युवती बेच्ने ३ जना फरार अभियुक्त पक्राउ

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ३ जना फरार अभियुक्तलाई प्रहरी प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

समातिनेमा कास्की पोखरा महानगरपालिका–२५,ठूलीमुढी बस्ने २५ वर्षीया प्रिया क्षेत्री भनिने बिमला बिक,चितवन भरतपुर महानगरपालिका–१९, बस्ने ४४ वर्षीय मौसम भनिने केशबहादुर विश्वकर्मा र लम्जुङ दोर्दी गाउँपालिका–१ घर भई चितवन बस्ने ४१ वर्षीय नविन अधिकारी भनिने नवराज अधिकारी हुन् ।

उनीहरूमध्ये बिमलालाई कास्की पुम्दीभुम्दीबाट बिहीबार, केशबहादुरलाई भरतपुर महानगरपालिका–३ बाट शुक्रबार र नवराजलाई भरतपुर, पुल्चोकबाट शुक्रबार पक्राउ गरिएको हो ।

बिमलाले पीडितलाई फेसबुकमार्फत् कुराकानी गरी राम्रो कमाई हुने काममा लगाईदिने भन्दै काठमाडौं कोटेश्वरमा रहेको दीपलक्ष्मी गेष्टहाउसमा शुरुमा वेटरको काम लगाई डर,धाक, धम्की देखाई वेश्यावृत्तिमा लगाएकी थिइन् । केशबहादुरले पीडितलाई राहदानी बनाउन सहयोग गरी भारतको विभिन्न स्थानमा बन्धक बनाएर श्रीलङ्कासम्म लगी अलपत्र बनाएका थिए । नवराजले पीडितलाई लिबियाको क्यानेडियन कम्पनीमा महिनाको १ लाख ५० हजार रुपैयाँसम्म कमाई हुने प्रलोभनमा पारी दुबई हुँदै लिबिया लगेर कोठामा बन्धक बनाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

टिप्पणीहरू