कोभिडमा झन महिलालाई साथ

कोभिडमा झन महिलालाई साथ

महिला हित र सशक्तिकरणमा सक्रिय होमनेट नेपालले कोरोना महामारीमा समेत महिला हिंसालाई न्यायिक निकायसम्म पुर्याउन सहयोग पुर्याएको बताएको छ । संस्थाको महिला सुरक्षा सेल समितिले कोभिडको समयमा उक्त योगदान पुर्याएको संस्थाकी कार्यक्रम संयोजक सुमिना प्रधानले बताएकी छन् ।

लामो समयको लकडाउन र महामारीको समयमा बिरामी तथा स्वास्थ्यकर्मीको सहयोगमा आफ्नो संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रधानले भनिन् ‘प्रथम चरणको लकडाउनमा ललितपुर महानगरपालिका,गोदावरी नगरपालिका,काठमाण्डौँ महानगरपालिका,शंकरापुर र दक्षिणकाली नगरपालिका गरी उपत्यकाका पाँच वटा नगरपालिकाका अत्यन्त विपन्न परिवारलाई खाद्य सामाग्री र कोभिड किट समेत वितरण गर्यौं ।’

त्यसैगरी संस्थाले बज्रबाराही नगर अस्पतालमा सेनेटरी प्याड, डिस्पोजल मग,बाल्टिन, सेनिटाइजर स्ट्यान्ड र सेनिटाइजर, साबुन,तौलियालगायतका स्वास्थ्य सामाग्री वितरण गरेसँगै आइसोलेसन वार्ड व्यवस्थापनमा समेत सहयोग पुर्याएको बताइन्छ ।

ललितपुर जिल्लाका सम्पूर्ण नगर अस्पताल तथा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पीपी सेट वितरण गरिएको थियो । कोरोना विपद् व्यवस्थापनको निम्ति गोदावरी नगरपालिकामा स्थानीय १० जना युवा तथा शङ्करापुर नगरपालिकामा १० जना र फर्पिङबाट तीन जना स्वयम्सेवकको सहयोगमा आफ्नो संस्थाले राहतको काम थालेको प्रधानले बताएकी छिन् ।

शंखरापुरको इन्द्रायणी नगर अस्पताललाई महिलामैत्री बनाउन सेनेटरी प्याड, प्रेशर कुकर, पानीको बोतल, ज्वानो, साबुन, पौष्टिक आहारा समेत वितरण गरिएको थियो ।

चापागाउँ र शंखरापुरमा स्वास्थ्यकर्मीलाई पीपी सेट वितरण गरिएको थियो भने गोदावरी, दक्षिणकाली र शंखरापुरका दुई वटा विद्यालयमा एक एक वटा छात्रामैत्री शौचालय समेत बनाएर सामाजिक योगदान गरेको प्रधानले दाबी गरेकी छन् ।

टिप्पणीहरू