उपत्यकामा कडाइ हुँदा जिल्लामा चोर सक्रिय

उपत्यकामा कडाइ हुँदा जिल्लामा चोर सक्रिय

०७७ फागुन १८ गते दिउँसो जिल्ला समन्वय समितिका कर्मचारीद्वय होमबहादुर राउत र रञ्जन रेग्मीको कोठामा दिउँसो मध्याह्न चोरी भयो । धुलिखेल नगरपालिका–७ का सूर्यप्रसाद देवजुको घर नगरपालिकाको गेटअगाडि नै छ । सुनको सिक्री दुई थान, सुनको एक तोलाको झुम्का एक थान, सुनको एक तोलाको छड्के एक थान, सुनको औँठी तीन थान, सुनको सानो तिलहरी एक थान, सुनको शिरबन्दीलगायत सामग्री चोरी भएपछि प्रहरीले त्यहाँ भएको सिसिक्यामेराबाट अनुसन्धान शुरु ग¥यो । हरेक चोरी घटनाका अभियुक्त पक्राउ नपर्ने कारण नागरिकमा चोरी भइसकेपछि सामान फेला पर्ने र चोर भेटिने कुरामा विश्वास लाग्न छाडिसकेको थियो । मोटरसाइकल होस् वा घरमै चोरी भएको अवस्थामा होस् एकाधबाहेक प्रहरीले चोर पत्ता लगाई पक्राउ गर्न सकेको छैन । उक्त घटना प्रहरीका लागि चुनौती बन्यो । प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले उक्त घटना र घटनामा संलग्न व्यक्तिबारे सूक्ष्म अध्ययन गर्न टोली नै परिचालन गरे । प्रहरीले गरेको अनुसन्धानमा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–४ बस्ने २७ वर्षीय हेमबहादुर तामाङ, २७ वर्षीय कर्मा भन्ने कर्म तामाङ, वडा नम्बर ५ बस्ने ३२ वर्षीय राजकुमार भन्ने बेलबहादुर नकर्मी पक्राउ परे । विगतको पृठभूमि, सिसिक्यामेरामा देखिएको मोटरसाइकल, त्यसपछि खरिद भएको पल्सर मोटरसाइकलका आधारमा भिआईपी चोरसम्म पुग्ने बाटो खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् ।

पक्राउ परेका अभियुक्तको बयान र पृष्ठभूमिबाट उनीहरू भिआईपी चोर भएको पुष्टि भयो । पक्राउ परेका तीनै जना पटके चोर हुन् । उनीहरूविरुद्ध लागुऔषध र चोरीका २७ वटासम्म मुद्दा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख तथा एसपी भूपेन्द्र खत्रीले बताए । ११ वटा चोरीको घटनामा मुद्दा चलेका हेमबहादुरकोे पहिचान भएपछि झस्किएको प्रहरीले २७ वटा चोरीको घटनामा पक्राउ परेर मुद्दा चलेका बेलबहादुर र कर्मविरुद्ध २ वटा मुद्दा चलाएको छ । पक्राउ परेका तीनै जना प्रहरीको मस्ट वान्टेड सूचीमा छन् । काठमाडौं उपत्यकामा कुनै ठूलो चोरी हुनेबित्तिकै प्रहरीले उनीहरूलाई अनुसन्धानमा तान्ने गरेको थियो । उपत्यकाको कडाइसँगै उनीहरू छिमेकी जिल्ला काभ्रे र सिन्धुपाल्चोक पुग्ने गरेका थिए ।

पक्राउ परेका चारै जनाको पारिवारिक अवस्था नाजुक छ । तर, उनीहरूको लवाई खवाइ धनाढ्य परिवारका सदस्यको भन्दा कम छैन । सात÷आठ हजार रूपैयाँ पर्ने ज्याकेटदेखि १०÷१२ हजार रूपैयाँसम्मका जुत्ता लगाउने गरेको भेटिएको प्रहरी प्रमुख एसपी खत्रीले बताए । ‘ब्राण्डेड लाइफस्टाइल’ बिताउन चोरीमा संलग्न भई राजधानीमा फ्ल्याट नै भाडामा लिएर बसेको उनीहरूले बयानका क्रममा भनेका छन् ।

टिप्पणीहरू