विघटन गलत भएको सबै सभामुखको साझा ठहर

विघटन गलत भएको सबै सभामुखको साझा ठहर

प्रतिनिधिसभा विघटनपछि मुलुकमा राजनीतिक संकट गहिरिएका बेला सभामुख अग्नि सापकोटाले पूर्वसभामुखहरुसंग छलफल गर्नुभएको छ ।

आज दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा भएको छलफलमा सभामुख सापकोटा पूर्वसभामुखहरु ओनसरी घर्ती, कृष्णबहादुर महरा र रामचन्द्र पौडेल सहभागी हुनुहुन्थ्यो । त्यस्तै, पूर्वसभामुख तारानाथ रानाभाट र दमननाथ ढुंगाना जुममार्फत छलफलमा सहभागी हुनुभएको बताइएको छ ।

संसद विघटनपछिको विकसित राजनैतिक तथा संवैधानिक परिस्थिति र आगामी दिनमा कसरी अघि बढ्न सकिन्छ भन्नेबारेमा सभामुख सापकोटाले पूर्वसभामुखहरुसंग सामूहिक परामर्श गर्नुभएको हो । बैठकमा सभामुखको भूमिकाबारे पनि छलफल भएको थियो ।

पूर्वसभामुखहरुले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री र राष्ट्रपतिले संविधान र संसद्को अपमान गरेको बताउनुभएको थियो । पूर्वसभामुख घर्तीले सरकार गठनका लागि संविधानमा ४ वटा विकल्प हुँदाहुदै संसद विघटन गरेर संविधान मिच्ने काम गरिएकाले संविधानलाई ट्रयाकमा ल्याउन सभामुखको भूमिकाका सम्बन्धमा छलफल भएको बताउनुभयो ।

त्यस्तै,कंग्रेस बरिष्ठ नेतासमेत रहनुभएका पूर्वसभामुख रामचन्द्र पौडेलले संसद विघटनपछिको अहिले असहज परिस्थितिबाट मुलुकलाई कसरी निकास दिन सकिन्छ भन्नेबारे छलफल भएको बताउनुभयो ।

टिप्पणीहरू