दुई महिना गायब । चलचित्र प्रदर्शन गर्नुपर्ने समयसम्म नायिका भूमिगत भएसँगै समिरहरू खोजीमा जुटे । उनको खोजीमा परिवारको सम्पर्कमा पुगे । सुरबी भारततिर भासिएकी रहिछन् ।
कन्ट्रयाक्ट सकिनुअगावै सम्पर्कविना हराएको भन्दै निर्माण पक्षले मुद्दा हाल्न लागेको सुइँको पाएसँगै निर्माण पक्षसँग सम्पर्कमा त आइन् । त्यसपछि पुनः ३ महिना निर्माण पक्षलाई कुनै जानकारी नै नदिई फेरि गायब । सुरबी त्यसपछि केही समय सुटिङमा सहभागी भइन् र पुनः ३ महिना हराइन् । यही कारण हो, अघिल्लो वर्ष प्रदर्शन भइसक्नुपर्ने चलचित्र प्रदर्शनमा ढिला भएको । बलामी फिल्म्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा र निर्माण पनि बलामीकै रहेको छ । चलचित्र वितरणको जिम्मा सुनील मानन्धरले पाएका छन् ।

टिप्पणीहरू