कोभिडको भीड,जय होस् छोटे सरकार !

कोभिडको भीड,जय होस् छोटे सरकार !

कोभिड १९ ले गर्दा जताततै निषेधाज्ञा लागू भए पनि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकालाई भने ‘बालै मतलव’ नभएको टिप्पणी हुन थालेको छ ।

कोभिड कहरको बेला विवादित जग्गा नाप्न हतारो गरेपछि सर्वसाधारणले यस्तो टिप्पणी शुरु गरेका हुन् । गाउँपालिकाले खाँडो नदीको ‘नदी काट र उकास जमिन’ सम्बन्धी समस्या निप्टारा गर्न लागेको हो ।

स्मरणीय छ,नेपालको सबैभन्दा बढी मुद्दा पर्ने जिल्लाको रुपमा परिचित सप्तरीमा एक इन्च जमिन मिचिएको,अर्काको बारीमा फर्सीको लहरा झाँगिएकोलगायतका विषयमा समेत मुद्दा गरेको पाइन्छ ।

 

यस्तो बेला खोलाको कारण साँधसीमा हराएको जमिनको निप्टारा खोज्ने कार्यको भित्री रहस्य भने बुझ्न सकिएको छैन ।

सो गाउँपालिकाले जेठ ४ गते प्रकाशित गरेको च.नं. १७६०/२०७७/२०७८ को भित्ते सूचनामा ‘खाँडो खोलालाई सीधा हुने गरी निर्माणाधीन पुलसम्म लैजान ( हाल बगिरहेको ठाउँ र साविकको धारको बीच भागमा पर्ने नम्बरी जग्गा (विवादित जग्गा) को लागि गाउँपालिकाबाट त्यस्ता जग्गाधनीहरुका लागि मिति २०७७/६/१४ मा प्रकाशित निवेदन माग गरिएकोमा बाँधमा परेको जग्गाको नापजाँच गर्ने कार्य प्राविधिकबाट हुन लागेको’ भन्दै गाउँपालिकामा भीड जम्मा गर्न उत्साहित गरेको देखिन्छ ।

यसले कोभिड १९ विरुद्धको भीडभाड नगर्ने,दुई मीटरको सामाजिक दूरी राख्ने नसिहतलाई बेवास्ता गरेको पाइन्छ ।

सो सूचनामा ‘जग्गाधनी पुर्जा र नागरिकताको प्रतिलिपीसहित ७ दिनभित्र सम्पर्क राख्न’ आदेश जारी छ । तोकेको समयमा उपस्थित नभए ‘ व्यक्तिमाथि कुनै कारवाही हुने छैन’ भन्दै जसरी भए पनि भीडभाड गराउन उद्यत देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले हस्ताक्षर गरेको यो सूचनाको ‘आदेश मान्ने कि नमान्ने’ दोधारमा कोभिड १९ बाट भयभित तिलाठी कोइलाडीवासी परेको अविनाश आदर्श मिश्राले बताएका छन् ।

जग्गा नापजाँचकै बेला कोही गाउँले संक्रमित भए त्यसको जिम्मेवारी कसले लिने,कसले उपचार गर्ने उनले व्यङ्ग्य कसेका छन्,‘ जय होस् छोटे सरकार ’ ।

टिप्पणीहरू