६ लाख लुटेर लागुऔषधमा लट्ठ लुटेराहरु पक्राउ

६ लाख लुटेर लागुऔषधमा लट्ठ लुटेराहरु पक्राउ

काठमाडौंको खिचापोखरीबाट हिजो साँझ ६ लाख रुपैयाँ लुट्ने दाङका दिपुन श्रेष्ठ,रुकुमका तिलक रावत,कालीकोटका नवीन केसी र उमेश केसीलाई प्रहरीले आज पक्राउ गरेको छ ।

खिचापोखरीस्थित प्रवेशराज भण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एन्ड ट्राभल (आईएमई) बाट उनीहरूले बुधबार साँझ खुकुरी देखाई ६ लाख रुपैयाँ लुटेका थिए ।

कम्पनीका कर्मचारी दीपक मल्लको हात बाँधेर खुकुरी देखाउँदै रकम लुटेर फरार भएका उनीहरूलाई प्रहरीले बुधबार राति १० बजे ५९ हजार ७ सय रुपैयाँसहित पक्राउ गरेको थियो । लुटिएको रकममध्ये ७५ हजार रुपैयाँ बालाजु बस्ने मञ्जु पटुवारलाई राख्न दिएको समेत प्रहरीले पत्तो लगाएको छ ।
त्यतिखेर लागुऔषध सेवन गर्दै बसेका चारै जना लागुऔषध दुर्ब्यसनी रहेको प्रहरीले बताएको छ ।

उनीहरूले थप तीन जनालाई समेत लागुऔषध सेवनको लागि होटलको कोठामा बोलाएको अवस्थामा रोल्पाका प्रसन्न हमाल र सफल आचार्य तथा नवलपरासीका मिलन ढकाल पनि प्रहरीको फन्दामा परेका छन् ।

साँझ लुटेको रकमबाट उनीहरूले कपडा,जुत्ता र झोला खरिद गरेपछि राति होटलमा लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले नाइट्रोभेट १५ पोका, ट्रामाडोल १ सय ७० पोका, स्पास्मो १५ पोका र १० ग्राम गाँजासमेत बरामद गरेको छ ।

टिप्पणीहरू